तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता
काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव नगरी आफूले सदनमा तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सभामुखमा निर्वाचित भएपछि सोमबार पहिलो बैठकको अध्यक्षता गर्दै सभामुख अर्यालले संसद्लाई निष्क्रियता नभई सक्रिय कार्यसम्पादनको थलो बनाउन तथा सदनलाई असल संवैधानिक अभ्यासबाट सुसञ्चालन गर्न सबैसँग सहयोगको अपेक्षा गरे । सभामुख अर्यालले जनताले पाँच वर्षका लागि आफूहरुलाई निर्वाचित गरेको केवल अधिकार मात्र नभई सुशासन र आर्थिक विकासका लागि जिम्मेवारीको अवसर भएको बताए । 'जेनजी आन्दोलनको मर्मअनुसार देशमा सुशासन कायम र आर्थिक विकास होस् भनी जनताले हामीलाई विश्वाससहित जिम्मा लगाएका छन्,' सभामुख अर्यालले भने, 'कुनै पनि बहानामा त्यो विश्वास गुम्न हामीले दिनु हुँदैन ।' निर्वाचनका क्रममा गरिएका वाचा र प्रतिबद्धतालाई मतदाता र जनप्रतिनिधिको राजनीतिक सम्झौता भएकाले समयबद्ध योजना बनाएर विधि निर्माण गर्न काममा लाग्न सभामुख अर्यालले आह्वान गरे । उनले आफूलाई निर्विरोध निर्वाचित गर्ने सबै दललाई धन्यवाद पनि दिए ।
अर्थनीतिमा डा.स्वर्णिम वाग्लेको दृष्टि पुस्तक सार्वजनिक, अर्थमन्त्रीले गरे विमोचन
काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले अर्थनीतिमा डा. स्वर्णिम वाग्‍लेको दृष्टि : समृद्धि, असमानता र सुधारको वर्षौदेखिका बहस नामक पुस्तक प्रकाशन गरेको छ । यो पुस्तकको सोमबार अर्थमन्त्री वाग्लेले अर्थमन्त्रालमा विमोचन गरेका हुन् । पुस्तकमा सेजनले विभिन्न समयमा विषयगत विशिष्टताका साथ प्रकाशन गरेका उनका ८ वटा गहन लेखहरू समावेश गरिएको छ । अर्थमन्त्री वाग्लेले यो पुस्तकले सुधारको लागि विगतमा गरेको पैरवी स्मरण गराएको बताए । आम सरोकारवालालाई आफ्नो दृष्टिकोण बुझ्न सहयोग हुने उनको भनाइ छ । विगतमा उठाइएका आर्थिक सुधारका एजेण्डा पुस्तकमा छन् । पहिले विषय विज्ञका रूपमा सुधारका लागि उठाइएका धेरै कुरा सुनिएन । 'अन्तत राजनीतिमा आएर अहिले तीनै एजेण्डा कार्यान्वयन गर्ने कार्यकारी भूमिकामा छ,' अर्थमन्त्री वाग्लेले भने 'यीनै दस्तावेजको आधारमा सुधारका कामहरू गर्ने हो' । पुस्तकमा वि.सं. २०७१ देखि २०८२ सम्मको एक दशक लामो कालखण्डमा उनले नेपालको आर्थिक स्वरूपलाई विभिन्न आयामबाट सुक्ष्म ढङ्गले केलाइएको छ । दक्षिण एसियाली देशहरूबीचको व्यापार लागत, संघीयताको आर्थिक सबलीकरण, मिलिभगतको पुँजीवाद (क्रोनी क्यापिटालिजम) को अन्त्य र अन्तर्राष्ट्रिय सहायताको फेरिँदो स्वरूप जस्ता गम्भीर विषयहरू पुस्तकमा समेटिएका छन् । नेपालको उत्पादकत्व वृद्धि शून्य रहेको तीतो यथार्थलाई उजागर गर्दै अब सानातिना सुधारले मात्र नहुने र 'बिग ब्याङ रिफर्म' अर्थात् वृहत संरचनात्मक सुधार आवश्यक रहेको तर्क उनको विचारमा छन् । १०० अर्ब डलर माथिको अर्थतन्त्र पुर्याउने लक्ष्यका साथ डिजिटलाइजेसन, स्वच्छ ऊर्जा र पर्यटनलाई अर्थतन्त्रको मुख्य शक्तिका रूपमा प्रस्तुत गरेका छन् । सेजन अध्यक्ष भागत भट्टराईले यो पुस्तक प्रकाशन गर्नुको मुख्य उद्देश्य वर्तमान अर्थमन्त्रीको सोच र नेपालको अर्थतन्त्रलाई हेर्ने उनको दृष्टिकोणलाई आम नागरिक र सरोकारवालासम्म पुर्याउनु भएको बताए । साथै, आम पत्रकारका लागि उनका नीति र व्यवहारको मूल्यांकन गर्न पनि सहयोग पुग्‍ने उनले बताए ।
यस वर्ष २३ स्थानमा बर्डफ्लु
काठमाडौं । यस वर्ष चैतमा मात्र २३ स्थानमा बर्डफ्लु रोग देखिएको छ । पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले चैतमा मात्र २३ ठाउँमा बर्डफ्लु रोग देखिएको बताए । यसअघि चैत अगाडि यस वर्ष बर्डफ्लु देखिएको थिएन । यस वर्ष पहिलोपटक चैत ६ गते मोरङ जिल्लाको सुन्दरहरैचा र उर्लाबारी नगरपालिकामा एकै साथ दुई स्थानमा बर्डफ्लु देखिएको थियो । उनका अनुसार सुनसरीमा १२ स्थान, मोरङमा सात स्थान, झापा दुई ठाउँ, चितवनमा एक ठाउँ र काठमाडौंमा एक स्थानमा बर्डफ्लु रोग देखिएको छ । उनले बर्डफ्लु देखिएको स्थानलाई नियन्त्रणमा लिई फैलिन नदेखिएको बताए । उनका अनुसार ती स्थानमा एक लाख चार हजार कुखुरा एवं हाँस नष्ट गरिएको छ । काठमाडौंको त्रिभुवन विश्वविद्यालय परिसरका कागमा बर्डफ्लु देखिएको थियो । सुनसरी, झापा र मोरङमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि ती जिल्लामा पशुपक्षी ओसारपसारमा प्रतिबन्ध लगाइएको महानिर्देशक डा. दाहालले बताए । 'बर्डफ्लु देखिएको स्थानमा हामीले बर्डफ्लु क्षेत्र घोषणा गरेर आकस्मिक रोग अन्वेषण टोलीले ती पशुपक्षीलाई नष्ट गर्ने काम गरेको छ,' उनले भने, 'हामीले बर्डफ्लु रोग नियन्त्रणमा गरेको कामबाट धेरै नमूनामा बर्डफ्लुको सङ्क्रमण देखिएको छैन ।' सरकारले बर्डफ्लु देखिएपछि हाँस, कुखुरा नष्ट गर्ने गर्दछ र सो बापत ७५ प्रतिशत क्षतिर्पूति किसानलाई उपलब्ध गराउँदै आएको छ ।