घुससहित पक्राउ परे वन कार्यालयका प्रमुख राम केवल राय यादव

काठमाडौं । जिल्ला सिरहाको बन्दीपुरस्थित सव-डिभिजन वन कार्यालयका कार्यालय प्रमुख राम केवल राय यादव घुस रकमसहित पक्राउ परेका छन् ।

उद्योगका लागि ल्याइएको काठ सिलबन्दीअनुसार भए–नभएको रुजु गरी आवश्यक कागजातसहितको फाइल फिर्ता गर्ने क्रममा सेवाग्राहीलाई दुःख हैरानी दिँदै घुस मागेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार यादवले सेवाग्राहीबाट १२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ परेका हुन् । पक्राउका क्रममा उनीसँग घुसबापत लिएको १२ हजार रुपैयाँसहित स्रोत नखुलेको १ लाख ३३ हजार १२० रुपैयाँ बरामद भएको छ । यससँगै उनको साथबाट एक थान मोबाइलसमेत नियन्त्रणमा लिइएको छ ।

उनीलाई सिरहाको कर्जन्हा नगरपालिका–४ स्थित मिर्चौयाबाट बन्दीपुर जाने महेन्द्र राजमार्गमा बुधबार नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

Share News