चितवनमा रवि : पुरानाले दुःख दिए, हामी नयाँले दिँदैनौँ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन सम्पन्न गर्न आग्रह गरेका छन् । चितवनमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मुलुकको भविष्यलाई सोचेर आगामी कदम चाल्नुपर्ने अवस्था रहेको बताए । भत्केका संरचना बनाउनुपर्ने, टुटेका सपना जोड्नुपर्ने आजको आवश्यकता भएको बताए । पुराना राजनीतिक दलहरुले दुःख दिएपनि नयाँले नदिने उनको दाबी छ । उनले भने, ‘मुलुकको भविष्यलाई सोचेर हामीले कदम अघि बढाउनुपर्छ । भत्केका संरचना बनाउनुपर्नेछ । टुटेका सपनाहरुमा आवाज दिनुपर्नेछ । यसरी हामी तयार भएर बसेका छौँ । पुरानाले दुःख दिए आजका नयाँहरुले दुःख दिने छैनन् । आगामी चुनाव तपाईं हामी सबैको भविष्यको लागि महत्वपूर्ण छ । सुशासनको डण्डा चलाउँदै समयमै निर्वाचन गर्न आग्रह गर्दछु ।’ प्रधानमन्त्री सुशीला कार्कीको अनुहारमा अध्याँरो देखिरहेको भन्दै अनुहार उज्यालो पार्न आग्रह गरे ।
अर्जुननरसिंह केसी प्रतिनिधिसभा निर्वाचन नलड्ने, अघिल्लो घोषणामा अडिग
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नलड्ने स्पष्ट पारेका छन् । उनले अघिल्लो निर्वाचनकै क्रममा गरेको सार्वजनिक घोषणाअनुसार यसपटक निर्वाचनमा सहभागी नहुने निर्णयमा आफू अडिग रहेको बताएका हुन् । गृहजिल्ला नुवाकोटमा आयोजित एक कार्यक्रममा बोल्दै केसीले क्षेत्रीय नेतृत्वबाट उम्मेदवारीबारे जिज्ञासा उठेपछि आफ्नो पुरानो अडान दोहोर्‍याएको बताए । 'क्षेत्रीय सभापतिले के गर्ने दाइ, को–कोलाई पठाउने भन्नुभयो। मैले अघिल्लो चुनावमै अर्को चुनाव लड्दिनँ भनेको हुँ,' उनले भने, 'लड्दिनँ भनेपछि लड्दिनँ ।' आफ्नो राजनीतिक शैली स्पष्ट पार्दै केसीले आफू बोलेको कुरामा सधैँ टिक्ने व्यक्ति भएको उल्लेख गरे । 'म अर्जुननरसिंह केसी बोल्दै–नबोल्दिनँ, बोलिसकेपछि त्यसमा टिक्छु,' उनले भने, 'त्यतिबेला नै मलाई कहीँ केही राख्नु पर्दैन भनेको थिएँ ।' उनको यो निर्णयसँगै नुवाकोटसहित कांग्रेसभित्र आगामी निर्वाचनका लागि नयाँ नेतृत्व र उम्मेदवारको खोजी तीव्र हुने संकेत देखिएको छ ।
नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि मापदण्ड
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण स्वच्छ हुनुपर्ने स्पष्ट उल्लेख गरिएको छ । परिपत्रअनुसार प्रतिनिधि सभाका उम्मेदवारले २५ वर्ष र राष्ट्रिय सभाका उम्मेदवारले ३५ वर्ष उमेर पूरा गरेको नेपाली नागरिक हुनुपर्नेछ भने मतदाता नामावलीमा नाम दर्ता भएको र संविधान–कानूनले अयोग्य ठहर्याएको हुन नहुने प्रावधान छ । बहालवाला राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय तहका पदाधिकारीलाई उम्मेदवारीबाटै वञ्चित गरिएको छ । आर्थिक पारदर्शितालाई पार्टीले विशेष जोड दिएको छ । भ्रष्टाचार मुद्दामा अदालतबाट दोषी ठहरिएका व्यक्ति उम्मेदवार बन्न अयोग्य हुनेछन् । कर–राजस्वमा पूर्ण अद्यावधिक, कालो सूचीमा नाम नभएको र सम्पति तथा आयस्रोतको स्पष्ट घोषणा गर्न तयार हुनुपर्ने अनिवार्य शर्त राखिएको छ । पार्टीको आर्थिक अनुशासन उल्लंघन गर्नेहरू पनि उम्मेदवारीबाट बाहिरिनेछन् । सामाजिक आचरणमा पनि कुनै सम्झौता नगर्ने नीति अवलम्वन गरिएको छ । जातीय–लैंगिक भेदभाव, घरेलु हिंसा, यौन उत्पीडन, मानव बेचबिखनजस्ता मुद्दामा दोषी ठहरिएका व्यक्ति पार्टीबाट उम्मेदवार बन्न नपाउने भएका छन् । राजनीतिक रूपमा पार्टीको नीति–कार्यक्रमप्रति पूर्ण प्रतिवद्धता, आन्दोलनमा निरन्तर योगदान, सामाजिक प्रतिष्ठा र जनतामा लोकप्रियता उम्मेदवारका लागि अनिवार्य मापदण्ड तोकिएका छन् । उम्मेदवार सिफारिस गर्दा विषयगत विज्ञता, नीति निर्माण क्षमता र सार्वजनिक संवाद कौशललाई पनि आधार बनाइनेछ । प्रत्यक्षतर्फ प्रत्येक क्षेत्रबाट कम्तीमा एक युवा र एक महिलासहित बढीमा पाँच जना सिफारिस गर्नुपर्ने व्यवस्था छ भने जित्ने सम्भावना भएका लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिन निर्देशित गरिएको छ । समानुपातिकतर्फ महिला, दलित, जनजाति, मधेसीलगायत क्लस्टरलाई अनिवार्य समेट्दै शहीद–बेपत्ता परिवार, द्वन्द्वपीडित र विपन्न वर्गलाई विशेष प्राथमिकता दिनुपर्नेछ । एकै परिवारबाट एकभन्दा बढी व्यक्ति सिफारिस गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । राष्ट्रिय सभातर्फ प्रदेश स्तरबाट प्रत्येक क्लस्टरका लागि बढीमा पाँच–पाँच जना सिफारिस गर्ने प्रावधान राखिएको छ । पार्टी नेतृत्वले यो मापदण्ड कडाइका साथ कार्यान्वयन गर्दै स्वच्छ र जनमुखी उम्मेदवार मात्र मैदानमा उतार्ने प्रतिवद्धता जनाएको छ । यो कदमले निर्वाचनमा पार्टीको छवि थप बलियो हुने अपेक्षा गरिएको छ । परिपत्र सबै तहका कमिटीहरूसम्म पुगिसकेको नेकपाले बताएको छ ।