बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण गरिने
काठमाडौं । सरकारले काभ्रेपलाञ्चोकको बनेपामा फिल्म छायांकन स्टुडियो निर्माण सुरु गरिने बताएको छ । मंगलबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बनेपामा फिल्म छायांकन स्टुडियोको निर्माण गरिने बताएका हुन् । अर्थमन्त्री पुनले दोलखामा सार्वजनिक तथा निजी साझेदारीमा अन्तर्राष्ट्रिय फिल्म सिटी निर्माण गरिने समेत बताएका छन् ।
नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राखिने
काठमाडौं । नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । चलचित्र विकास बोर्डले सोमबार फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा सिनेमाण्डु नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । नामाकरणबारेको सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ । मन्त्रालयले यो नामलाई मन्त्रिपरिषद् बैठकमा पेस गर्नेछ । मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि आधिकारिकरूपमै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।
४ करोडको कोकिनसहित विदेशी महिला पक्राउ
काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषध कोकिनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले एक किलोग्राम १०१ ग्राम कोकिनसहित कङ्गोलियाका नागरिक ४९ वर्षीय अपुला एकुत्सु बोंगोलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक रामेश्वर कार्कीले दुबईबाट यही जेठ ४ मा नेपाल आएकी अपुलाले झोलाभित्र लुकाएर राखेको अवस्थामा जेठ ११ गते शुक्रबार ठमेलबाट पक्राउ गरिएको जानकारी दिए । झोलाभित्र प्लास्टिकमा र्यापिङ गरी राखिएका ८५ वटा क्याप्सुलसहित प्रहरीले उक्त कोकिन फेला पारेको हो । पक्राउ परेकी अपुलाले उक्त क्याप्सुल पेटभित्र निलेर लुकाई छिपाई ल्याएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रवक्ता कार्कीले बताए । उक्त कोकिनको बजार मूल्य ३ करोड ८५ लाख रुपैयाँबराबर हुने प्रहरीले बताएको छ । पक्राउ परेकी उनलाई लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम जिल्ला अदालत काठमाडौंबाट लागुऔषध मुद्दामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।