आज कुकुर तिहार मनाइँदै, मीठा खानेकुरा दिए यमलोक जाँदा बाटो छोडिदिने

काठमाडौं । तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका अध्यक्ष प्रा.डा. देवमणि भट्टराई नरक चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने बताउँछन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रूपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए । ​​​​वैवस्वत: मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्ग यात्रामा समेत साथ दिएको धार्मिक विश्वास छ । कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रूपमा लिइन्छ ।​​​​​​​ नरक चतुर्दशी आज बिहानै अरूणोदयकालमा विभिन्न तीर्थ, नदी वा तलाउमा गई स्नान, तर्पण गरेर यमदीप दक्षिण फर्काएर बाली बगाउनाले मृत्युपश्चात् नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वासका कारण नरक चतुर्दशीमा नुहाउने विधि रहेको धर्मशास्त्रविद् बताउँछन् । यसरी बत्ती बालेर बगाउनुलाई नरके बगाउने भनिन्छ । यमपञ्चक अर्थात् तिहारका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलन छ । यसो गरेमा शरीर स्वस्थ हुने आयुर्वेदिक मत आयुर्वेदका चिकित्सक डा. वंशदीप शर्मा खरेल बताउनुहुन्छ । यसैले तिहार स्वास्थ्य सुरक्षाका दृष्टिले पनि महत्त्वपूर्ण पर्वका रूपमा मनाइन्छ ।

शङ्का लागेमा मेरो सम्पत्ति छानबिन गरियोस् : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नोसहित शङ्का लागेका सबैको सम्पत्ति निष्पक्ष ढङ्गबाट छानबिन गर्न माग गरेका छन् । प्रेस चौतारी नेपालद्वारा आइतबार आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूले एक पैसा पनि भ्रष्टाचार नगरेको र सुशासनका पक्षमा सदैव दृढ रहेको जनाउँदै सम्पत्ति छानबिनका लागि आफू तयार रहेको स्पष्ट गरे । उनले बेथिति, विकृति र भ्रष्टाचार अन्त्यसहित सुशासन र सामाजिक सञ्जाल सञ्चालनको मुद्दा उठाएर जेनजी समूहले गरेको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ भई धनजनको क्षति भएको प्रसङ्ग उल्लेख गरे। ‘म कुनै आवेग र आक्रोसमा भन्दा सत्य स्थापित होस् भन्ने चाहन्छु । म हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्छ र मुलुकमा समृद्धि, समानता र शान्ति कायम हुनुपर्दछ भनी देश र जनताप्रति सदैव बफादर हुँदै आएको छु । सत्यप्रतिको मूल्यमान्यताबाट कहिल्यै विचलित हुन्न', अध्यक्ष ओलीले भने, ‘सत्यको पक्ष लिँदा अहङ्कार र दम्भको भाषा बोल्यो भन्ने पर्न सक्छ । उक्त घटनाको यथार्थ क्रमशः खुल्दै जाला, हामी जनताको शान्ति, न्याय र लोकतन्त्रका पक्षमा कसैसँग सम्झौता नगरी लागिरहने छौँ ।' निर्वाचनको सहज वातावरण नभएको आशङ्का गर्दै एमाले अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभाका पुनःस्थापनाका पक्षमा आफ्नो पार्टी रहेको स्पष्ट गरे ।

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन । वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका-९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन भई बेपत्ता भएको पाण्डेका साथी विदुर तामाङले राससलाई जानकारी दिए । गत आइतबार राति घरमा तामाङको आएका पाण्डे साथीको फोन आयो भनेर गएका थिए । त्यसपछि पाण्डे सम्पर्कविहीन भएको तामाङले बताए । सँगै काम गर्ने साथीलाई आफ्ना लागि पनि खाना लगिदिन भनेका पाण्डे सोमबार काममै नगएपछि उनको खोजी गरिएको थियो । 'पाण्डे सम्पर्कबिहीन भएपछि नेपालस्थित परिवारलाई सम्पर्क गरेका थियौँ, त्यहाँबाट पाण्डेले बिहान आफन्तलाई फोन गरेर केही दिन सम्पर्कमा हुन्न भनेको खबर प्राप्त भयो, अहिले उहाँको कसैसँग पनि सम्पर्क छैन', तामाङले भने । पाण्डेको खोजीका लागि रोजगारदातामार्फत मङ्गलबार नै स्थानीय प्रहरीलाई खबर गरिएको उनले बताए । बेपत्ता भएका पाण्डेको रेसिडेन्सी कार्ड, बैंक कार्ड र राहदानीका साथै सबै सामान उनी बस्ने कोठामै भेटिएको छ । पाण्डेको नेपालमा वृद्ध बुबाआमा र दिदीबहिनी छन् । पाण्डे बेपत्ता भएको खबर दूतावासलाई प्राप्त हुनासाथ तत्काल खोजबिनका लागि स्थानीय प्रहरी प्रशासनलाई खबर गरिएको पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेलले राससलाई जानकारी दिए । उनको खोजीका लागि दूतावालले सक्दो पहल गरिरहेको राजदूत पौडेलले बताए । क्रोएसिया हुँदै दुई वर्षअघि पोर्चुगल आएका पाण्डे सिन्ट्रास्थित एक प्याकिङ कम्पनीमा कार्यरत थिए । रासस