राष्ट्रिय आर्थिक बहस कार्यक्रम शुरु, प्रधानमन्त्री कार्की प्रमुख वक्ता
काठमाडौं । काठमाडौंमा ‘राष्ट्रिय वृहत आर्थिक बहस २.०’ कार्यक्रम आयोजना गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघले प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा सो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव एकनारायण अर्याल, नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेल लगायतका नेपालको अर्थ क्षेत्रका कार्यरत सरकारी तथा निजी क्षेत्रका विज्ञहरुको उल्लेख्य उपस्थिति रहेको छ । जेनजी आन्दोलन पछि उत्पन्न मुलुकको आर्थिक अवस्थाको वृहत छलफल गरी आगामी बाटो तय गर्ने उद्देश्यले महासंघले सो कार्यक्रम आयोजना गरेको हो । महासंघले यसअघि २०८० सालमा पनि आर्थिक बहस कार्यक्रम आयोजना गरेको थियो ।
महोत्तरीका ११ वटा सीमानाका ७२ घण्टाका लागि सिल गरिने
महोत्तरी । भारतको विहार राज्यमा आगामी मंगलबार हुने विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ । भारतको विहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग जोडिएका सबै सीमानाका बन्द गरिनुका साथै उच्च सतर्कता अपनाइने महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । जिल्ला प्रशासन कार्यालय महोत्तरीले एक सूचना जारी गर्दै शान्ति सूरक्षा व्यवस्थापनका लागि नेपाल–भारत सीमानाकामा मानवीय आकस्मिक सेवाबाहेकका आवागमन पूर्ण रुपमा बन्द गरिने भएको जानकारी दिएको छ ।
मतदाता नामावली संकलन उत्साहजनक : निर्वाचन आयोग
काठमाडौं । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि देशव्यापी मदाता नामावली संकलन जारी छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार पछिल्लो समयमा नागरिकको उत्साहजनक रुपमा मतदाता नामावली संकलन अगाडि बढीरहेको छ । यही कात्तिक ३० गतेसम्म मतदाता नामावली संकलन हुनेछ । आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ । सो निर्वाचनका लागि मतदाता नामावलीमा नाम दर्ता भएकामध्ये फागुन २० गतेसम्म अठार वर्ष उमेर पूरा हुने मतदाताले मात्र मतदान गर्न पाउने छन् । आयोगका अनुसार सो मितिसम्म अठार वर्ष उमेर पूरा हुने र नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले यही कार्तिक ३० गते भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन पुनः अनुरोध गरिएको छ । मतदाता नामावली दर्तामा अधिक सहभागिताका कारण मतदाता नामावली दर्ता सर्भरमा अत्यधिक चाप पर्न गई सेवाग्राहीलाई सेवा लिन असहज भएको गुनासो आउने गरेको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न भए पश्चात विगतमा जस्तै १६ वर्ष उमेर पूरा भई नागरिकताको प्रमाणपत्र प्राप्त गरेका सबै नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गर्न पाउने छन् ।