लगानी आकर्षित गर्न आयकर कम गर्नुपर्छ : अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले कर नीति समय सापेक्ष बनाउन माग गरेका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको र उपभोक्ताहरूको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरूको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरूले करका दरहरु घटाउँदै गइरहेको बताए । कतिपय देशहरूले लगानी आकर्षित गर्न आयकर कम गर्ने नीति अवलम्वन गरिरहेको भन्दै नेपालले पनि यसबारे सोच्न जरुरी रहेको बताए । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने अहिलेको आवश्यकता भएको जिकिर गरे । भन्सार दरलाई अधिकतम २५ प्रतिशत र मूल्य अभिवृद्धि करलाई कमसेकम दुई दरको कायम गर्न अति नै आवश्यक भएको पनि बताए । नेपालमा उत्पादित हुने सबै वस्तुहरुमा अन्तःशुल्क घटाउनुपर्ने आजको टड्कारो आवश्यकता रहेको जानकारी दिए ।  उनले भने, ‘अहिले विश्वको कर नीतिमै व्यापक परिवर्तन भएको छ । उपभोक्ताहरुको क्रय शक्ति बढाउन र उद्यमी व्यवसायीहरुको लगानी क्षमता बढाउन विश्वका धेरै देशहरुले करका दरहरु घटाउँदै गइरहेका छन् । युएईमा त आयकर अत्यन्त कम गरिएको छ, लगानी आकर्षण गर्नको लागि । समयसापेक्ष गर्न अर्थमन्त्रीज्युलाई अनुरोध गर्दछु । प्रतिस्पर्धी बजार निर्माणको वातावरण सिर्जना गर्नुपर्ने आवश्यकता रहेको छ ।’ अध्यक्ष अग्रवालले आयकर ऐनको पुनः लेखन गर्नुपर्ने माग गरे । डिजिटल बिजनेसको अन्योलता हटाउन जरुरी रहेको बताए । संघ र स्थानीय तहको आफ्नो आफ्नो कानूनी व्याख्याका कारण घर बहाल करमा दाहोरो मार परेको बताए । राजस्वको लक्ष्य पुर्याउने दबाबमा भएका कर निर्धारण आदेशहरुले आन्तरिक राजश्व विभागमा ठूलो वक्यौता रकम देखिएको र अर्कोतर्फ उद्यमी व्यवसायीहरु अनावश्यक कानूनी झन्झटमा परेको बताए ।   

आन्दोलनमा घुसपैठ गर्नेलाई कारबाही नभए व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किनेछ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले असल नियतका साथ जेनजी आन्दोलन भएपनि आन्दोलनमा घुसपैठ भएको भन्दै गल्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवसका आयोजित कार्यक्रममा ढकालले यस्तो माग गरेका हुन् ।  उनले सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारित गरेको स्मरण गराउँदै आन्दोलनमा घुसपैठ गर्नेहरुमाथि सरकारले कारबाही नगर्ने हो भने व्यवसायीसँगै आम नागरिकको मनोबल खस्किँदै जाने बताए । सरकारले निजी क्षेत्रको सम्पत्तिको सुरक्षण गर्न नसक्ने हो भने मुलुकमा थप लगानी हुन नसक्ने र लगानीकर्ता भड्कने स्थिति आउने उनको भनाइ छ ।  महासंघ अध्यक्ष ढकालले भने–‘जेनजीको जुन यो आन्दोलन एउटा असल नियतबाट भएको थियो । सुशासन, भ्रष्टाचारको, ट्रान्सपरेन्सीको  कुरा निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले गत साधारण सभामा पनि  पारितै गरेको अवस्था थयो । यस्तो पवित्र उद्देश्यबाट भएको आन्दोलनमा जुन हिसावबाट गलत घुसपैठ भयो । चोरी, आगजनी, लुटपाट, तोडफोडहरु भयो । वास्तवमा यसको यो गलत तत्वहरुको जुन घुसपैठ भएको छ ।’ अध्यक्ष ढकालले अर्थमन्त्रालयले फेसलेस हिसावले आफ्ना निकायहरुबाट अनलाइनबाट भन्सार मूल्यांकनदेखि करदाता प्रमाणपत्रको सुविधा ल्याएकोमा उनले प्रशंसा समेत गरे । ढकालले बैंकमा ११ खर्ब बढी रकम त्यत्तिकै थ्रुपेको भन्दै लगानीको वातावरण तयार गर्न माग गरे । उनकाअनुसार ११ खर्ब भन्दा बढी बैंकमा लगानीयोग्य रकम जम्मा भएको छ । अहिले बैंकमा प्रशस्त रकम भएको अवस्थामा कतिपय आयोजनाहरुमा लगानी नभएर बेबारिसे छन् । उनीहरुको लागत बढेको छ । धितोपत्र बोर्डले लामोसमय जलविद्युत आयोजनाहरुलाई आईपीओ जारी गर्न नदिएकोप्रति असन्तुष्टी समेत जनाए  । धितोपत्र बोडमा देखिएको समस्यालाई तत्काल हटाउन समेत अर्थमन्त्रीलाई आग्रह गरे । 

हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, न भाटभटेनी रहन्छ न कसैको लगानी : व्यवसायी गुरुङ

काठमाडौं । व्यवसायी मीनबहादुर गुरुङले सबै जिम्मेवार भएर अघि बढ्न जरुरी रहेको बताएका छन् । सोमबार कर दिवसको अवसरमा आयोजित कार्यक्रममा उत्कृष्ट करदाताको तर्फबाट आफ्ना धारणा राख्दै उनले यस्तो बताएका हुन् ।  उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा आफ्ना १२ वटा भाटभटेनी पूर्ण रुपमा नष्ट भएको र अन्य धेरै भाटभटेनीमा ठूलो क्षति पुगेको बताए । अझै पनि आफूले हिम्मत नहारेको र अझै अघि बढ्ने अठोट व्यक्त गरे । दशैँ, तिहार र छठका लागि स्टक गरिएका धेरै सामानहरू भाटभटेनीबाट आन्दोलनका क्रममा लुट्ने र जलाउने काम भएको बताए । आफूमाथि धेरै युवाहरूको जिम्मेवारी, बैंकहरुको लगानी रहेकाले व्यवसायबाटै अघि बढ्ने निचोड आफूले निकालेको बताए ।  नेपालमा विपन्नताकै कारण आन्दोलन भइरहेको भन्दै जिम्मेवार नहुनु पनि आन्दोलनको कारण रहेको बताए । भाटभटेनिमाथि कुनै एउटा पार्टीको भवन बनाइदिने कुराले भएको भन्दै राज्यलाई कर बुझाइसकेपछि कसलाई सहयोग गर्ने भन्ने कुरा आफ्नो इच्छाको कुरा भएको बताए । आफूले डा. भगवान कोइरालाको नेतृत्वमा बनेको बाल अस्पताल बनाइदिएको, विपन्न र जेहनदार विद्यार्थीलाई एमबिबिएस पढाएको जानकारी दिए ।  उनले भने, ‘गत भाद्र २३ र २४ गते जेनजी ठूलो आन्दोलन भयो । पहिला पहिला १५ देखि २० वर्ष लाग्थ्यो । अहिले जेनजीले २ दिनमै सत्ता उलटपलट गरिदिए । यसमा हामी सबै अलि गम्भीर हुनुपर्छ । हामी गम्भीर भएनौँ भने अर्को आन्दोलन हुन्छ, अर्को आन्दोलन भए न मेरो भाटभटेनी रहन्छ, न कसैको लगानी बाँकी रहन्छ । यो आन्दोलनमा घुसपैठ भएर होला, धेरै ठूलो क्षति भयो ।’ उनले व्यवसायीहरूले सानो मन गर्न नहुने बताए । आफूले खोटाङबाट आएर हजारौँलाई रोजगारी दिन सकेको बताउँदै अरूले पनि त्यसैगरी दिन सक्ने बताए । नेपालमा धेरै कुराको अवसर रहेको जानकारी दिए ।