बजेट अर्धवार्षिक समीक्षा : आम्दानी ३८, खर्च ३५ प्रतिशत

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको आम्दानी र खर्च दुवै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा वार्षिक लक्ष्यको तुलनामा केन्द्र सरकारको आम्दानी ३८ र खर्च ३५ प्रतिशतमा खुम्चिएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । पुस मसान्तसम्ममा छ खर्ब ९० अर्ब २१ करोड ५४ लाख रुपैयाँ बराबर खर्च भएको छ । जुन वार्षिक लक्ष्यको ३५ दशमलव १४ प्रतिशत हुन आउँछ । यो अवधिको चालुगत शीर्षकको बजेट खर्च वार्षिक लक्ष्यको ४१ दशमलव २५ प्रतिशत छ । चालु शीर्षकमा ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा हालसम्म चार खर्ब ८७ अर्ब १४ करोड ३१ लाख रुपैयाँ खर्च भएको छ । पुँजीगत शीर्षकको बजेट खर्च १२ दशमलव १२ प्रतिशतमा खुम्चिएको छ । चालु आवका लागि चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ बराबरको विकास बजेट ल्याइएकोमा हालसम्म ४९ अर्ब ४२ करोड ५४ लाख रुपैयाँ बराबर मात्रै खर्च हुन सकेको हो । त्यस्तै, वित्तीय व्यवस्था शीर्षकमा चालु आवका लागि तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बजेट छुट्याइएकोमा पुस मसान्तसम्ममा एक खर्ब ५३ अर्ब ६४ करोड ४९ लाख रुपैयाँ बराबर खर्च भएको छ । यो शीर्षकको खर्च वार्षिक विनियोजनको ४० दशमलव ९५ प्रतिशत हो । यस वर्ष सरकारले १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ कूल आम्दानी गर्ने लक्ष्य राखेको छ । पुस मसान्तसम्मको प्राप्ति भने पाँच खर्ब ८८ अर्ब ५१ करोड ४२ लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको ३८ दशमलव ३८ प्रतिशत छ । यसरी सरकारको अर्धवार्षिक अवधिको कूल आम्दानीभन्दा कूल खर्च एक खर्ब एक अर्ब ७० करोड १२ लाख रुपैयाँले बढी देखिएको छ । राजस्वतर्फ रु १४ खर्ब ८० अर्बको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ३९ दशमलव ०१ प्रतिशतअर्थात् रु पाँच खर्ब ७७ अर्ब ४० करोड प्राप्ति भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ३८ दशमलव ९३ प्रतिशतअर्थात् रु पाँच खर्ब १६ अर्ब ११ करोड ५१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको ३९ दशमलव ६९ प्रतिशतअर्थात् रु ६१ अर्ब २८ करोड ४८ लाख प्राप्ति भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यस आवमा रु ५३ अर्ब ४४ करोड ६९ लाख बराबर वैदेशिक अनुदान लिने सरकारको लक्ष्य रहेकोमा अर्धवार्षिक समीक्षा अवधिसम्ममा रु सात अर्ब १० करोड ६९ लाखअर्थात् वार्षिक लक्ष्यको १३ दशमलव तीन प्रतिशत उठेको पनि कार्यालयले जनाएको छ ।   

हुलाकी राजमार्गमा ट्रक पल्टिँदा पाँचको मृत्यु, तीन जना घाइते

इटहरी । विराटनगरबाट मार्बल बोकेर राजविराज जाँदै गरेको १ख ४५४१ नम्बरको ट्रक सुनसरी भोक्राह नरसिंह गाउँपालिकाअन्तर्गत हुलाकी राजमार्गमा बिहीबार बिहान पल्टिदा पाँच जनाको मृत्यु भएको छ ।  दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।   मृत्युहुनेमा  सुनसरी बर्जु वडा नं १ का एकै बस्तीका पाँच जनाको रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । प्रहरी उपरीक्षक चन्द्र खड्काका अनुसार बर्जु वडा नं का ३२ वर्षीय वीरेन्द्र गुरुङ, सोही ठाउँका ५५ वर्षीय बह्मदेव गुरुङ, ५० वर्षीय टेकबहादुर गुरुङ, २८ वर्षीय निसु गुरुङ र ५५ वर्षीय चन्द्रबहादुर गुरुङको मृत्यु भएको थियो ।   ट्रकमा अगाडिको क्याबिनमा चालकसहित चार जना  पछाडि पाँच जना रहेका थिए । यसमा पछाडि बसेका पाँचै जनाको मार्बलले किचेर मृत्यु भएको हो । क्याबिनमा बसेका तीन जना घाइतेको विराटनगर नसिंह होममा उपचार भइरहेको छ  । चालक भने फरार रहेका जनाइएको छ ।    

