भाद्र शुक्ल अष्टमी: आज उज्याली गौरा र दुर्वाष्टमी पर्व मनाइँदै
काठमाडौं । उमा महेश्वरसहित दुबोको पूजा गरेर सुदूरपश्चिम र कर्णाली प्रदेशवासीले आज उज्याली गौरा एवं दुर्वाष्टमी पर्व मनाउँदैछन् । यो पर्व चान्द्रमासअनुसार भाद्र महिनामा मनाइन्छ । चान्द्रमासअनुसार भाद्र महिना अगावै अगस्त्य ऋषिको उदय हुने वर्ष भने श्रावण शुक्ल अष्टमीकै दिन मनाउनुपर्ने शास्त्रीय विधान रहेको धर्मशास्त्रविद् नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । शुक्ल पक्षमा मनाइने गौरालाई उज्याली र कृष्ण पक्षमा मनाइने गौरालाई अँध्यारी भन्ने गरिन्छ । यसैले यस वर्षको गौरालाई उज्याली भनिन्छ । पहिलोपटक व्रत बस्नेले भने शुक्ल पक्ष अर्थात् उज्याली गौराबाटै सुरु गर्नुपर्ने व्रत विधान छ । जसअनुसार यस वर्ष नयाँ बर्तालुले व्रत गर्न सक्छन् । कन्या राशिमा सूर्य गएपछि अर्थात् असोज लागेपछि पनि गौरा मनाउनु हुँदैन । सिंह राशिमा सूर्य भएका बेला अर्थात् भदौमा गौरा मनाउनुपर्ने मानसखण्ड, निर्णयसिन्धु, हेमाद्रीलगायत ग्रन्थमा उल्लेख गरिएको छ । गौरालाई सुदूरपश्चिम र कर्णाली क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रूपमा लिने गरेका छन् । राजधानीमा पनि सुदूरपश्चिम र कर्णाली प्रदेशका मानिसको बसोबास बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो । सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमिन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा देशको पश्चिम क्षेत्रमा यो पर्व मनाउन सुरु गरिएको देउडा संस्कृति विद् गायक नन्द कृष्ण जोशीले जानकारी दिए । गौरा पूजा गर्न पाँच वनस्पति कुश, काँस, सामा (सौँ), तीतेपाती र अपामार्ग कतै तिलको बिरुवा पनि राखेर देवीको आकार बनाउने गरिन्छ । यसरी बनाइएको देवीलाई भाद्र कृष्ण अष्टमीका दिन गाउँको सफा घरमा भित्र्याएर बर्तालुले निराहार बसी पूजा गर्ने परम्परा रहेको देउडा संस्कृति विद् जोशीले बताए । देवीलाई गाउँका नायकले भित्र्याउनुपर्ने चलन छ । यसरी भित्र्याउँदा कसैले पनि हेर्नु नहुने मान्यता छ । गौरा भित्र्याउने घरमा जम्मा भएका गाउँलेले खोज्दा नभेट्ने गरी नायकले लैजान्छन् । ‘यो पर्वका लागि भाद्र शुक्ल पञ्चमी अर्थात् ऋषि पञ्चमीका दिन केराउ, जौँ, मस्याङ, मास र गुराँसको गेडा भिजाएर राखिन्छ, यसलाई बिरुडा भनिन्छ, अष्टमीमा भगवतीलाई पूजा गरेर प्रसादका रूपमा बिरुडा चढाइन्छ, भक्तजनलाई पनि प्रसादका रूपमा बिरुडा नै बाँडिन्छ, पाँच किसिमका गेडागुडी भिजाउने दिनलाई बिरुडा पञ्चमी भनिन्छ,’ उनले भने । यसरी दुई/तीन दिन पूजा गरिसकेपछि मङ्गल र शनिबार नपारी देवीलाई नदी, कुवा, पोखरी वा जलासयमा लगी सेलाइन्छ । जुठो, सुतक परेका बेला देवीलाई विसर्जन गर्न नहुने परम्परा छ । देवीलाई विसर्जन गरेपछि मागल अर्थात् माङ्गलिक कर्ममा गाइने भजन, गीत आदि गाएर रमाइलो गर्ने परम्परा छ । देशका अन्य भागमा तीज मनाएजस्तै पश्चिममा यो पर्व विशेषगरी नारीहरूले मनाउने गरेका छन् । दुर्वाष्टमी दुबोको समेत पूजा गरिने भएकाले यो अष्टमीलाई दुर्वाष्टमी पनि भनिन्छ । दुबो जसरी फैलिन्छ त्यसरी नै सन्तान, दर सन्तान फैलिउन् भन्ने कामनाले यो पर्वमा उमा महेश्वरको पूजा, उपासना र व्रत गरिने धार्मिक नियम छ । सन्तान राम्रा र गुण सम्पन्न हुन्, आयु तथा स्वास्थ्य राम्रो होस् भन्ने कामनाले पनि गौरा एवं दुर्वाष्टमी पर्व मनाइन्छ । अष्टमीका दिनमा पूरै ज्येष्ठा र मूल नक्षत्र परेमा भने दुबोको