जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना बनाउन सरकारले बनायो पूर्वाधार पुनर्निर्माण कोष

काठमाडौं । सरकारले जेनजी आन्दोलनबाट क्षतिग्रस्त भौतिक संरचना निर्माण गर्न भौतिक पूर्वाधार पुनर्निर्माण कोष बनाएको छ । गत २०८२ भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई खर्बौंको क्षति भएपछि सरकारले स्रोतको अभावमा सहायता लिन लागेको हो ।  त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यको लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको छ । त्यस्तो कोषमा नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संस्थाहरूले सहयोग गर्न सक्नेछन् । अर्थमन्त्री रामेश्वर खनालले पुनर्निर्माणका लागि सरकारलाई स्रोतको अभाव नरहेको बताए । उनले स्रोत अभाव नभएपनि विदेशमा भएका नेपालीले पुनर्निर्माणमा सहभागिता जनाउन चाहेकाले कोष बनाइएको बताए । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा अर्थमन्त्री खनालले भने– ‘पुनर्निर्माण गर्नका लागि स्रोत पर्खेर बसेका छैनौं । तपाईहरुले पनि देख्न सक्नुहुन्छ, अर्थमन्त्रालय,भौतिक मन्त्रालय नै रंगरोगन गर्ने काम चलिरहेको छ । त्यस्तै, तुरुन्त बनाउनुपर्ने प्रहरी भवनको निर्माण अघि बढाउन हामीले भनेका छौं । सम्बन्धित मन्त्रालयले आफ्नै स्रोतबाट पनि भवन बनाउन सक्छन् भने नयाँ सरकारले भ्रष्टाचार अन्त्य गरोस् र पुनर्निर्माणमा हामी पनि सहभागी बन्छौं भनेर विदेशमा बसेका नेपालीले भनेकाले पुनर्निर्माण कोष बनाएका हौं ।’ निजी क्षेत्रसहित दातृ निकायहरुले कोषमा आर्थिक सहायता गर्न सक्नेछन् । उनीहरुले गरेको सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन/खर्च कट्टी गर्नसक्ने भौतिक पूर्वाधार मन्त्री कुलमान घिसिङले जानकारी दिए । उनकाअनुसार भौतिक पूर्वाधार पुनर्निर्माण समिति बनाइएको छ । त्यसका लागि आदेश जारी भइसकेको छ र अर्थमन्त्री अध्यक्ष रहने गरी पाँच सदस्यीय समिति बनेको छ । समितिमा गृहमन्त्री र शहरी विकासमन्त्री पनि सदस्य रहनेछन् । समिति सदस्यमा मुख्यसचिव पनि रहने व्यवस्था आदेशमा छ । साथै समिति सदस्यसचिवका रूपमा सहरी विकास मन्त्रालयका सचिवले काम गर्नेछन् । घिसिङले भने–‘समितिले जेनजी आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण कार्यान्वयन कार्ययोजना निर्माण र स्वीकृत गर्नेछ । कोषबाट खर्च हुने रकमसहित कार्यक्रम स्वीकृत गर्ने तथा आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माणका लागि सम्बन्धित निकायको जिम्मेवारी तोक्ने काम समेत समितिले गर्नेछ । कोषको रकमबाट सञ्चालित कार्यक्रमको नियमित अनुगमन र सुपरीवेक्षण गर्ने, गराउने तथा कोष सञ्चालन तथा व्यवस्थापन सम्बन्धमा आवश्यक नीतिगत निर्णय गर्ने काम समितिको तोकिएको छ ।’ उनकाअनुसार आन्दोलनबाट क्षति भएका भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान, राहत र पुनस्र्थापना सम्बन्धी कार्य गर्नेछ । कोषमा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले प्रदान गरेको रकम जम्मा हुनेछ । साथै, स्वदेशी वा विदेशी व्यक्तिले प्रदान गरेको रकम, गैरआवासीय नेपालीले प्रदान गरेको रकम जम्मा हुनेछ । त्यसैगरी विदेशी सरकार वा संस्था, अन्तर्राष्ट्रिय संघसंस्था वा दातृ निकायबाट प्राप्त नगद वा वस्तुगत सहायता वा कार्यक्रम बापत प्राप्त रकम पनि सोही कोषमा जानेछ । विभिन्न व्यावसायिक प्रतिष्ठानले प्रदान गरेको सामाजिक उत्तरदायित्व बापत रकम समेत सोही कोषमा जम्मा हुनेछ ।   

