११ वर्षमा सीआईटीका लगानीकर्ताको सम्पत्ति साढे चार गुणाले बढ्यो, १०० कित्ता हुनेले कति कमाए ?

काठमाडौं । पछिल्लो समय सेयर बजारमा धेरैको चासो छ । राम्रो कम्पनी छनोट गरेर दीर्घकालमा राम्रो नाफा गर्ने ध्येय सबैमा हुन्छ । सेयर बजारको निरन्तरको आरोह–अवरोहलाई वेवास्ता गर्दै धेरैले राम्रो कम्पनी नै छनोट गरेर लगानी गर्छन् । पछिल्लो समय दोस्रो बजारमा लगानीकर्ताले रूचाएको कम्पनीमध्येको एक हो नागरिक लगानी कोष (सीआईटी) । वि.स २०४७ साल चैतमा स्थापना भएको नागरिक लगानी कोष सर्वसाधारणको बचत गर्ने बानीलाई प्रोत्साहन गरी आर्थिक विकासमा टेवा पुर्याउने उद्धेश्यका साथ धितोपत्र बजारको एक महत्वपूर्ण कम्पनीका रूपमा परिचित छ । हाल पूँजी बजारमा महँगो मध्येको एक कम्पनीका रूपमा रहेको छ । कोषले पूँजी बजार सम्बन्धी मर्चेन्ट बैंकरको रूपमा धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य, सेयर रजिष्ट्रारको कार्य र धितोपत्र प्रत्याभुतिको कार्य गर्दै आएको छ । पूँजीबजारलाई गतिशिल तथा प्रभावकारी बनाउनका लागि कोषले नागरिक स्टक डिलर कम्पनी लिमिटेडको स्थापना गरी कार्य संचालन गरिरहेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएपश्चात् कोषले आर्थिक वर्ष २०६७/०६८ देखि हालसम्म सेयरधनीहरुलाई निरन्तर लाभांश वितरण गर्दै आएको छ । सुरूका आर्थिक वर्षमा राम्रो लाभांश वितरण गरेको भएपनि आर्थिक वर्ष २०७१/०७२ देखि कोषको लाभांश झण्डै दोब्बरले घटेको देखिन्छ । तर, यो ११ वर्षको अवधिमा नागरिक लगानी कोषका सेयरधनीको सम्पत्ति साढे चार गुणाले बढेको तथ्यांकले देखाउँछ । कोषको आइतबारको सेयर मूल्यलाई आधार मानेर गणना गर्दा ११ वर्षको अवधिमा सेयरधनीले ४३ लाख ७६ हजार ५५९ रुपैयाँ कमाएका हुन् । यो रकम कोषले वार्षिक रुपमा सेयरधनीलाई दिएको बोनस सेयरको आधारमा गणना गरिएको हो । यसमा नगद लाभांश गणना गर्दा कोषका सेयरधनीको सम्पत्ति झनै बढेको देखिन्छ । कोषले आर्थिक वर्ष २०६७÷०६८ देखि हालसम्म गरी ११ वर्ष लाभांश वितरण गरेको छ । कोषले आर्थिक बर्ष २०६७/६८ मा कोषले ३५ प्रतिशत, आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत, आर्थिक बर्ष २०६९/७० मा ५० प्रतिशत, आर्थिक बर्ष २०७०/७१ मा ३५ प्रतिशत, आर्थिक बर्ष २०७१/७२ मा कोषले २१.८५ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०७२/७३ मा कोषले २२ प्रतिशत, आर्थिक बर्ष २०७३/७४ मा २२.०६ प्रतिशत, आर्थिक बर्ष २०७४/७५ मा २२ प्रतिशत, आर्थिक बर्ष २०७५/७६ मा २२ प्रतिशत र आर्थिक बर्ष २०७६/७७ मा ९ प्रतिशत बोनस सेयर वितरण गरेको छ । यस्तै, आर्थिक बर्ष २०७७/७८ मा ३० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । कोष नेप्सेमा सूचीकृत हुँदा एक सय कित्ता सेयर पाउने सेयरधनीले ११ वर्षको अवधिमा राम्रो कमाएको देखिएको छ । २०६७/०६८ मा एक सय कित्ता सयर हुने सेयरधनीले ३५ कित्ता सेयर बोनसका रुपमा पाएको देखिन्छ । सो सेयरधनीसँग अब १३५ कित्ता सेयर हुन आउँछ । १३५ कित्ता सेयर हुनेले आर्थिक बर्ष २०६८/६९ मा ३८.८९ प्रतिशत बोनस सेयर पाउँदा कुल १८७ सेयर संख्या हुन्छ । यसरी वर्षेनी बोनस सेयर बढ्दै जाँदा सेयरधनीको पनि सेयर संख्या बढ्दै गएको देखिन्छ । ११ वर्ष अगाडि १०० कित्ता सेयर हुनको हालसम्म १हजार ४५३ कित्ता सेयर देखिन्छ । सो कित्तालाई आइतबारको सेयर मूल्यसँग गणना गर्दा कुल ४३ लाख बढी सम्पत्ति सो सेयरधनीसँग भएको तथ्यांकले देखाउँछ ।

