विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

दोधारा चाँदनी (कञ्चनपुर) । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । 'यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ' उनले भनिन्, 'दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।' विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ । गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ ।  'सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ', विपिनका बुबा महानन्द जोशीले भने, 'विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।' सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ‌ं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूर्व-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

नवरात्रको चौथो दिन दसैँ घरमा​​​​​​​ कुष्माण्डा देवीको पूजाआराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ ।​​​ नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामाकरण भएको बताइन्छ । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी) को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा, अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कुष्माण्डाका रूपमा चिनिनुहुन्छ ।’ नवरात्रको पहिलो दिन असोज ६ गते सोमबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन मंगलबार पूजा स्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका साथ वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ मनाउँछन् । दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौं उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्छ । यसैगरी उपत्यकाबाहिर पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारालगायत शक्तिपीठमा पनि भक्तजनको भीड लाग्छ ।