काठमाडौं । कैलालीका डिएसपी प्रसन्नराज चौधरीलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको छ ।
'बालेनको पुलिस होइन, नेपाल पुलिस होइनौं' भन्ने अभिव्यक्ति दिएपछि उनलाई सोधपुछका लागि जिल्ला प्रहरी कार्यालयमा बोलाइएको हो ।
उनले दिएको अभिव्यक्तिबारे सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी नरेन्द्र चन्दले जानकारी दिए । डिएसपी चौधरीलाई अर्कै सन्दर्भमा बोलाइएको भए पनि उनले बोलेका अभिव्यक्तिबारे पनि सोधपुछ गरिने एसपी चन्दले बताए ।
‘जिल्ला प्रहरी कार्यालयमा हिजै बोलाइएको हो । उनले बोलेको कुरा चर्चामा आएपछि सोधिनेछ,’ उनले भने,’ प्रहरीका पनि बोल्ने तरिका हुन्छ । कुन कुरा बोल्ने आ-आफ्नो कोड अफ कन्डक्ट अनुसार हुन्छ। अब त्यस विषयमा सोधपुछ गरिनेछ ।‘
हाल चौधरीले केही दिनअघि एक विद्यालयमा बोलेका भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
‘हामी बालेनको पुलिस पनि होइन, हामी नेपाल पुलिस हो । अन्याय अत्याचारमा परेकालाई न्याय दिलाउने नेपाल पुलिस हो । र केपी ओलीलाई थुन्ने पुलिस पनि यही हो । त्यसकारण हामी नेपाल पुलिस हो,’ उनले भनेका थिए।
प्रहरी पोशाकमा रहेका प्रहरी अधिकृतले कसैको नाम लिएर बोल्न नहुने भनेर आलोचना पनि भएको थियो । राजनीति गर्ने व्यक्तिले जस्तो बर्दीधारी प्रहरीले त्यसरी अभिव्यक्ति दिन नमिल्ने भन्दै टिप्पणी भइरहेको छ ।