दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्छु : कृषिमन्त्री परियार
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री मदन परियारले पदभार ग्रहण गरेका छन् । शितल निवासमा शपथ ग्रहण समारोहपछि सिंहदरबारस्थित मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण गर्दै उनले दुग्ध र उखु किसानका समस्याहरू समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले फागुन २१ गते निर्वाचन गराउने सरकारको मुख्य कार्यभार भएको उल्लेख गर्दै सोहीअनुसार सबै पक्षको सहयोगमा अघि बढ्ने पनि बताए । उनले किसानको समस्या समाधान गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने उनको भनाइ छ । मन्त्री परियारले भने, ‘सबैभन्दा पहिले फागुन २१ गते जुन निर्वाचन गर्ने भनिएको छ । त्यसलाई पूरा गर्नको लागि हामी सबै मिलेर लाग्नुपर्छ । त्यो नै सरकारको पहिलो प्राथमिकतामा छ । अर्को कुरा शासकीय सुधार र मुलुकमा विद्यमान बेथितिको अन्त्य गर्ने हाम्रो कार्यभार हो । किसानका समस्याहरू समाधान गर्ने कुरा मेरो प्राथमिकतामा हुन्छ ।’ मल आयातमा हुने अवरोधलाई अध्ययन गरेर समस्या समाधान गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ ।
काठमाडौंमा असोज अन्तिम साता मेलम्चीको पानी आउने
काठमाडौं । काठमाडौं उपत्यकामा यस वर्ष असोज अन्तिम सातातिर मात्रै मेलम्चीको पानी आउने भएको छ । वर्षाका कारण मेलम्चीमा पानीको बहाव बढेकाले दसैँ अगाडि मेलम्चीको पानी काठमाडौंमा ल्याउन नसकिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगन्नाथ दासले जानकारी दिए । उनले भने, 'पानीको बहाब घटेको छैन । बहाब घटेपछि पानी ल्याउने तयारी छ ।' विसं २०७८ असार १ गते मेलम्ची खोलामा आएको बाढीपहिरोले आयोजनाको हेडवक्र्स पूर्ण रूपले क्षतिग्रस्त भएपछि त्यसयता हिउँदमा मात्र मेलम्चीको पानी उपत्यकामा वितरण हुँदै आएको कार्यकारी निर्देशक दासले बताए । केही दिनयता दैनिक ठूलो पानी पर्न थालेकाले मेलम्चीको पानी काठमाडौं उपत्यकामा पठाउन समस्या भएको उनको भनाइ छ । मेलम्चीबाट करिब १७ देखि १८ करोड लिटर पानी दैनिक काठमाडौंमा पथान्तरण गरिँदै आए पनि बाढीका कारण मेलम्चीको मुहान बन्द गरिएपछि अहिले रिबर्मा खोलाबाट दैनिक रुपमा ६ देखि ७ करोड लिटर पानी पथान्तरण गरेर काठमाडौंमा वितरण भइरहेको कार्यकारी निर्देशक दासले बताए । उनले भने, 'मेलम्चीको पानी असारमै बन्द भएको थियो । अहिले हामीले रिबर्मा खोलाको पानी वितरण गरीरहेका छौँ ।' विसं २०७८ चैत १५ गते पूर्ण क्षमताअनुसार दैनिक १७ करोड लिटर काठमाडौं उपत्यकामा पानी वितरण थालिएको हो । तर, २०७८ असार र साउनमा मेलम्ची तथा इन्द्रावतीमा आएको भीषण बाढीले आयोजनामा ठूलो क्षति पु¥याएपछि हालसम्म बाह्रैमास पानी ल्याउन सकिएको छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलका अनुसार उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । मेलम्ची खानेपानी बन्द गरिएको बेला विभिन्न स्रोतबाट दैनिक १३ देखि १४ करोड लिटर पानी मात्रै उपत्यकामा आपूर्ति हुने गरेको उनले जानकारी दिए ।
डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत कार्की एक लाख घुससहित पक्राउ
दैलेख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कर्णाली प्रदेश कार्यालयले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा प्रमुखलाई सेवाग्राहीसँग घुस लिएको नगदसहित कर्णाली प्रदेश राजधानी सुर्खेतमा पक्राउ गरेको छ । गाउँपालिकाको सातौँ तहका वरिष्ठ लेखा अधिकृत टङ्कबहादुर कार्कीलाई सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ मङ्गलगडी चोकबाट अख्तियारको कर्णाली प्रदेश कार्यालयको टोलीले आइतबार राति अबेर एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको हो । गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नको अन्तिम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग लिएको उक्त रकमसहित पक्राउ गरी अनुसन्धान थालिएको अख्तियारको केन्द्रीय कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।