नेप्सेमा एक कम्पनीको १६ प्रतिशत बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । आइतबार गरिमा विकास बैंक लिमिटेडको १६ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । बैंकको सोही बापतको ६३ लाख १७ हजार ९२.९६८१ कित्ता सेयर नेप्सेमा थप भएको हो ।

सेयर बजार ५४.५८ अंक बढ्दा बीमामा लगानीकर्ताको  रूचि, ५ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो

काठमाडौं । निरन्तर बढिरहेको सेयर बजारले आइतबार पनि निरन्तर पाएको छ । यसअघि गत साता सुधार आएको बजारमा यस साताको पहिलो दिन पनि हरियाली छाएको छ । सेयर बजार आइतबार भारि अंकले बढेको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५४.५८ अंकले बढेर २१९५.१० बिन्दुमा आएर बन्द भएको हो । आज २२० कम्पनीको १ करोड १३ लाख ३९ हजार ४७६ कित्ता सेयर ६७ हजार ७४० पटक किनबेच भएको छ । आइतबारको बजारमा जम्मा ४ अर्ब ६० करोड ९७ लाख ९१ हजार २७२ रुपैयाँ बराबरको कारोबार भएको हो । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सेयर बजार सम्बन्धी सकारात्मक व्यवस्था गरेकाले सेयर बजार निरन्तर उकालो लागेको सेयर विश्लेषकहरु बताउँदै आएका छन् । आइतबार बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ । अन्य समूहभन्दा जीबन बीमा र निर्जीबन बीमा समूहका कम्पनीको सेयर मूल्य बढेका छन् । त्यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले आजभेलि नै अर्थमन्त्री नियुक्त गर्ने चर्चा छ । बजेट निर्माणमा बाहिरी व्यक्ति संलग्न गराएको आरोप लागेपछि राजीनामा दिएका जनार्दन शर्मा पुनः अर्थमन्त्री बन्ने समाचार सार्वजनिक भएपछि सेयर बजार बढेको बिश्लेषक बताउँछन् । आइतबार बैंकिङ्ग समूह २.९२ प्रतिशत, ट्रेडिङ्ग समूह ३.६२ प्रतिशत, होटल एण्ड टुरिजम समूह २.७२ प्रतिशत, विकास बैंक समूह ०.७८ प्रतिशत, हाइड्रोपावर समूह ०.८ प्रतिशत, निर्जीवन बीमा समूह ४.५१ प्रतिशत, म्यानुफ्याक्चरिङ्ग एण्ड प्रोसेसिङ्ग समूह १.८३ प्रतिशत, अन्य समूह ३.२६ प्रतिशत, माइक्रोफाइनान्स समूह १.१ प्रतिशत, जीवन बीमा समूह ४.१६ प्रतिशत, म्युचुअल फण्ड समूह ०.७५ प्रतिशत र इन्भेष्टमेन्ट समूह ४.७६ प्रतिशत बढेको छ । यता आज फाइनान्स समूह १.६ प्रतिशतले घटेको छ । आइतबार आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स कम्पनील, प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्स कम्पनीको सेयरमूल्य १० प्रतिशत बढेको छ ।