अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै ५१ करोड रुपैयाँ संकलन, कति पर्याे आवेदन ?
काठमाडौं । अभियान लघुवित्तको आईपीओमा पहिलो दिन नै मागभन्दा ५.२५ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार बुधबार ५ बजेसम्म लघुवित्तको आईपीओमा ४ लाख ३८ हजार २५५ जनाले आवेदन दिएका छन् । लघुवित्तको आईपीओ खरिद गर्न लगानीकर्ताले ५१ लाख २८ हजार ४१० कित्ताका लागि ५१ करोड २८ लाख ४१ हजार रुपैयाँ बराबरको आवेदन दिएका हुन् । लघुवित्तले साउन १८ गतेदेखि चुक्ता पूँजी १५ करोड २५ लाख रुपैयाँको ९ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये ०.५ प्रतिशत अर्थात १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ९ लाख १३ हजार ७५० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ । लघुवित्तको आईपीओमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । लघुवित्तको आईपीओमा लगानीकर्ताले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोशेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् । लघुवित्तको आईपीओलाई इक्रा नेपालले इक्राएनपि इस्यूअर रेटिङ्ग डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । जसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
नेप्से ६.७१ अंकले गिरावट हुँदा स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै घट्यो
काठमाडाैं । सेयर बजार परिसूचक नेप्से बुधवार ६.७१ अंकल गिरावट आएको छ । लगातार रुपमा बढ्दो क्रममा रहेको नेप्से परिसूचक मंगलवारदेखि सामान्य करेक्शन आएको हो । बुधबार नेप्से सूचक ६.७१ अंकले घटेर २१८६.७७ बिन्दुमा झरेको छ । त्यस्तै,सेन्सेटिभ इण्डेक्स ०.६४ अंकले घटेको छ भने फ्लोटइण्डेक्स ०.९ अंक तर सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.६ अंकले घटेको छ । बुधवार कारोबारमा आएका २१८ कम्पनीको ९५ लाख ४२ हजार ६२६ कित्ता शेयर ४ अर्ब २ करोड ९९ लाख ३१ हजार ४३९ रुपैयाँ बराबरको कारोबार भएको छ । बुधवार कारोबार रकममा भने केही सुधार देखिएको छ मंगलवार ३ अर्ब २९ करोड ३२ लाख ३४ हजार ७०५ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका १३ उपसमूह मध्ये ४ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ९ वटा उपसमूहको परिसूचक नकारात्मक देखिएको छ । जसमा व्यापार उपसमूहको सूचक ३.८१ प्रतिशत र हाइड्रोपावर उपसमूहको सूचक १.६४ प्रतिशतले बढेको छ । नेप्से परिसूचक गिरावट भए पनि बुधबार सामलिङ्ग पावरको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने बलेफि हाइड्रोपावरको ९.९७ प्रतिशत, युनाइटेड इदी मर्दी हाइड्रोपावरको ८.९६ प्रतिशत र समृद्धि फाइनान्सको ८.७६ प्रतिशत बढेको छ । तर यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सेयरमूल्य सबैभन्दा धेरै ३.९२ प्रतिशतले घटेको छ । त्यस्तै, गुडविल फाइनान्सको ३.४३ प्रतिशत र बोटलर्स नेपालको ३.३८ प्रतिशतले घटेको छ । बुधबार शिवम सिमेन्टको सबैभन्दा धेरै २५ करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ भने अपि पावरको १५ करोड १७ लाख रुपैयाँ बराबारको सेयर कारोबार भएको छ ।
भदौ ८ गतेभित्र सेयर कर्जा १२ करोडमा झार्नै पर्ने, नत्र १०० प्रतिशत प्रोभिजन
काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौं ८ गतेभित्र सेयर कर्जालाई सीमाभित्र ल्याउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार जारी एकिकृत निर्देशनमा मार्जिन प्रकृतिको कर्जा रू. १२ करोड भन्दा तल झर्न निर्देशन दिइएको हो । मौद्रिक नीतिमा कुनै एक वा सबै इजाजतपत्रप्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल रु. १२ करोड तोकिएको थियो । ‘मिति २०७८।०५।०८ पूर्व कुनै ऋणीलाई सीमाभन्दा बढी कर्जा प्रवाह भएको भए त्यस्तो कर्जालाई क्रमिक रुपले घटाउँदै लगी कर्जाको भुक्तानी अवधि वा सो मितिबाट एक वर्ष मध्ये जुन पहिले हुन्छ सो अवधि भित्र नियमित गरिसक्नु पर्नेछ’ राष्ट्र बैंकको एकिकृत निर्देशनमा भनिएको छ । कर्जा प्रवाह भएको मितिले एक वर्ष तोकिएकोले २०७९ भदौ ८ गतेभित्र सेयर कर्जा सीमामा ल्याउनु पर्ने वाध्यता बैंक तथा वित्तीय संस्थालाई आईपरेको हो । रु १२ करोड भन्दा बढी कर्जा लिने ऋणिको विवरण भने आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । यस्तो कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह वा नवीकरण गर्दा उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह/नवीकरण गर्नु पर्नेछ । तोकिएको सीमा नाघी कर्जा प्रवाह वा नवीकरण गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।