विपिनको रिहाइका लागि आमा र बहिनी अमेरिका प्रस्थान

दोधारा चाँदनी (कञ्चनपुर) । प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहलका लागि आमा पदमा र बहिनी पुष्पा जोशी बुधबार साँझ अमेरिका प्रस्थान गरेका छन्। दाइ विपिनको सकुशल रिहाइका लागि अन्तरराष्ट्रिय दबाब बढाउनका लागि आमालाई लिएर अमेरिका जाने कार्यक्रम तय भएको बहिनी पुष्पाले जानकारी दिइन् । 'यसअघि इजरायल गएझैँ अन्तरराष्ट्रिय मञ्चमा दाइको सकुशल रिहाइका लागि यसपटक अमेरिका जान लागेका हौँ' उनले भनिन्, 'दाइको रिहाइको विषय अन्तरराष्ट्रिय विषय भएकाले अन्य देशका नागरिकलाई पनि यसमा आवाज उठाउन विनम्र अनुरोध गर्छु ।' विपिनको रिहाइका लागि यसअघि इजरायल सरकारले आमा पदमा र बहिनी पुष्पालाई इजरायल लगेको थियो । यसपटक पनि इजरायलले नै संयुक्त राष्ट्रसङ्घसम्म पुगाउने तयारीका साथ अमेरिका जान सहयोग गरेको जनाइएको छ । गत शनिबार हमासले नियन्त्रणमा रहेका विपिन जोशीसहित ४८ जना बन्धकको ‘बिदाइ तस्बिर’ भन्दै सार्वजनिक गरेको थियो । विपिनको परिवारले इजरायले आक्रमण बढाएपछि दबाब सिर्जना गर्न उक्त तस्बिर सार्वजनिक गरिएको हुनसक्ने आशङ्का गरेको छ ।  'सरकारले कतारलगायतका देशसँग पहल गरिदिए रिहाइ हुन्थ्यो कि भन्ने लाग्छ', विपिनका बुबा महानन्द जोशीले भने, 'विपिन फर्किन्छन् कि भनेर आशामै दुई वर्ष बित्यो । अब छोराको सकुशल रिहाइका लागि सरकारले थप पहल गरोस् ।' सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिनसहित अन्य नेपाली विद्यार्थी हमासको आक्रमणमा परेका थिए । आक्रमणमा परी १० नेपाली विद्यार्थीको ज्यान गएको थियो ।

पहिरोका कारण देशका पाँच राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौ‌ं । मुलुकका विभिन्न ठाउँमा परेको वर्षाका कारण आएको बाढीपहिरोका कारण प्रमुख पाँच राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार पहिरोका कारण सङ्खुवासभाको भोटखोला गाउँपालिका-४ वरुणस्थित कोशी राजमार्ग, सङ्खुवासभाको मकालु गाउँपालिका-३ एकुवास्थित कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन् । त्यस्तै, रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ पासाङल्हामु राजमार्गस्थित नेपाल-चीन जोड्ने मितेरी पुल, चितवनको इच्छाकामना गाउँपालिका-५ स्थित मुग्लिङ-नारायणघाट सडकखण्ड र रुकुम पूर्वको भूमे गाउँपालिका-४ स्थित मध्यपहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए । उनका अनुसार नवलपरासी पूर्वस्थित पूर्व-पश्चिम राजमार्ग, बाग्लुङस्थित कालिगण्डकी करिडोर, रसुवास्थित त्रिशुली-मैलुङ सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।