स्विट्जरल्यान्डको लगातार दोस्रो जित, क्यानडालाई २-१ ले हराउँदै समूह विजेता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को अन्तिम खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २-१ को महत्वपूर्ण जित निकाल्दै समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । भ्यानकुभरमा भएको खेलमा रुबेन भार्गास र जोहान मान्जाम्बीले दोस्रो हाफको सुरुआती १२ मिनेटभित्र १-१ गोल गरी स्विट्जरल्यान्डलाई २-१ को जित दिलाएका हुन् । क्यानडाले खेलमा फर्कने प्रयास गरे पनि स्विस टोलीले आफ्नो लय कायम राख्दै तीन अंक सुरक्षित गर्यो । यस जितसँगै स्विट्जरल्यान्डले समूह चरणमा ३ खेलबाट ७ अंक जोड्यो । उसले पहिलो खेलमा कतारसँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा बोस्निया-हर्जगोभिनालाई ४-१ ले पराजित गरेको थियो । अन्तिम खेलमा क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड समूहको शीर्ष स्थानमा रह्यो । यता क्यानडाले पनि प्रभावशाली प्रदर्शन गरे पनि हार टार्न सकेन । क्यानडाले पहिलो खेलमा बोस्निया-हर्जगोभिनासँग १-१ को बराबरी खेलेको थियो भने दोस्रो खेलमा कतारलाई ६-० ले हराएको थियो । स्विट्जरल्यान्डसँगको हारका बाबजुद पनि क्यानडा समूह उपविजेताका रूपमा नकआउट चरणमा पुगेको छ । समूह ‘बी’ को अर्को खेलमा बोस्निया-हर्जगोभिनाले कतारलाई ३-१ ले हराएको थियो । त्यससँगै बोस्निया तेस्रो स्थानमा रहँदा कतार अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको छ ।
स्कटल्यान्डलाई ३-० ले हराउँदै ब्राजिल समूह विजेता
काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को अन्तिम खेलमा ब्राजिलले स्कटल्याण्डलाई ३-० गोलले पराजित गर्दै समूह विजेताको रूपमा नकआउट चरणमा प्रवेश गरेको छ । खेलमा ब्राजिलले सुरुदेखि नै बल नियन्त्रण गर्दै स्कटल्याण्डमाथि दबाब बनाएको थियो । भिनिसियसले खेलको सातौं मिनेटमै गोल गर्दै ब्राजिललाई अग्रता दिलाए । उनले पहिलो हाफको अन्त्य हुनुअघि अर्को गोल थपी अग्रता दोब्बर बनाए । म्याथ्युस कुन्हाले ६० औं मिनेटमा गोल गर्दै ब्राजिललाई ३-० को जित दिलाए । समूह चरणका तीनै खेलमा गोल गरेका भिनिसियसले प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्याएका छन् । यससँगै उनी फ्रान्सका किलियन एमबाप्पेसँग बराबरीमा पुगेका छन् । प्रतियोगितामा अर्जेन्टिनाका लिओनल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन् । यस जितसँगै ब्राजिलले समूह चरण अपराजित रहँदै शीर्ष स्थान सुरक्षित गर्यो । तीन खेलबाट सात अंक जोडेको ब्राजिल नकआउट चरणमा पुगेको छ ।
डल्लु र सीतापाइला क्षेत्रका कपडा कारखानामा काम गर्ने २४ जना बंगलादेशी पक्राउ
काठमाडौं । कपडा कारखानामा काम गर्ने २४ जना बंगलादेशी नागरिकलाई प्रहरीले पक्राउ गरेर अध्यागमन विभागमा बुझाएको छ। मंगलबार (हिजो) पासपोर्ट नभएका तथा पर्यटक भिसाको अवधि सकिएपछि नेपालमै बसोबास गरिरहेका २४ जना बंगलादेशीलाई विभागमा बुझाइएको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ। काठमाडौं महानगरपालिका १५ डल्लु र सीतापाइला लगायतका क्षेत्रमा रहेका कपडा कारखानामा काम गर्दै गरेको अवस्थामा बंगलादेशीलाई नियन्त्रणमा लिएर अध्यागमन विभाग, कालीकास्थान पठाइएको परिसरका प्रवक्ता पवन कुमार भट्टराईले बताए । उनीहरू नेपाल प्रवेश गरेका स्थायी परिचय खुल्ने कागजात, पासपोर्ट नरहेका तथा म्याद सकिएको पर्यटक भिसा लिएर गैरकानुनी रूपमा बस्दै आएको भट्टराईले जानकारी दिए ।