पहिलो दिनको कारोबारमै १० प्रतिशतले घट्यो हिमालयन एभरेष्टको सेयर मूल्य
काठमाडौं । हिमालन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ । बुधबार मात्रै दोश्रो बजारमा भित्रिएको इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले घटेर ४५९.५० रुपैयाँमा झरेको हो । जुन नेप्सेले पहिलो कारोबारको लागि तोकिदिएको रकमभन्दा प्रतिकित्ता ५०.९८ रुपैयाँले घटी हो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि ५१०.४८ रुपैयाँ तोकिदिएको थियो । तर, कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०९.६० रुपैयाँमा भयो । त्यसपछि दिनभरको कारोबारमा कम्पनीको सेयर मूल्य निरन्तर रुपमा घट्यो । पहिलो दिनको कारोबारमा कम्पनीको १ करोड ८५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । २९२ पटकको कारोबारमा कूल ३९ हजार ९३५ कित्ता सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ ।
नेप्सेमा थपियो हिमालयन बैंकको बोनस सेयर
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हिमालयन बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको २१.३८ प्रतिशत अर्थात २ करोड २८ लाख ४८ हजार २४८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । साउन २५ गते मात्रै बैंकको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।
युनिलिभरमा एक लाख लगानी गर्नेको सम्पत्ति झण्डै १ करोड, यस्तो छ ११ वर्षको लाभांश
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सबैभन्दा धेरै मूल्य भएको कम्पनी हो युनिलिभर नेपाल । यस कम्पनीको सेयर मूल्य नेप्सेमा सूचीकृत अन्य कम्पनीको तुलनामा धेरै छ । सन् २००७ जुलाई २९ तारिखका दिन नेप्सेमा सूचीकृत भएको पुरानो कम्पनीमध्येमा युनिलिभर पनि पर्छ । कम्पनीको चुक्ता पूँजी ९ करोड २० लाख ७० हजार रुपैयाँ छ । नेप्सेमा यस कम्पनीको ९ लाख २० हजार ७ सय कित्ता सेयर सूचीकृत छन् । सोमबारको सेयर कारोबारका आधारमा बजार पूँजी १८ अर्ब १८ करोड ३८ लाख २५ हजार रुपैयाँ रहेको छ । कम्पनीको सेयर मूल्य सोमबार १९ हजार ७५० रुपैयाँ छ । यसअघि कम्पनीको सबैभन्दा धेरै सेयर मूल्य ५८ सयकाे हाराहारीमा पुगेको थियो । थोरै पूँजी भएको कम्पनीले बजारमा सेयर मूल्यका आधारमा सबैलाई चुनौति दिँदै आएको छ । यस कम्पनीको सेयर मूल्यसँग प्रतिस्पर्धा गर्दै आएको राष्ट्रिय बीमा कम्पनी भने धेरै तल झरिसकेको छ । राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य घटेर १३ हजार ९२५ रुपैयाँमा झरेपछि सेयर मूल्यका आधारमा युनिलिभर पूँजी बजारमा एक नम्बर बनेको छ । कम्पनीले ११ वर्षको अवधिमा हालसम्म नगद लाभांश मात्रै वितरण गर्दै आएको छ । कम्पनीले ११ वर्ष अघि १ लाख रुपैयाँ लगानी गर्ने लगानीकर्तालाई करोडपति बनाएको छ । कम्पनीमा ११ वर्ष अघि १ लाख रुपैयाँमा १ हजार कित्ता सेयर किनेको ब्यक्तिले ८३ लाख ९० हजार रुपैयाँ प्रतिफल प्राप्त गरेको छ । कम्पनीले आर्थिक वर्ष २०६६/०६७ मा ५९० प्रतिशत, आर्थिक वर्ष २०६८/०६९ मा ६८० प्रतिशत, आर्थिक वर्ष २०६९/७० मा ७६० प्रतिशत, आर्थिक वर्ष २०७०/०७१ मा ८६० प्रतिशत, आर्थिक वर्ष २०७१/०७२ मा ९९० प्रतिशत, २०७२/०७३ मा १०२० प्रतिशत, २०७३/०७४ मा १२७० प्रतिशत, २०७४/०७५ मा ७ सय प्रतिशत, २०७५/०७६ मा ७७० प्रतिशत, २०७६/०७७ मा १ सय प्रतिशत र २०७७/०७८ मा ६५० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यद्यपि, ११ वर्ष अगाडि युनिलिभरको १ हजार कित्ता सेयर पाउन असम्भव नै थियो । यदि कम्पनी नेप्सेमा सूचीकृत संस्थापक सेयरधनीसँग एक हजार कित्ता सेयर थियो भने २०६६/६७ पछिको नगद लाभांश मात्रै गणना हुँदा सो सम्पत्ति देखिन आउँछ । कम्पनीले सो समयभन्दा अगाडि पनि लाभांश दिएको थियो । सो लाभांशलाई तथ्यांकमा राखिएको छैन । तर, ११ वर्ष अगाडि युनिलिभरको वास्तविक सेयर मूल्य ५ हजार ८ सयको हाराहारीमा थियो । सोही मूल्यलाई आधार मान्दा एक हजार कित्ता सेयर खरिद गर्ने लगानीकर्तालाई ५८ लाख रुपैयाँ लागत पर्न जान्छ । यो हिसाबले भने ११ वर्ष अगाडि मात्रै सेयर खरिद गर्ने लगानीकर्तालाई २५ लाख ९० हजार रुपैयाँ मात्रै प्रतिफल आएको देखिन्छ । युनिलिभर नेपाल २८ बर्षभन्दा लामो इतिहास बोकेको एक एक कम्पनी हो । यस कम्पनीमो होम केयर (घरगृहस्थ उपयोगका वस्तु), ब्यूटि एण्ड पर्सनल केयर (सौन्दर्य प्रशाधन तथा वैयतिक उपयोगका बस्तु), फुड्स एण्ड रिफ्रेसन्ट (खाद्य तथा पेय)–अन्तर्गत लगानी–व्यवस्थापन श्रृङखलाका ब्रान्डहरु उपलव्ध छन् ।