सूर्या लाइफको सर्वाधिक कारोबार हुँदा एनटीसीसहित ५ कम्पनीको सेयर मूल्य बढ्यो
काठमाडौं । बिहीबारको सेयर बजारमा सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ८ करोड ४५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जुन सो दिन कारोबारमा आएका अन्य कम्पनीको तुलनामा सबैभन्दा बढी हो । बजारमा कूल २३२ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसको कूल १ अर्ब ६५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष स्थानमा सूर्या लाइफसँगै दोश्रो र तेश्रो स्थानमा दुई वाणिज्य बैंक छन् । दोश्रो स्थानमा रहेको एनआईसी एशियाको ६ करोड ७३ लाख रुपैयाँ र तेश्रोमा रहेको नबिल बैंकको ४ करोड ५२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बढी कारोबार गर्नेको शीर्ष स्थानमा रहेका तीन वटै कम्पनीको सेयर मूल्य भने घटेको छ । बुधबारको तुलनामा सूर्या लाइफको सेयर मूल्य घटेर प्रतिकित्ता ५८२ रुपैयाँ, एनआईसी एशियाको प्रतिकित्ता ७६४ रुपैयाँ र नबिल बैंकको सेयर मूल्य घटेर प्रतिकित्ता ९०१.९० रुपैयाँमा अन्तिम कारोबार भएको छ । समग्रमा बिहीबारको नेप्से परिसूचक ३७.०६ अंकले घटेर २२३८.६२ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.६३ प्रतिशतले घटी हो । घट्दो बजारलाई नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बुधबार दिएको एक अभिव्यक्तिले थप मद्दत गरेको देखिन्छ । उनले बुधबार एक कार्यक्रममा बोल्दै बैंकको व्याजदर बढ्न सक्ने भनेसँगै त्यसको असर बिहीबारको बजारमा परेको हुन सक्छ । यद्दपि बजार भने घट्दो क्रममा नै रहेको थियो । घटेको बिहीबारको बजारमा ५ वटा कम्पनीको सेयर मूल्य भने बढेको छ । बजारमा एनटीसीसहित ५ कम्पनीको सेयर मूल्य बुधबारको तुलनामा बढेको हो । जाल्पा लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १.२७ प्रतिशत, कालिका पावर कम्पनीको ०.९८ प्रतिशत, न्यादी ग्रुप पावरको ०.७१ र नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) को सेयर मूल्य ०.२० प्रतिशतले बढको छ । बिहीबार घलेम्दी हाइड्रोको सेयर मूल्य सबैभन्दा बढी प्रतिशत अर्थात ६.८६ प्रतिशतले घटेर प्रतिकित्ता २१३.२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
अप्पर सोलुको आइपिओ खुला
काठमाडौं । अप्पर सोलु हाइड्राे इलेक्ट्रिक कम्पनी लिमिटेडले आयोजनाबाट असर पर्न सक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १३ करोड ५० लाख मूल्य बराबरको १३ लाख ५० हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजनाले प्रभाव पार्ने सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका (साविकको टाकासेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ग्ला गाविस)का बासिन्दाले आगामी जेठ ५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे जेठ २० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख छ । कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै एनएमबि बैंक र लक्ष्मी बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बु शाखा, प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यलयबाट आवेदन दिन सकिने धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस इस्युअर’ ग्रेडिङ प्रदान गरेको छ ।
माहुली लघुवित्तको २६ प्रतिशत बोनस सेयर सूचीकृत
काठमाडौं । माहुली लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा संस्थाको २६ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । बिहीबार संस्थाको सो मात्रा अर्थात ५ लाख ८२ हजार २५४ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । उक्त सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा हस्तान्तरण हुने छ र दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ ।