पदयात्राका लागि युवापुस्ताको पहिलो रोजाइमा अन्नपूर्ण आधार शिविर
म्याग्दी । अन्नपूर्ण हिमालको आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकसित भएको छ । आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । समुद्री सतहदेखि चार हजार १५० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा छोटो दूरीमा सहजै पदयात्रामा पुगिने भएकाले पर्यटकको रोजाइमा परेको हो । पदमार्ग, पूर्वाधार निर्माण, खानेबस्ने सुविधा र प्रवर्द्धनात्मक कार्यक्रमपछि आधार शिविरमा चालु शरदयाममा नसोचेको सङ्ख्यामा पर्यटक आएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए । 'अन्नपूर्ण हिमाल र आधार शिविरको भूगोल म्याग्दीमा पर्ने तथ्य स्थापित भएर त्यहाँसम्म पुग्ने पदमार्ग तयार र प्रवर्द्धनका कार्यक्रमपछि यो याममा अपेक्षा गरेभन्दा धेरै पर्यटक आउनुभयो', उनले भने, 'युवापुस्ताको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको छ ।' दसैँलगत्तै आधार शिविरमा दैनिक दुई सयदेखि पाँच सय जनासम्म पर्यटक आइरहेका अध्यक्ष पुनले बताए । आधार शिविरमा दुई वर्षअघिसम्म वसन्त याममा हेलिकप्टरमार्फत आरोहीहरू मात्र पुग्ने गर्दथे । पदमार्गमा रहेका होटलको क्षमताभन्दा बढी सङ्ख्यामा पाहुना आएकाले व्यवस्थापनमा समस्या भएको व्यवसायीले बताएका छन् । नारच्याङदेखि हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलादेखि आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । दुई दिनको पैदलयात्रामा पुगिने अन्नपूूर्ण आधार शिविर पर्यटकका लागि ‘भर्जिन’ गन्तव्य भएको शेर्पा अल्पाइन ट्रेकिङका पथप्रर्दशक लाक्पा आङवु शेर्पाले बताए । अन्नपूर्ण र नीलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । दुई दिनमा आधार शिविर पुग्न र तेस्रो दिन फर्कन सकिन्छ । नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हर्जोग’ नामकरण गरेको थियो । सन् १९५० जुन ३ मा फ्रान्सका मौरिस र लुइस लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । विसं २०७७ मा भएको अन्नपूर्ण महोत्सव र गत जेठमा अन्नपूर्ण आरोहणको हीरक जयन्तीले पदमार्ग, हिमाल र आधार शिविरको प्रचार गर्न सहयोग पुगेको छ । सञ्चारमाध्यम र सामाजिक सञ्जालका सामग्री देखेर आधार शिविर घुम्न आएको काठमाडौंका सुदीप भट्टले बताए । पदमार्गको प्रवेशविन्दुमा पर्ने नारच्याङमा सन् २०१२ आएका हर्जोगले आरोहणका समयमा प्रयोग गरेको बाटो र आधार शिविरका बारेमा जानकारी गराएपछि स्थानीयवासीको टोलीले पदमार्गको खोज अनुसन्धान गरेको अगुवा गुरुङले बताए । कास्की र म्याग्दीका दुईवटा स्थानीय तहको नामकरण अन्नपूर्ण हिमालबाट गरिएको छ । पर्यटन विभागका अनुसार हालसम्म पाँच सय ३६ जनाले अन्नपूर्ण हिमालको आरोहण गरेका छन् । नीलगिरि र अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर समथर फाँटमा छ । आधार शिविरमुनि समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा पञ्चकुण्ड ताल छ । आधार शिविरको डाँडामा बसेर ताल र हिमाल अवलोकन गर्न सकिन्छ । पदयात्रीहरूले ताल र हिमाललाई पृष्ठभूमिमा पारेर डाँडैडाडाँ हिँडेको तस्बिर खिच्न र भिडियो बनाउँछन् । एक लाख सात हजार ६८४ वर्गमिटर क्षेत्रफलमा फैलिएको ताल अन्नपूर्ण हिमालको हिउँ पग्लिएर आउने पानी सङ्कलन भएर बनेको प्राकृतिक हिमताल हो । अन्नपूर्ण हिमाल र पञ्चकुण्ड ताललाई एकैपटक अवलोकन गर्न पाउनु अन्नपूर्ण आधार शिविरको प्रमुख विशेषता भएको बेनीकी सुष्मा खत्रीले बताइन् । 