पूजा गर्न नहुने शास्त्रीय मान्यता रहेको पनि धर्मशास्त्रविद् नेपालले बताए । अष्टमी तिथि भर ज्येष्ठा र मूल नक्षत्र नपरेमा भने दुबोको पूजा गर्नहुन्छ भन्ने शास्त्रीय मान्यता छ । यस दिन दुबो र गौराको पूजा गरे सौभाग्य, सन्तान प्राप्त हुने, कार्यसिद्धि हुने धर्मग्रन्थ हेमाद्रीमा उल्लेख गरिएको छ । यो दिनमा सूदुरपश्चिमवासीले देउडा गीत गाएर नृत्य गरी रमाइलो गर्दछन् । काठमाडौंको टुँडिखेलमा पनि यस दिन देउडा गीत र नृत्य गरी सूदुरपश्चिम एवं कर्णाली प्रदेशवासीले मनोरञ्जन गर्ने गरेका छन् । राजधानीमा सुदूरपश्चिम र कर्णाली प्रदेशवासीको बस्ती बढेसँगै यो पर्व यहाँ पनि धुमधामका साथ मनाउन थालिएको हो ।
पाउ पाथीभरामा भेटीबाट डेढ करोड रुपैयाँ संकलन, ४ गुरुसहित ९ कर्मचारी करारमा नियुक्त
काठमाडौं । झापा मेचीनगरको चारआलीस्थित पाउ पाथीभरा मन्दिरमा भक्तजनले चढाएको भेटी लगायतबाट एक वर्षमा १ करोड ४२ लाख ८१ हजार रुपैयाँ सङ्कलन भएको छ । पूर्व पश्चिम राजमार्गसँग जोडिएको मेचीनगर-१३ मा २०७१ सालमा स्थापना भएको यस मन्दिरको व्यवस्थापन गर्न पाउ पाथीभरा उत्तरगङ्गा पर्यटन प्रवर्द्धन समिति गठन भएको छ । समितिका अध्यक्ष लोकराज ढकालले आर्थिक वर्ष २०८१/८२ मा दान पेटिकाबाट ७४ लाख ७४ हजार रुपैयाँ, सहयोग रसिदबाट ४४ लाख ४१ हजार रुपैयाँ, जिन्सी सामान बिक्रीबाट १२ लाख ३८ हजार रुपैयाँ र आजीवन सदस्यताबाट ८८ हजार रुपैयाँ आम्दानी भएको बताए । बैंकमा रहेको बचतको ब्याज बापत ५ लाख ६० हजार रुपैयाँ, अनलाइनमार्फत आय २ लाख ५४ हजार रुपैयाँ र विविध आम्दानी बापत ३० हजार ७२० रुपैयाँ सङ्कलन भएको उनले जानकारी दिए । प्रसिद्ध पाथीभरा देवीको पाउ रहेको पवित्र स्थानको रूपमा पूजापाठ र दर्शन गर्न मन्दिरमा दैनिक सयौँ भक्तजन आउने गर्छन् । भारतको पश्चिम बङ्गाल, सिक्किम, आसामलगायत स्थानबाट पनि यहाँ दर्शनार्थी आउने गरेका छन् । समितिले आम्दानीलाई बैंकमा जम्मा गर्ने र बैंकमार्फत् नै खर्च गर्दै आएको जनाएको छ । आम्दानीबाट मन्दिरको पुजारी तथा कर्मचारीको नियमित पारिश्रमिक दिने, आवश्यक भौतिक संरचना निर्माण गर्ने र भक्तजनको सुविधाका लागि विभिन्न खर्च गर्दै आएको छ । मन्दिरको शौचालय, धाम परिसरमा मार्बल तथा टायल्स बिछ्याउने कार्य र एउटा भवनसमेत बनाउँदा सो आवमा ५७ लाख रुपैयाँ खर्च भएको समितिका अध्यक्ष ढकालले बताए । मन्दिरको नाममा १ करोड १२ लाख २१ हजार रुपैयाँ बैंक मौज्दात रहेको छ । समितिले चार गुरुसहित ९ कर्मचारीलाई करारमा नियुक्त गरेर पारिश्रमिक दिँदै आएको छ ।
वर्षाले नौ राजमार्ग अवरुद्ध
काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोले नौ राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार सङ्खुवासभाको भोटखोलास्थित कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल, रसुवाकै पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएका हुन् । बागलुङको कालीगण्डकी करिडोर, म्याग्दीको बेनी– दरबाङ सडक, रुकुमपश्चिमको जाजरकोट, डोल्पा भेरी करिडोर र दार्चुलाको गोकुलेश्वर–दार्चुला सडक पूर्ण रुपमा अवरुद्ध भएका हुन् । यसैगरी, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको उत्तरगया, पासाङल्हामु राजमार्ग र पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएका छन् । नवलपरासीपूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी ढोरपाटन सडकखण्ड एकतर्फी सञ्चालन भएका केन्द्रीय समाचार कक्षले जनाएको छ ।