हकप्रदको लागि नेपाल फाइनान्सले तोक्यो बुक क्लोजको मिति
काठमाडौं । नेपाल फाइनान्सले हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ । फाइनान्सले आगामी बैशाख २१ गते एक दिनको लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै बैशाख २० गतेसम्म कायम सेयरधनीले मात्रै संस्थाले जारी गर्ने हकप्रदमा आवेदन दिन पाउने छन् । संस्थाले चुक्ता पुँजीको १ बराबर ०.७० अनुपातमा अर्थात ७० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो । उक्त हकप्रद प्रस्ताव संस्थाको २८औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ । हाल फाइनान्सको चुक्ता पुँजी ४९ करोड ३४ लाख रुपैयाँ छ । ७० प्रतिशत हकप्रद पारित पश्चात संस्थाको चुक्ता पुँजी ८३ करोड ८७ लाख रुपैयाँ नाघ्ने छ ।
एक अर्ब रुपैयाँमा खुम्चियो सेयर कारोबार
काठमाडौं । मंगलबारको सेयर कारोबार एक अर्ब रुपैयाँमा खुम्चिएको छ । जुन धेरै पछिको न्यून कारोबार रकम हो भने सोमबारको तुलनामा ४९ प्रतिशतले घटी हो । सोमबार २ अर्ब ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा मंगलबार कूल १ अर्ब ४ करोड रुपैयाँ बराबरको मात्रै किनबेच भएको छ । पछिल्लो समय कम्पनीहरुको सेयर मूल्य घट्दो क्रममा रहेकोले त्यसको असर पनि कारोबार रकममा परेको देखिन्छ । बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक पनि घटेको छ । परिसूचक १५.०२ अंकले घटेर २३७०.९९ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६३ प्रतिशतले घटी हो । मंगलबारको बजारमा सिद्धार्थ बैंकको बढी कारोबार भएको छ । बैंकको एकैदिन ४ करोड २१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपि पावर रहेको छ । कम्पनीको ४ करोड ६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । घट्दो बजारमा पनि जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर सर्किट लेभलमा किनबेच भएको छ । संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ९४४.४० रुपैयाँमा कारोबार भएको छ । बजारमा उत्पादनमूलक र म्युचअल फण्ड बाहेक सबै समूह राताम्मे देखिएका छन् । मंगलबार हिमालयन पावर पार्टनरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.४१ प्रतिशतले घटेर प्रतिकित्ता ४२० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
सिवाईसीको आईपीओ बिहीबार बाँडफाँड हुने
काठमाडौं । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ यही वैशाख १५ गते बिहीबार बाँडफाँड हुने भएको छ । आइपीओ निष्काशन तथा विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । क्यापिटलका अनुसार बिहीबार बिहान ९ बजे बाँडफाँड गर्न लागेको हो । बिक्री प्रबन्धका अनुसार आइपीओमा दुई अर्ब ५६ करोड ८८ लाख ४५ हजार रुपैयाँ बराबरको आवेदन परेको थियो । संस्थाले वैशाख २ गतेदेखि सर्वसाधारण समूहको तीन लाख ९५ हजार ३३६ कित्ता निष्काशन गरेको थियो ।