'वरपरका हिमाल र फेदीमा रहेको तालले मलाई मोहित र प्रफुल्लित बनायो', उनले भनिन्, 'यहाँको अलौकिक सौन्दर्यमा रमाउन पाउँदा सबै, दुःखकष्ट र तनाव भुलेर मनमा उमङ्ग छाएको छ ।' आधार शिविरमा प्रथम ओहरण टोलीको अगुुवा फ्रान्सका मौरिज हर्जोग, लुइस लचेनल र सोनाम वालुङ शेर्पाको सालिक स्थापना र हालसम्म अन्नपूूर्ण हिमाल आरोहण गरेका पाँच सय ३६ जनाको नामावली उल्लेख गरिएको ताम्रपत्र भएको खुला सङ्ग्रहालय पनि रहेको छ । अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा फुतफुते झरनामा चिया, खाजा पसल सञ्चालनका लागि आश्रयस्थल भवन, शौचालय निर्माण र खानेपानी व्यवस्थापन गरेको थियो । हुमखोलामा खानेपानी र शौचालय निर्माण भएको छ । गुफाफाँट र आधार शिविरमा एक–एकवटा शौचालय निर्माण भएको छ । हुमखोलादेखि साधीखर्कसम्मको पदमार्गमा ढुङ्गा बिछ्याउने, अप्ठ्यारो ठाउँको पदमार्गको डिलमा रेलिङ राखिएको छ । नारच्याङका बासिन्दाले गत वसन्तयामदेखि हुमखोला, फुतफुते, साधीखर्क, गुफाँफाँट, भुसकेत र पञ्चकुण्डमा अस्थायी संरचना बनाएर होटल सञ्चालन गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्ने भएकाले यहाँ स्थायी भौतिक संरचना बनाउन प्रक्रिया पूरा गरेर सरकारबाट अनुमति लिनुपर्छ । एक्यापले ५० जना पाहुना राख्न सक्ने अस्थायी संरचना बनाउन अनुमति दिएको तर चार, पाँच गुणा बढी पाहुना आएकाले टेन्ट र पालमुनि बसोबासको व्यवस्था मिलाउनुपरेको भुसकेतका होटल ब्यवसायी माइकल पुनले बताए । होटलहरु नहुँदा पदयात्री आफैँले बन्दोबस्तीका सामान बोकेर जानुपर्ने समस्या थियो । हुमखोलादेखि माथि सञ्चार र विद्युत् सुविधाको अभाव छ । सञ्चार सुविधाको अभावमा लेक लागेर बिरामी भएका पर्यटकको उद्धार गर्न र पाहुनाको व्यवस्थापनमा समस्या भएको छ । बढ्दो पाहुनाको आगमनसँगै फोहर व्यवस्थापन पनि यहाँको अर्को चुनौती बनेको छ । पदमार्ग निर्माणलाई पूर्णता दिन र झोलुङ्गे पुलको स्तरोन्नति गर्नेुपर्ने आवश्यकता छ । गत हप्ता अन्नपूर्ण आधार शिविर पुगेर फर्किएका म्याग्दी क्षेत्र नं १ (क) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले पूर्वाधार निर्माणका साथै प्रवर्द्धनमा स्थानीय तह, एक्याप, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गर्ने बताए । 'छोटो दूरीमा र छिटो पुग्न सकिने भएकाले अन्नपूर्ण आधार शिविर, पञ्चकुण्ड तालको पर्यटनका हिसाबले प्रशस्त सम्भावना छ', उनले भने, 'सञ्चार र विद्युत् सुविधाको विस्तार, पदमार्गको स्तरोन्नति, फोहर व्यवस्थापन, झोलुङ्गे पुललगायत पूर्वाधार निर्माणमा सरकारको ध्यानाकर्षण र बजेट भित्र्याउन पहल गर्नेछु ।' रासस
एकैदिन ६ हजार ३९३ जना भक्तजनले पाथीभरा दर्शन गरे
ताप्लेजुङ । प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा शनिबार यो यामकै सबैभन्दा धेरै दर्शनार्थी पुगेका थिए । पाथीभरा क्षेत्र विकास समितिका अनुसार शनिबार एकै दिन छ हजार ३९३ जना भक्तजनले पाथीभराको दर्शन गरे । बिहान ३ः०० देखि दिउँसो ३ः०० बजेसम्म लाइनमा बसेर भक्तजनले पूजाअर्चना गरेका थिए । पाथीभरामा वर्षभर नै भक्तजनको आगमन हुने गरेको छ । तर विशेषगरी दसैँतिहारका समयमा तुलनात्मक रूपमा धेरै भक्तजनको आगमन हुने गरेको छ । त्यसपछि चैतेदसैँको आसपासमा समेत धेरै भक्तजन आउने गरेका छन् । समितिका अनुसार यसअघि गत असोजभर २९ हजार १७४ जना भक्तजनले मन्दिरको दर्शन गरेका थिए । यस्तै, आज पनि पाथीभरामा बिहानैदेखि भक्तजनको भीड उपस्थिति देखिएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए ।
