मुख्यमन्त्री सिंहको राजीनामा स्वीकृत
जनकपुर । मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिएको राजीनामा स्वीकृत गरेका छन् । मंगलबार प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी नेपालको संविधानको धारा १६९ उपधारा (१) को खण्ड (क) अनुसार सिंहले मुख्यमन्त्री पदबाट दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको जानकारी दिएको हो । यसैगरी नेपालको संविधानको धारा १६९ उपधारा (३) बमोजिम अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषद्लाई प्रदेशको मन्त्रिपरिषद्को कार्यभार सञ्चालन गर्न कार्यभार तोकिएको पनि कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सिंहले प्रदेश सभाको रोष्टमबाटै दिए राजीनामा
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेश सभाको रोष्टमबाटै आफ्नो राजीनामाको घोषणा गरेका छन् । मार्ग प्रशस्त गर्न भन्दै उनले राजीनामा घोषणा गरेका हो । रोष्टमबाटै आफनो पार्टी जनमत र पार्टी अध्यक्ष डा. चन्द्रकान्त राउतलाई सांकेतिक रुपमा विभिन्न आरोप समेत लगाए । मधेश प्रदेशका मुख्यमन्त्री सिंहले विश्वासको मत लिनुपर्ने समयसीमाको अन्तिम दिन मंगलवार प्रदेश सभामा विश्वासको मत सामना नगरी रोष्टमबाटै राजिनामाको घोषणा गरे । आफ्नो अन्तिम वक्तव्यको अन्तिममा राजीनामाको घोषणा गरेपछि विश्वासको मत विभाजन गर्न नपर्ने भन्दै सभामुख रामचन्द्र मण्डलले अर्को सूचना जारी नहुन्जेल सम्मका लागि प्रदेश सभाको बैठक स्थगित भएको घोषणा गरे । लिखित वक्तव्य पढेर सुनाएका मुख्यमन्त्री सिंहले राजिनामा मात्र दिएनन् । अध्यक्ष डा. राउत र उनी नेतृत्वको पार्टी जनमतलाई विभिन्न चेतावनी र चुनौती पनि दिए । आफू मुख्यमन्त्री बनेकै दिनदेखि जनमत पार्टी मधेसका संसदिय दलका नेता महेश यादव काँग्रेससँग मिलेर षड्यन्त्र शुरु गरेकोदेखि लोकतन्त्रमा जनता भगवान हुनुपर्नेमा कार्यकर्ताबाट आफैँलाई भगवान भन्न लगाएको भन्दै अध्यक्ष राउतको आलोचना गरे । डा. राउतसँगै सोही क्षेत्रमा प्रदेश सांसदमा लडेर जितेका मुख्यमन्त्री सिंह डा. राउतको अगामी चुनावी प्रतिष्पर्धी र चुनौती बन्नसक्ने संकेत गरे ।
सर्वोच्च अदालतमा रिट निवेदन दर्तासहित सबै सेवा सञ्चालनमा
काठमाडौं । सर्वोच्च अदालतमा रिट निवेदनसहित देवानी तथा फौजदारी मुद्दाहरू दर्ता तथा सुनुवाई शुरु भएको छ । सर्वोच्च अदालतले मंगलबारदेखि सबै सेवा सञ्चालनमा ल्याएको हो । सर्वोच्चले रिट निवेदन दर्ता गर्न शुरु गरेसँगै प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै रिट दायर भएको छ । मंगलबार बिहान सर्वोच्चमा प्रतिनिधि सभा विघटनविरूद्ध रिट परेको हो । जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा भदौ २७ गते अन्तरिम सरकार गठन भएको थियो । प्रधानमन्त्री कार्कीकै सिफारिसमा सोही रात राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेका थिए । भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालत पूर्ण जलेका कारण सर्वोच्चले नयाँ मुद्दा लिएको थिएन । सर्वोच्च अदालतको संरचनामा प्रदर्शनकारीले ध्वस्त बनाएपछि सर्वोच्चको काम कारबाही प्रभावित भएका थिए ।