पूर्वगृहमन्त्री लेखक जाँचबुझ आयोगमा बयान दिन उपस्थित
काठमाडौं । नेपाली काँग्रेसका नेता तथा तत्कालीन गृहमन्त्री रमेश लेखक गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगमा बयान दिन उपस्थित भएका छन् । आयोगले यसअघि लेखकलाई बयानका लागि बोलाएको थियो । शुरुमा पुस १३ गतेका लागि तोकिएको समयमा विशेष कारणले उपस्थित हुन नसकेपछि लेखक सोमवार दिउँसो आयोगमा पुगेका हुन् । गौरीबहादुर कार्की नेतृत्वको यो तीन सदस्यीय आयोगले जेनजी आन्दोलनका क्रममा प्रहरीको अत्यधिक बल प्रयोग, मानवअधिकार उल्लंघन र भएको क्षतिको छानबिन गरिरहेको छ । आन्दोलनका बेला लेखक गृहमन्त्री थिए । शान्तिसुरक्षाको जिम्मेवारी उनीमाथि नै थियो । आयोगले यसअघि विभिन्न सुरक्षा अधिकारी र कर्मचारीहरूको बयान लिइसकेको छ ।
चार दलले बुझाए समानुपातिकतर्फको बन्द सूची
काठमाडौं । निर्वाचन आयोगमा प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने राजनीतिक दलहरूको संख्या चार पुगेको छ । आयोगका अनुसार फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज बन्द सूची बुझाउने अन्तिम दिन हो । हालसम्म नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल लोकतान्त्रिक पार्टी र जनप्रिय लोकतान्त्रिक पार्टीले आयोगमा आफ्नो समानुपातिक बन्द सूची बुझाइसकेका छन् । आयोगले आज दिनभरि बन्द सूची दर्ता प्रक्रिया जारी रहने जनाएको छ । अन्य राजनीतिक दलहरूले पनि तोकिएको समयभित्र आफ्नो बन्द सूची बुझाउने तयारी गरिरहेका छन् ।
समानुपातिक उम्मेदवारी बन्द सूची एमालेले टुंग्यायो, अन्य दल कसरतमा
काठमाडौं । पुस १३ र १४ गते राजनीतिक दलहरूले निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने समयसीमा तोकिएको छ । यससँगै दलहरू बन्द सूची तयार पार्ने चटारोमा छन् । बिघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले सोमबार दिउँसो बस्ने कार्यसम्पादन समितिको बैठकबाट उम्मेदवारी टुंग्याउने जनाएको छ । दिउँसो २ बजेसम्म बन्द सूची लिएर आयोग पुग्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । दोस्रो ठूलो दल नेकपा (एमाले) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची टुंग्याएको जनाएको छ । आइतबार बसेको सचिवालय बैठकले ११० जनाको नाम लगभग टुंगो लगाएको एमाले नेताहरूले जनाएका छन् । सोमबार सूचीलाई अन्तिम रूप दिएपछि बन्द सूची लिएर आयोग जाने कार्यालय सचिव डा. भीष्म अधिकारीले जानकारी दिए । एमाले नेताहरूका अनुसार पूर्व उपाध्यक्ष गुरु बराल खस–आर्यतर्फ पहिलो नम्बरमा छन् भने खस–आर्य महिलातर्फ पद्मा अर्याल सूचीको पहिलो नम्बरमा रहेकी छन् । पिछडिएको क्षेत्रतर्फ गोरख बोगटी र अपाङ्गता महिलातर्फ यशोदा बराल सूचीको पहिलो नम्बरमा परेका छन् । मधेशी क्लस्टरतर्फ चण्डेश्वर मण्डल, जनजाति समूहमा पुरुषतर्फ रामेश्वर रानामगर र महिलातर्फ भूमिका सुब्बा पहिलो नम्बरमा परेका छन् । यसैगरी थारु पुरुषतर्फ कृपाराम राना थारु र महिलातर्फ मञ्जु चौधरी र शान्ता चौधरीमध्ये एक जना पहिलो नम्बरमा पर्ने सम्भावना रहेको एक नेताले जानकारी दिए । दलित समूहबाट मनोहर बी. पौडेल पुरुषतर्फ पहिलो नम्बरमा परेका छन् भने महिलातर्फ विष्णुमाया विक पहिलो नम्बरमा रहेकी छन् । मुस्लिम समूहबाट मोहम्मद गरुण हलुवाई र साजिदा सिद्धिकी समानुपातिक सूचीको पहिलो नम्बरमा समेटिएका छन् । एमालेका कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार एमाले बन्द सूची लिएर दिउँसो ३ बजे आयोग पुग्नेछ । बिघटित प्रतिनिधिसभाको तेस्रो दल नेकपा (माओवादी केन्द्र) पनि समानुपातिक सूची निर्माणको अन्तिम चरणमा पुगेको छ । कार्यालय सचिव गणेशमान पुनका अनुसार सोमबार अपराह्नपछिको समय आयोगसँग माग गरिएको छ । चौथो दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि आयोगसँग समय मिलाउने तयारीमा रहेको छ । पार्टीका नेता लिमा अधिकारीका अनुसार मध्यान्ह १२ बजेसम्म आयोग पुग्ने तयारी रहेको छ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूलाई समानुपातिक उम्मेदवारको सूची आजसम्म बुझाउन समय दिएको छ । संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट ११० सदस्य निर्वाचित हुने व्यवस्था छ ।