गोल्छा र आचार्यको लगानीमा बनेको परान, सुखी हुन छोडिरहेको खुसीको कथा
काठमाडौं । टेलिशृङ्खलामा अभिनय र साङ्गीतिक श्रव्य दृश्य निर्देशनको अनुभव सङ्गालेका कलाकार दीपक आचार्यले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘परान’ पारिवारिक विषयवस्तु र कथामा आधारित छ । कोरोना भाइरसबाट ग्रसित भएपछि उनलाई चलचित्र बनाउने कथाको ‘आइडिया’ आएको हो । ‘कोरोना भाइरसको पहिलो लहरमा बिरामी भएपछि चलचित्र बनाउने कथा लेखेको थिएँ । आफू बाँच्छु कि बाँच्दैन भन्ने अवस्थामा आफ्नो भावना कोरेको थिएँ । यो कथा केही हदसम्म मेरो परिवारसँग जोडिएको छ, तर यसलाई चलचित्रकै शैलीमा पटकथा तयार गरिएको छ,’ निर्देशक आचार्यले भने । कोभिडमुक्त भएपछि निर्देशक आचार्यले यम थापालाई पटकथा लेखनका लागि दिए । त्यसपछि यो चलचित्र बन्ने प्रक्रियाले तीव्रता पायो । एउटा परिवारको कथामार्फत अहिलेको समाजलाई समेत आफूले चित्रण गरेको निर्देशक आचार्यले बताए । ‘चलचित्रमा बा र छोरा बीचको सम्बन्धलाई देखाउने प्रयत्न गरेको छु । अहिले भविष्य बनाउने गाउँबाट सहर वा विदेश जाने प्रचलन बढिरहेको छ । हामी बा-आमालाई सुखी बनाउन उहाँको खुसी खोसिरहेका छौँ, यस्तै कथा जोडेर चलचित्र तयार गरेको छु,’ निर्देशक आचार्यले भने । चलचित्रमा अभिनेता नीर शाह र मदनकृष्ण श्रेष्ठको अभिनय रहेको छ । एउटा कलाकार र निर्देशकका हिसाबले आफूले सोचेको कलाकारलाई पात्रमा चित्रण गर्न पाउँदा उनी खुसी नै छन् । ‘मैले मदनकृष्ण श्रेष्ठ र नीर शाहलाई चलचित्र प्रस्ताव गर्दा नै उहाँहरूले अभिनय गर्ने सहमति दिनुभयो । सायद, यो कथाले उहाँहरुको परिवार र समाजको प्रतिनिधित्व गर्छ होला । यो कथाले अभिभावक होइन, छोराछोरीलाई सोच्न बाध्य बनाउँछ,’ उनले भने । एउटा परिवारमार्फत वर्तमान समाज र देशलाई चित्रण गरेको चलचित्र ‘परान’को कथा सार पहिलोपटक सुन्दा नै आफू अभिनय गर्न सहमत भएको अभिनेता नीर शाहले बताए । ‘मैले चलचित्रमा धर्म नाथको भूमिका निर्वाह गरेको छु । यो पात्रसँग कहीँ कतै मेरो मनोविज्ञान जोडिएको छ, सोही कारण यसको कथा सुन्नेबित्तिकै मैले अभिनय गर्न सहमति दिएको हुँ । मेरो चलचित्रकर्मीमा यस्ता प्रस्ताव निकै कम आएका छन्, त्यसैले मैले यो भूमिका निर्वाह गरेँ । यसले अहिलेको नेपाली समाजको चित्रण गरेको छ,’ उनले भने । अभिनेता शाहले चलचित्रमा आफूले पात्रलाई निर्वाह गर्न सतप्रतिशत मेहनत गरेको भन्दै यसको मूल्याङ्कन दर्शकले गर्ने बताए । अभिनेता मदनकृष्ण श्रेष्ठसँगै अन्य सहकर्मी कलाकारसँग चलचित्रमा काम गर्दा केही नयाँ विषयबारे सिक्ने अवसर पाएको उनले धारणा राखे । परिवार, सम्बन्ध र सङ्घर्षको कथालाई प्रस्तुत गरिएको उक्त चलचित्रमा अभिनेता शाह र अभिनेत्री अधिकारीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, प्रविन खतिवडा, यमन श्रेष्ठ, बुद्धि तामाङ, बबिन राईलगायत कलाकारले अभिनय गरेका छन् । शेखर गोल्छा र रञ्जित आचार्यले संयुक्त रूपमा निर्माण गरेको उक्त चलचित्रमा शिवराम श्रेष्ठले छायाङ्कन, मित्र डि गुरुङले सम्पादन र गगन थापामगरले सङ्गीत सृजना गरेका छन् । चलचित्र कात्तिक १४ गतेदेखि नेपालभर प्रदर्शन हुने निर्माण पक्षले जानकारी दिएको छ ।