पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । 'पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन', तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् । पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । रासस

सरकारले निर्वाचन हुन्छ भनेर दुनियाँलाई ढाँट्यो : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्ने भनेर झुटको खेती गरिरहेको आरोप लगाएका छन् ।  सरकारले राजनीतिक दलहरुलाई निषेध गरेर चुनाव गराउँछु भन्दै हिँडेर आम जनतालाई ढाँटने काम गरिरहेको उनको जिकिर थियो । पार्टीको सम्पर्क समन्वय कमिटीले शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले निर्वाचन गराउने सोच सरकारसँग नभएकाले आफ्नो पार्टीले प्रतिनिधि सभा पुनः स्थापनाको मागलाई अघि बढाउनुपरेको तर्क समेत गरे । जेनजी आन्दोलनको काममा लुटिएका हतियार फिर्ता गराउन नसक्ने सरकारले निर्वाचन गराउने भनेर नाटकीय गतिविधि गरिहेको ओलीको भनाई थियो ।  उनले भने, ‘बंगलादेशमा शेख हसिना ७५ वर्षकी बुढी भईन भनेर बेस्सरी नारा लगायो । बुढी भईन हुँदैन भनेर ८५ वर्षका हजुरबालाई फ्रान्सबाट झिकाएर शासक बनाए । जेनजीले के ७५ का लाई हटाएर ८५ का लागि ल्याउन आन्दोलन गरेको थियो ? त्यो पनि देशभित्र होइन, फ्रान्समा बसिरहेकालाई । अहिलेको सरकारले त्यस्तै सोचेको होला हामीलाई । याद रहोस्–मैले अस्ती नै भनेको थिए–यस्ता जग नै नभएको असंवैधानिक सरकारलाई छोडेर हामी विदेश भाग्छौं ? हामी त देश भित्र बसेर जेलमा बसेर होस् कि भूमिगत बसेर होस कि । जसरी होस् देश भित्रै बसेर संघर्ष गरेर आएका शक्ति हो ।’  

प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म ढुङ्गाना समूह चुनावमा सहभागी नहुने

काठमाडौं । ‘जेनजी’ आन्दोलनका अगुवा मिराज ढुङ्गाना समूहले प्रत्यक्ष कार्यकारीको ‘बटमलाइन’ पूरा नभएसम्म निर्वाचनमा भाग नलिने जनाएको छ ।   नयाँ बानेश्वरमा शनिबार पत्रकार सम्मेलनमार्फत आफ्ना ‘एजेण्डा’ सार्वजनिक गर्दै ‘जेन-जी’ पुस्तालाई गोलबन्द गर्न राजनीतिक दल गठन गरे पनि प्रत्यक्ष कार्यकारी शासकीय स्वरुप र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था हुने पर्ने आफ्नो ‘बटमलाइन’ पूरा नभएसम्म चुनावमा सहभागी नहुने बताए ।  उनले भ्रष्टाचार नियन्त्रणका लागि नागरिकस्तरीय छानबिन समिति गठन र आर्थिक रूपान्तरणको स्पष्ट नीति अख्तियार गरिनुपर्नेमा जोड दिए ।  ‘जेन-जी’ प्रदर्शनलाई दिशाहीन हुन नदिन राजनीतिक दल गठन गर्ने निष्कर्षमा पुगिएको जनाउँदै ढुङ्गानाले पार्टीको नामबारे सुझाव लिने काम भइरहेको बताए। ‘भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनलगायत मुद्दाका लागि निरन्तर लड्छौँ, जेनजीको बलिदानलाई खेर जान दिँदैनौँ’, उनले भने,’देश विकासमा सामूहिक प्रतिबद्धता र सहकार्यको आवश्यकता छ । आर्थिक समृद्धिलाई साझा संकल्प बनाउन सबैलाई हाम्रो आग्रह छ ।’   स्वदेशमा रोजगारीका अवसर नहुँदा लाखौँ युवा विदेशिनुपरेको र देश विकासमा लाग्नुपर्ने ऊर्जावान् शक्ति विदेश पलायन हुँदा मुलुक आर्थिक रूपले कमजोर बनेकाले यस्ता विषयमा सरकार जिम्मेवार हुनुपर्ने ढुङ्गानाको भनाइ छ ।           ‘बन्द कलकाखाना तुरुन्त सञ्चालनको प्रक्रिया अघि बढाउनुपर्छ, रोजगारीको सिर्जना गर्नुपर्छ । पर्यटन क्षेत्रको विकास र प्रवर्द्धन गर्नुपर्छ’, आफ्नो समूहको अवधारणाबारे स्पष्ट पार्दै उनले भने, ‘छिमेकमा दुई ठूला जनसङ्ख्या भएका मुलुक छन्, त्यसलाई लक्षित गरेर उत्पादन वृद्धि गर्नुपर्छ ।’