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिन सम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो । विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए । उनले बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, तालतलैया तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको उल्लेख गर्दै नेपालगन्जमा रहेको कान्तितालमा विगतमा भन्दा जलपन्छी घटेको पाइएको बताए । 'पहिलेको वर्षमा ५५ प्रजातीका जलपन्छी देखेका थियौँ तर अहिले त्यो अवस्था घटेको देख्यौँ', उनले भने । जिल्लामा करिब ५० प्रजातिका जलपन्छी रहेको जानकारी दिँदै नेपालीले सबैभन्दा बढी चखेवा र सिलसिले हाँस पाइएको उल्लेख गरे । नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको छ । यस वर्ष नेपालका विभिन्न स्थानमा पुस १९ गतेदेखि जलपन्छीको गणना सुरु गरिएको र माघ ४ गतेसम्म अन्य जिल्लामा गणना गरिने उनको भनाइ छ । जाडो याममा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चरालाई आहारविहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चरा खानाको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गरेको उनको भनाइ छ । 'उत्तरी ध्रुवमा हिउँ परेपछि आहारविहारको कमी हुने हुँदा बसाइँसराइ गरेर चरा नेपाल आउने गर्छन्, विश्वमा चराका आठ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एसिया मार्ग पर्छ, विभिन्न देशबाट चरा यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्दछन्, उनीहरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क सङ्कलन गर्दछौँ', नेपालीले भने । यसबाहेक स्थानीय प्रजातिका चिबे चरा पनि देखिएको उल्लेख गर्दै कम देखिएका प्रजातिको विश्लेषण बाँकी रहेको बताए । परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छीको वासस्थान जोखिममा रहेकाले वासस्थान सुरक्षित गराउनुपर्नेमा जोड दिए । उनले कान्तितालमा करिब ४० प्रजातीको जलपन्छी देखिएको सिमसार क्षेत्रको संरक्षणमा जोड दिए । कान्तितालमा गत वर्ष ५५ प्रजातिका जलपन्छी रहेका थिए । पानीमा आश्रित जलपन्छीको अवस्था, प्रजातिको अवस्था, तालतलैया र सिमसार क्षेत्रको अवस्थासमेतका बारेमा जानकारी जलपन्छी गणनाले लिने गर्छ । 'नेपालमा जलपन्छीको अवस्था, कुन कुन प्रजाति, सङ्ख्या घटबढ, चराको अवस्था बारेमा गणना गर्छौं, र उनीहरुको आहारविहार तथा सिमसार क्षेत्र र तालतलैयाको अवस्था पनि पत्ता लगाउने परियोजनाले जनाएको छ । नेपालका ८० बढी सिमसार तथा जलीय क्षेत्रमा जलपन्छीको गणना भइरहेको छ । चराको अवस्थाका बारेमा अद्यावधिक गरेर सरकारलाई बुझाइने र सरकारले नीति निर्माण गर्दा र कार्ययोजना बनाउँदा टेवा पुग्ने विश्वास गरिएको छ । चरा गणना गर्ने मात्र नभएर समुदायस्तरमा यसका बारेमा सचेतना जगाउने, चरा संरक्षणमा प्रोत्साहन गर्ने र राष्ट्रिय अन्तरराष्ट्रियस्तरमा चरा संरक्षणका बारेमा जानकारीमूलक जनचेतना पनि बढाइने गरिएको परियोजनाले जनाएको छ । बाँकेको नेपालगन्जस्थित कान्तितालमा नेपाल सरकारले संरक्षण सूचीमा राखेका नौ प्रजातिका चरामध्ये सारसको एक प्रजाति पाइने गर्छ । सारसका साथै यहाँ सिलसिले हाँस, मरुन, कुट, बकुल्ला प्रजाति, जलेवा, सिम कुखुरा, किङ फिसरलगायत पानीमा आश्रित अन्य जलपन्छी रहेका छन् ।