विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सने छैन : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपिन जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै बिर्सन नसक्ने बताएकी छन् । प्रधानमन्त्री कार्कीले बुधबार जारी गरेको समवेदनामा जोशीको त्याग र बहादुरीलाई राष्ट्रले कहिल्यै नबिर्सने उल्लेख छ ।   'उहाँ त अब हामीमाझ रहनुभएन, तर बन्धक हुनुपूर्वका अन्तिम क्षणमा उहाँले अभूतपूर्व साहस, बहादुरी र त्याग देखाएर अन्य कैयौँ साथीहरूको ज्यान बचाउनुभएको कुराले हामी सबैलाई उहाँप्रति सदा कृतज्ञ बनाएको छ', समवेदनमा भनिएको छ, 'उहाँको यो वीरतापूर्ण कार्य, उहाँको जीवनको सबैभन्दा ठूलो विरासत हो, जसले उहाँलाई सधैँ नेपाली गौरवको प्रतीकका रूपमा जीवित राख्नेछ ।'        बन्धकमुक्त हुने दुई वर्षदेखिको अटुट आशा र सामूहिक प्रार्थनाबीच नेपाली विद्यार्थी विपिन जोशीको दुःखद् मृत्यु पुष्टि हुनेगरी मङ्गलबार आएको खबरले आफू स्तब्ध भएको उल्लेख गर्दै समवेदनमा भनिएको छ, 'यो हृदयविदारक समाचारले सबैलाई गहिरो पीडा दिएको छ, म यस कठिन घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु, शोकाकुल परिवारजन र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दछु ।' समवेदनामा जोशी केवल एक विद्यार्थी मात्र नभई ज्ञानको खोजीमा विदेशिएका हजारौँ नेपाली युवाको उज्ज्वल प्रतिनिधि भएको उल्लेख गर्दै भनिएको छ, 'उहाँको जीवन उत्साह, लगनशीलता र अरूलाई सहयोग गर्ने विनम्र स्वभावले भरिएको थियो, उहाँ सकुशल फर्किएर नेपालको विकासमा महत्त्वपूर्ण योगदान दिनुहुनेछ भन्ने हाम्रो कामना थियो ।'        सदा शान्ति पक्षधर नेपालको छोरा अन्तरराष्ट्रिय द्वन्द्वको अमानवीय सिकार बनी अपहरण भएको खबर आएदेखि नै सरकार र सम्पूर्ण नेपाली जनता सुरक्षित रिहाइका लागि एकचित्तले कामना गरिरहेका समवेदनमा छ । जोशीको निधनको खबरले दुई वर्षको सम्पूर्ण आशा र सपनाहरूलाई छिन्नभिन्न पारेको उल्लेख छ ।  

कसैले फेसबुकमा लेख्दैमा पद छोडिन्न, केन्द्रिय कमिटीले भने खुशीसाथ छोड्छु : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रिय कमिटीको निर्णय गरेमात्रै आफूले पद छोड्ने बताएका छन् । बुधबार शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले पार्टीका केही सुरवीरहरुले फेसबुकमा लेखेको आधारमा आफूले पद छोड्न नसक्ने अडान समेत स्पष्ट पारे ।  आफूले पदबाट हट्नुपर्छ भन्नेकुरा फेसबुकले नभई पार्टी केन्द्रिय कमिटीले भन्ने विषय रहेको बताउँदै अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटीले निर्णय गरे आफू खुशीसाथ पद त्याग गर्न तयार रहेको बताए । अध्यक्ष ओलीले पार्टी केन्द्रिय कमिटी र महाधिवेशनको फैसलाको आधारमा आफू अघि बढने बताए । आफू व्यक्तिगत इच्छा नभई देश र जनताको इच्छाअनुसार अघि बढेको जिकिर समेत गरे ।  अध्यक्ष ओलीले भने, ‘पार्टी भित्र पनि केही सुरवीरहरुलाई एउटा लहर चलेको देख्छु । लहड चलेको देख्छु–अध्यक्षले छोड्नुपर्छ । कसैले मेरो राम्रो बौद्धिकस्तर र विश्लेषण क्षमता राम्रो भएको हुनाले छोडेर सबैलाई खुशी पार्दिन्छ । मारिने अवस्था सृजना हुँदा पनि अध्यारो मुख लगाउन जान्या छैन । फेरि पनि कमरेडहरुको आदेशमा यो आदेश दिने ठाउँ हो । यसको आदेशमा जुनसुकै कुरा गर्न पनि तयार छु ।’ अध्यक्ष ओलीले विरोधीहरुले पार्टीमाथि आक्रमण गरिरहेका बेला पार्टी भित्रकाहरुले पनि सोही अनुसारको गतिविधि गर्नेकुरा सैह्य नहुने चेतावनी समेत दिए ।   

सरकारले निर्वाचन गराउने बाटो समातेको छैन : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा निर्वाचन हुने अवस्था नरहेको बताएका छन् । बुधबारबाट शुरु भएको पार्टी केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले निर्वाचन हुने अवस्था मुलुकमा नरहेको जिकिर गरेका हुन् ।  अध्यक्ष ओलीले सरकारले निर्वाचन गराउने बाटो नसमातेको समेत बताए । सरकार असंवैधानिक र अवैध भएको पनि दोहोर्याए ।  अध्यक्ष ओलीले भने,‘आजको प्रतिगमनको स्थितिलाई हामीले बुझ्नुपर्दछ । चुनाव हुनेवाला छैन । सरकारले चुनाव गराउने बाटो समातेको छैन । अवंधानिक सरकार हो यो । अवैध सरकार हो । हामी सबैलाई थाहा छ । पूर्वप्रधानन्यायाधीशले के गर्नुहुन्छ, गर्नुहुन्न भन्ने संविधानमा लेखेको छैन ? आफै फैसला गर्ने अनि फेरि आफैँ असंवैधानिक ढंगले प्रधानमन्त्री हुने ?’ अध्यक्ष ओलीले मुलुकमा प्रतिगमनमा गएको भन्दै त्यसलाई सच्याउने गरी अघि बढनुपर्ने आवश्यकता औँल्याए ।