२३ वटा लघुवित्तको सेयर मूल्य एक हजारभन्दा सस्तो
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घट्दो रुपमा छ । बजार घटेसँगै अधिकांश कम्पनीको सेयर मूल्य पनि सस्तिँदै गएको छ । बजारमा बैंकमात्र नभई हरेक समूह अन्तर्गतका कम्पनीका सेयर मूल्य घटी रहेको छ । बजारमा सूचीकृत ५१ लघुवित्तहरुमध्ये २३ वटाको सेयर मूल्य एक हजारभन्दा तल झरिसकेको छ । जबकी उनीहरुको सेयर कारोबार प्रतिकित्ता २ हजारभन्दा बढी मूल्यमा भइसेकेको थियो । २३ वटा लघुवित्तमध्ये डिप्रोक्स लघुवित्तको सबैभन्दा बढी सेयर मूल्य छ । गत शुक्रबारको बजारमा संस्थाको सेयर प्रतिकित्ता ९९८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । जुन संस्थाको न्यूनतम मूल्यको हाराहारीमा छ । हालसम्म संस्थाको उच्चतम मूल्य प्रतिकित्ता २००० र न्यूनतम मूल्य प्रतिकित्ता ९५९ रुपैयाँ रहेको छ । यीमध्ये अधिकांश कम्पनीको सेयर भाउ ८ सयदेखि ९ सय रुपैयाँको बीचमा छ । जसमा सबैभन्दा बढी मनकामना स्मार्ट लघुवित्तको घटेको देखिन्छ । प्रतिकित्ता २३ सय १० रुपैयाँसम्म कारोबार भएको लघुवित्तको सेयर मूल्य अहिले घटेर प्रतिकित्ता ८९५ रुपैयाँमा झरेको छ । जुन न्यूनतम मूल्य भने होइन । संस्थाको सेयर हालसम्म प्रतिकित्ता २९६.७० रुपैयाँभन्दा तल भने झरेको छैन । त्यस्तै, सबैभन्दा सस्तो आँधीखोला लघुवित्त रहेको छ । संस्थाको सेयर अहिले करिब ४०० रुपैयाँको हाराहारीमा किनबेच भइरहेको छ । गत शुक्रबारको बजारमा संस्थाको अन्तिम सेयर कारोबार प्रतिकित्ता ३९८.५० रुपैयाँमा भएको थियो । जबकी कम्पनीको सेयर उच्चतम ४३५ र न्यूनतम प्रतिकित्ता ३९०.७६ रुपैयाँमा कारोबार भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेसँगै लगानीकर्ताहरुलाई लगानी गर्नको लागि सहि समय देखिएको छ । घटेको बजारमा लगानी गर्नेले भावी दिनमा राम्रो प्रतिफल पाउने समेत जानकारहरु बताउँछन् । कसको मूल्य कति ?
अब शनिबारबाहेक सबै दिन सेयर बजार खुल्ने
काठमाडौं । अब शनिबारबाहेक सबैदिन सेयर बजार खुल्ने भएको छ । सेयर बजार सञ्चालक नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले हालसम्म सातामा ५ दिन मात्रै खुल्ने गरेको सेयर कारोबार अब ६ दिन खुलाउने तयारी गरेको हो । सो विषयमा छलफल भइरहेको नेप्सेका उपमहानिर्देशक निरञ्जन फुयाँलले बताए । ‘कारोबार दिन अब शुक्रबार पनि थप्न सकिन्छ की भनेर सोधखोज गरिरहेका छौं, भयो भने थपिन्छ,’ फुयाँलले भने । हाल सो विषयमा छलफल गरिरहेको नेप्सेले निर्णय गर्न भने बाँकी छ । सो निर्णय गर्नलाई धितोपत्र बोर्डको स्वीकृति नचाहिँने बताउँदै फुयाँलले सम्भवतः असारदेखि साताको ६ दिननै कारोबार हुन सक्ने बताए । ‘अब निर्णय गर्दा हप्ताको ६ दिन नै सेयर कारोबार खुलाउने गरी अघि बढ्ने छलफल भएको छ, तर निर्णय भने हुन बाँकी छ,’ उपमहानिर्देशक फुयाँलले विकासन्युजसँग भने । यसअघि नेप्सेले आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार खुलाएको थियो । बीचमा सरकारले शनिबार र आइतबार दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै नेप्सेले पनि आइतबार बिदा दिएर त्यसको सट्टा शुक्रबार सेयर कारोबार खुलाउँदै आएको छ । तर, सरकारले अब असारदेखि आइतबार बिदा नदिने भएपछि नेप्सेले आइतबारसँगै अब शुक्रबार पनि खुला गर्ने तयारी गरिरहेको छ । कारोबार दिन थप्ने तयारी गरेको नेप्से कारोबार समय भने एउटै कायम गर्ने मनसायमा छ । ‘कारोबार समय सबैदिन एउटै अर्थात बिहान ११ बजेदेखि ३ बजेसम्म नै हुन्छ,’ फुयाँलले भने । हालसम्म सेयर कारोबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म (चार घण्टा) खुल्दै आएको छ । नेप्सेको तयारी अनुसार नै निर्णय भएमा अब असारदेखि आइतबारदेखि शुक्रबारसम्म दैनिक चार घण्टा सेयर कारोबार खुल्ने छ ।
सिवाईसी नेपालको आईपीओ सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त लघुवित्त वित्तीय संस्थाको १२ लाख १६ हजार ४१८ कित्ता साधारण सेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । हालै सर्वसाधारणमा निष्काशन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर जेठ २७ गते शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै संस्थाको उक्त सेयर सोमबार (जेठ ३० गते) देखि दोश्रो बजारमा किनबेच हुने छ । जसको लागि कम्पनीको सिम्बोल ‘सिवाईसीएल’ दिइएको छ । नेप्सेले लघुवित्तको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ३४४.३६ रुपैयाँ र अधिकतम १०३३.०८ रुपैयाँ तोकेको छ । यससँगै भोलि अर्थात सोमबारको कारोबारमा संस्थाको सेयर उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार हुने छ । साथै, कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि काठमाडौंको टेकुस्थित आरबिबि मर्चेन्टलाई सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।