एमाले काठमाडौंले गर्यो समानुपातिक उम्मेदवार सिफारिस
काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फ ७१ जनाको नाम सिफारिस गर्दै निर्वाचन प्रक्रियामा सहभागी भएको छ । काठमाडौं जिल्ला कमिटी फागुन २१ गते हुने निर्वाचनका उम्मेदवार सिफारिस गर्ने पहिलो जिल्ला कमिटी बनेको छ । जिल्ला कमिटी अध्यक्ष दीपक निरौलाले पुस ७ गते भर्चुअल बैठकमार्फत उम्मेदवारको नाम टुंगो लगाइएको जानकारी दिएका छन् । बैठकमा पार्टीको समावेशी सिद्धान्तअनुसार विभिन्न वर्ग, क्षेत्र र समुदायबाट प्रतिनिधित्व हुने गरी नाम सिफारिस गरिएको अध्यक्ष निरौलाले जानकारी दिए । एमाले जिल्ला कमिटी काठमाडौंले बिन्दु महर्जन, कुलभक्त शाक्यसहित ७१ जना नेताहरूको नाम सिफारिस गरेको निरौलाले बताए ।
समानुपातिकतर्फका उम्मेदवार बन्दसूची पेश गर्न आयोगको आग्रह
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आग्रह गरेको छ । आयोगले प्रेस विज्ञप्ति जारी गर्दै यहि पुष १३ र १४ गते अपरान्ह ४ बजेसम्म विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी उम्मेदवार बन्दसूची पेश गर्न अनुरोध गरेको हो । उम्मेदवारको बन्दसूची निर्वाचन अधिकृतको कार्यालयमा पेश गरेपछि वा पेश गर्नुअघि राजनीतिक दलले सर्वसाधारणलाई सार्वजनिक गर्न सक्ने आयोगका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले विज्ञप्तिमा उल्लेख गरेका छन् । 'समानुपातिक निर्वाचनमा भाग लिन इच्छुक दलहरूले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, नियमावली, २०७४, र प्रतिनिधि सभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ मा तोकिएका विधि, प्रक्रिया र प्रमाण कागजात पूरा गरी मात्रै उम्मेदवारको सूची तयार गरी तोकिएको समयभित्र पेश गर्नुपर्नेछ', विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन जसरी पनि सफल पारौँ : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फरक परिस्थितिमा हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन प्रमुख राजनीतिक दलसँग आग्रह गरेकी छन् । प्रधानमन्त्री निवासमा शनिबार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका शीर्ष नेतासँग भएको छलफलमा उनले ती दललाई निर्वाचनमा सहभागी हुन आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले निर्वाचनलाई राष्ट्रको भविष्य सम्झेर, स्थिर र दिगो लोकतन्त्रको सुनिश्चितताका निम्ति लाग्न आह्वान गरिन् । उनले निर्वाचनलाई सफल बनाउनु सबैको जिम्मेवारी भएकामा जोड दिइन् । प्रधानमन्त्री कार्कीको सचिवालयका अनुसार 'यो निर्वाचन जसरी पनि सफल पारौँ । सबै यसमा सहभागी हुनुपर्छ । तपाईंहरू निर्वाचनका लागि तयार हुनुहुन्छ भन्ने सरकारले ठानेको छ । निर्वाचनको वातावरण बनिरहेको छ । यो स्वागतयोग्य छ', तीन पूर्वप्रधानमन्त्रीलाई प्रधानमन्त्रीले भनिन् । निर्वाचन आयोग र प्रहरी प्रशासनलाई आवश्यक स्रोतसाधन सरकारले उपलब्ध गराएको स्पष्ट पार्दै प्रधानमन्त्रीले सुरक्षाकर्मीको मनोबल बढेको बताइन् । छलफलमा कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थित रहेका थिए । प्रधानमन्त्रीलाई बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले साथ दिएका थिए ।