बालेनलाई ओलीले भने - पहिलेदेखि नै जलाइदिन्छु भन्दैथिए, यो योजनाबद्ध काम हो
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारमा भएको आगजनी घटनालाई योजनाबद्ध कामका रूपमा व्याख्या गरेका छन् । विजया दशमीको अवसरमा मंगलबार गुण्डुस्थित निवासमा पार्टी नेता तथा कार्यकर्तासँग शुभकामना आदानप्रदान गर्दै अध्यक्ष ओलीले देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउन नसक्ने दाबी गरे । उनले सरकारी सम्पत्तिमाथि भएको आक्रमणलाई योजनाबद्ध र गैरजिम्मेवार गतिविधि भन्दै कडा आलोचना गरे । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै ओलीले 'पहिलादेखि नै सिंहदरबार जलाइदिन्छु भनेर भन्दै आएको' स्मरण गराउँदै आगजनी त्यसकै परिणामस्वरूप योजनाबद्ध ढंगले भएको टिप्पणी गरे । उनले भने, 'सिंहदरबार, संसद भवन जलाउने काम देशप्रेमीले गर्ने होइन । यो अरु घुसपैठ तत्वले गरेको हो । जो पहिलादेखि नै सिंहदरबार जलाइन्छ भनी भन्दै आएका थिए, यही योजनावद्ध कामको परिणाम हो ।' अध्यक्ष ओलीले युवापुस्तामा क्यारेक्टरभन्दा ज्ञानमा मात्र जोड दिइँदा असभ्य र गैरजिम्मेवार व्यवहार बढेको उल्लेख गर्दै राष्ट्रलाई सच्याउने जिम्मेवारी नेपालीकै काँधमा रहेको बताए । उनले हाल नेपाल बद्नाम भएको, धेरै देशले भिसा रोकिदिएको र कामको अवसर बन्द भएको अवस्था राष्ट्रका लागि लज्जास्पद रहेको बताए । 'नेपाल इमान्दार र कर्मठ मानिसको देश हो भनेर चिनाउनुपर्छ । ठूलो क्षति भए पनि हामी हरेस खानु हुँदैन । देशलाई हामीले नै बनाउने हो,' ओलीले भने ।
बडा दसैँको तेस्रो दिन आज चन्द्रघण्टा देवीको साधना गरिँदै, को हुन् चन्द्रघण्टा देवी ?
काठमाडौं । बडा दसैँ एवं नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका धर्मशास्त्र विषयका पूर्व प्राध्यापक तोयराज नेपालले जानकारी दिए । मार्कण्डेय पुराणमा ‘चन्द्रः घण्टायां यस्याः सा’ अर्थात् चन्द्रमा जसको घण्टामा रहेको छ उनको नाम चन्द्रघण्टा हो भनी उल्लेख गरिएको छ । चन्द्रघण्टा देवीले शिरमा अर्धचन्द्रका साथै घण्ट पनि धारणा गर्ने भएकाले यो नाम रहन गएको हो । चन्द्रघण्टा देवीको स्वरुप पहेँलो वर्णको हुन्छ । यस्ती देवीले अत्याचारी दानवी स्वरूपलाई नाश गर्छिन् । चन्द्रघण्टा देवीको पूजा आराधनाका दिन मणिपुर चक्रलाई ध्यान गरिन्छ । चन्द्रघण्टा देवीको स्वरुपको ध्यान गर्दा अनेकौँ शक्ति प्राप्त हुने विश्वास गरिन्छ । चन्द्रघण्टा देवीबाट कृपा भए समग्र पाप नाश हुने देवीको वर्णन गरिएका विभिन्न पुराण एवं ग्रन्थमा व्याख्या गरिएको वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले बताए । चन्द्रघण्टा देवीको स्वरुप सामान्य, शान्त, एवं करुणामयी छ । गीत सङ्गीत क्षेत्रमा लागेकाले चन्द्रघण्टा देवीको विशेष आराधना गर्दछन् । आजका दिन चन्द्रघण्टा देवीको विशेष पूजा आराधनासहित ध्यान गर्नाले ललाटमा चमक प्राप्त हुने पनि उनले सुनाए । नवरात्रको पहिलो दिन सोमबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । घटस्थापनाको अर्थ देवीको ध्यान साधनामा स्थापित हुनु पनि हो भन्ने श्रीमद्देवीभागवत लगायत पुराण एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यही शास्त्रीय वचनका आधारमा धेरै भक्तजनले नवरात्रमा घर एवं शक्तिपीठमा देवीको साधना गरेर बिताउँछन् । घटस्थापना गरिएको दिन घडामा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरियो । दोस्रो दिन मङ्गलबार पूजा स्थलमा नवदुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो । तेस्रो दिन आज चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडा दसैँ पर्व मनाउँछन् । दुर्गा पक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रका अवसरमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको विशेष भीड लाग्छ । बडा दसैँका बाहेक पनि बुधबार, बिहीबार, शुक्रबार र शनिबार देवीको विशेष रुपमा आराधना गर्न मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ ।
सबैले चुनावमा भाग लिन सक्ने वातावरण बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१ गते हुने निर्वाचनमा सबैले स्वतन्त्र रूपमा भाग लिन सक्ने वातावरण बनाउन सरकार गम्भीर रहेको बताएका छन् । मंगलबार हेम–सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार वितरण कार्यक्रममा बोल्दै मन्त्री खरेलले निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित ढंगले सम्पन्न गराउनु सरकारको मुख्य दायित्व भएको बताए । उनले निर्वाचन आयोगलाई आवश्यक सबै सहयोग र व्यवस्था मिलाउन ढिलाइ नगर्ने आश्वासनसमेत दिए । उनले भने, 'फागुन २१ गते शान्तिपूर्ण, स्वतन्त्र र धाँधलीरहित चुनाव गराउनका लागि वातावरण तयार गर्ने सरकारको जिम्मेवारी हो । सबैलाई चुनावमा सहभागी हुन सक्ने अवसर दिलाउन सरकार अर्जुनदृष्टिले लागिरहेको छ ।' मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा भएको सार्वजनिक तथा निजी सम्पत्तिको क्षतिको यथार्थ पत्ता लगाई छानबिन गर्ने र दोषीमाथि कारबाही अघि बढाउने सरकारको प्राथमिकता रहेको स्पष्ट पारे । साथै, उनले आन्दोलनले उठाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र चुस्तदुरुस्त सार्वजनिक सेवा प्रवाहका मागलाई सम्बोधन गर्दै सरकारले जनताले महशुस गर्ने गरी काम अघि बढाउने बताए । सार्वजनिक सेवामा सुधार ल्याउन र भ्रष्टाचार नियन्त्रणमा प्रभावकारी कदम चाल्न सरकार प्रतिबद्ध रहेको मन्त्री खरेलको भनाइ छ ।