प्रमुख प्रशासकीय अधिकृत चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको शहीदनगर नगरपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । नक्कली योजना र ठेकेदार खडा गरी सरकारी रकमको हानीनोक्सानी गरेको अभियोगमा अख्तियारले चौधरीसँगै रमेशकुमार चौधरी र गुरुदेव यादवविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो । उनीहरूमाथि विद्यालयमा पर्खाल बनाउने नक्कली योजना बनाएर र नक्कली ठेकेदार कम्पनी खडा गरेर २ लाख ७५ हजार रुपैयाँ राज्यकोष दुरुपयोग गरेको आरोप अख्तियारले लगाएको छ ।

सन्दीप लामिछानेलाई अमेरिकाले भिसा उपलब्ध नगराएकोमा सचेतक शाहीको आपत्ति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएकोमा अमेरिकाप्रति आपत्ति जनाएका छन् । टि २० विश्वकप क्रिकेट खेल्नका लागि लामिछानेलाई नदिने गरी अमेरिकाले भिसामा प्रतिवन्ध लगाएको भन्दै आपत्ति जनाएका हुन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रमुख सचेतक शाहीले विश्वकप खेल खेल्नका लागि सन्दीप लामिछानेलाई भिसा नदिएपनि त्यसबारे बोल्न नसकेको भन्दै परराष्ट्र मन्त्रालय र खेलकुद मन्त्रालयप्रति पनि आक्रोश व्यक्त गरे । खेलाडीहरुलाई खेल खेल्न समेत जान नदिने गरी अमेरिकाले लामिछानेलाई भिसा नदिँदा पनि खेलकुद मन्त्रालय र परराष्ट्र मन्त्रालयले कुनै प्रतिक्रिया नदिएकाले यस्ता मन्त्रालय आवश्यक नभएको उनको जिकिर थियो । प्रमुख सचेतक शाहीले भने, ‘यो देशको पहिचान मेटाउन खोजिँदैछ । नेपालको अस्तित्व खतरामा पर्दैछ । आज यस विषयमा सबै सांसदहरुले बोल्नु हुन्छ होला भनेको त सबै मौन । त्यसो भएर यो खेलकुद मन्त्रालय किन राख्ने सभामुख महोदय । जव विश्वकप क्रिकेट खेल्न हाम्रा सन्दीप लामिछानेजस्तो खेलाडीले पाउँदैनन् भने खेलकुद मन्त्रालय राख्नुपर्ने, परराष्ट्र मन्त्रालय राख्नुपर्ने म त आवश्यकता देख्दिन ।’ प्रमुख सचेतक शाहीले वाह्य शक्तिले नेपाल राष्ट्रको पहिचान मेटाउने काम गरिरहेको दाबी समेत गरे ।

मिस नेपाल २०२४ कै लागि अस्ट्रेलियाबाट फर्केकी करुणा उत्कृष्ट २६ मा छनौट

काठमाडौं । मिस नेपालमा सहभागी हुनकै लागि अस्ट्रेलियाबाट नेपाल फर्केकी मोडल करुणा रावत मिस नेपाल २०२४ को उत्कृष्ट २६ मा छनोट भएकी छन् । तनहुँको दमौलीमा जन्मिएकी उनी १५ वर्षको उमेरमै मोडलिङमा प्रवेश गरेकी हुन् । यसअघि मिस एसएलसी पोखरा २०१४ की रनरअप समेत हुन् । सिड्नीबाट ब्याचलर्स अफ नर्सिङ अध्ययन गरेकी करुणाले सन् २०२० देखि नर्सिङ क्षेत्रमा सक्रिय रहँदै आएकी छन् । उनीसँग अस्ट्रेलियाको साँसदले सन्चालन गर्ने ‘नेशनल लिडरसिप फोरम’मा सहभागी भएको अनुभव समेत छ । रावतले मानसिक स्वास्थ, वृद्ध हेरचाह, यूरोलोजी गाइनी तथा युरोलोजी, ट्राभल नर्सिङ जस्ता क्षेत्रमा काम गरेकी छन् । उनी मिस अटो डी एलिगेन्स, प्राइभेट जेट शूट र स्पोर्ट्स कारका लागि प्रतियोगीका रूपमा छनोट समेत भएकी थिइन् । उनले मिस वर्ल्ड अस्ट्रेलियाको फाइनलमा रकी गादरकोल शो मोडलको रूपमा र्‍याम्प वाक प्रदर्शन गरेकी थिइन् । विभिन्न सार्वजनिक कार्यक्रमको उद्घोषण समेत गर्ने गरेकी रावत मिस ग्ल्यामर लुक अष्ट्रेलिया २०१९ को टप ५ मा समेत उनी छनोट भएकी थिइन् । वेस्टर्न सिड्नी विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूको कार्यक्रम संयोजकको भूमिकामा रहेर समेत केही समय काम गरेकी उनले बूमटाउन शिखर सम्मेलनमा समेत सहभागी भएकी थिइन् । यस्तै सामाजिक कामहरूमा सक्रिय रावतले मानसिक स्वास्थ्य, लागूपदार्थ र मदिरा दुर्व्यसनी रोक्नका लागि समेत काम गर्दै आएकी छन् । रावतले राष्ट्रिय नेतृत्व मञ्च, प्रतिनिधि २०२२, अष्ट्रेलियामा युवा नेताका रूपमा छनोट भई संसद भवनमा ३ दिनसम्म नेपालको प्रतिनिधित्व गरेकी छन् । साथै थाइल्यान्डमा स्वेच्छिक रूपमा ग्रामीण क्षेत्रमा विद्यार्थीहरूलाई अध्ययन गराएको अनुभव समेत उनीसँग छ ।