बिहीबार सार्वजनिक बिदा

काठमाडौं । पुस १० गते बिहीबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले क्रिसमस डे पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो ।  डिसेम्बर २५ अर्थात क्रिसमस डेमा नेपालसहित विश्वभरका क्रिश्चियन धर्मालम्बीहरूले येशु ख्रिष्टको जन्मदिनको अवसरमा उत्सव मनाउने छन् । बिदाको दिन बैंक, बीमा कम्पनी, सेयर बजार तथा सरकारी कार्यालयहरू बन्द रहनेछन् ।

टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक

काठमाडौं । नेपाल टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक भएको छ । टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत प्रदान गर्दै आएको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको हाे । यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ । ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ । त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ । साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।

पोर्चुगल पठाइदिने भन्दै १० लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौं । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिए ।  अभियुक्त रोविनले पोर्चुगल पठाइदिने भन्दै एक जनाबाट रु दुई लाख १० हजार र गीताले रोमानिया पठाइदिने भन्दै दुई जनाबाट रु आठ लाख ४० हजार लिएका थिए । उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।