कास्कीको स्थानीयवासीलाई मन्दाकिनी हाइड्रोपावरको आइपीओ खुला

काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित दरमा पाँच करोड ८८ लाख तीन हजार ७०० मूल्य बराबरको पाँच लाख ८८ हजार ३७ कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ)को बिक्री खुला गरेको हो । आयोजना प्रभावित कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–२, ३, ४ र ६ वडाका स्थानीय बासिन्दाले यही असार १५ गतेसम्म र सो अवधिमा मागबमोजिम आवेदन नपरे असार ३० सम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रमा उल्लेख छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा पर्ने सार्दीखोलामा चार मेगावाट क्षमताको सार्दीखोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । साथै, एनएमबी बैंकको हेम्जा शाखा, प्राइम कमर्सियल बैंकको लामाचौर शाखा र पोखरा फाइनान्सको लाहाचोकस्थित कार्यालयका साथै कम्पनीको रजिष्ट्रार कार्यालय काठमाडौंबाट समेत आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एपी बिबी प्लस आइएस’ ग्रेडिङ प्रदान गरेको छ ।

आधा घण्टामै ३२ अंकले घट्यो सेयर बजार

काठमाडाैं । खुलेको आधा घण्टामै सेयर बजार ३२.४२ अंकले घटेको छ । बुधबार ११ बजेर ३० मिनेट जाँदा सेयर बजार ३२.४२ अंकले घटेको हो । यो समाचार तयार पार्दासम्म सेयर बजारमा ८ लाख २२ हजार १९१ कित्ता सेयर खरिद बिक्रीबाट कुल ३० करोड २५ लाख ८१ हजार रुपैयाँको कारोबार भएको छ । सेयर बजारमा बैंकिङ क्षेत्रको स्वामित्व बढी छ । बुधबार नेपाल राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई छलफलमा बोलाएर साउनदेखि नियमनमा कडाइ गर्ने बताएको थियो । राष्ट्र बैंकले सीईओहरुलाई सबै नीति नियमहरु पालना गर्न र  पालना नगरे तत्काल कारवाही गर्ने चेतावनी पनि दिएको थियो । यसले पनि सेयर बजारमा प्रभाव पारेको बुझ्न सकिन्छ ।

२ हजारको बिन्दुबाट पनि तल झर्यो नेप्से परिसूचक, शिवमको सर्वाधिक कारोबार

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २ हजार बिन्दुबाट तल झरको छ । मंगलबार कारोबार शुरु भएदेखि निरन्तर ओरालो लागेकोे परिसूचक ३६.०७ अंकले घटेर १९९६.२६ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.७८ प्रतिशतले घटी हो भने १८ महिनायताकै न्यून बिन्दु हो । दिनभरको कारोबारमा परिसूचक घटेर १९९०.६९ बिन्दुसम्म झरेको थियो । सोमबारको तुलनामा मंगलबारको कारोबार रकममा भने वृद्धि भएको छ । सोमबार ९९ करोड ८६ लाख रुपैयाँमा खुम्चिएको सेयर कारोबार मंगलबार एक अर्ब माथिको सेयर किनबेच भएको छ । दिनभरको कारोबारमा १ अर्ब १८ लाख रुपैयाँ बराबरको ४१ लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री भएको हो । २३२ वटा स्क्रिप्सको किनबेच भएको बजारमा शिवम् सिमेन्टको उच्च कारोबार भएको छ । सिमेन्टको एकैदिन ४ करोड ६७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य घटेर प्रतिकित्ता ६९८ रुपैयाँमा झरेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । हिमालयन पावर पार्टनरको सेयर मूल्य ९.९९ प्रतिशतले झरेर प्रतिकित्ता ३४४.३० रुपैयाँमा झरेको छ । घटेको बजारमा पनि आँधिखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८.१८ प्रतिशतले बढेर प्रतिकित्ता ४४८.४० रुपैयाँमा पुगेको छ ।