रिचेत जलविद्युत कम्पनी आइपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । रिचेत जलविद्युत कम्पनीले सर्वसाधरणको लागि आइपीओ जारी गर्ने भएको छ ।कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणका लागि १ लाख १२ हजार २२३ कित्ता सार्वजनिक गर्ने भएको हो । कम्पनीले यसको लागि सार्वजनिक निष्काशन गर्नको लागि एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धकको रुपमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा रिचेत जलविद्युत कम्पनीका अध्यक्ष अर्जुन प्रसाद पौडेल, कम्पनी सचिव शिशिर खनाल तथा एनआईबिएल एस क्यापिटलका नायव महाप्रबन्धक सचिन्द्र ढुंगाना र  मर्चेन्ट बैंकिङ प्रमुख रोश्ना मानन्धरले हस्ताक्षर गरेका छन् । २०७० सालमा स्थापना भएको रिचेत जलविद्युत कम्पनीको प्रमुख कार्यालय ललितपुरको महालक्ष्मीस्थानमा रहेको छ ।

अपर हेवाखोला हाइड्रोको सेयर कारोबार खुला, मूल्य रेञ्ज कतिदेखि कतिसम्म ?

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीको आज (बिहीबार) बाट सेयर कारोबार गर्न सकिने छ । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा सूचीकृत भएसँगै कम्पनीको सेयर आजबाट किनबेच गर्न मिल्ने भएको हो । जसको लागि नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि प्रतिकित्ता १०० देखि ३०० रुपैयाँसम्म मूल्य तोकेको छ । यससँगै लगानीकर्ताले यूचएईडब्लुए को स्टक सिम्बोलबाट उक्त रेञ्जभित्र रहेर पहिलो कारोबार गर्न सक्नेछन् । नेप्सेमा कम्पनीको ५० लाख कित्ता आईपीओ सूचीकृत भएको हो । सेयर रजिष्ट्रारको रुपमा एनएमबि क्यापिटल रहेको छ । यससँगै अब यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सेयरधनीहरुहको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कामहरु एनएमबि क्यापिटल मार्फत हुने छ । कम्पनीले सङ्खुवासभा जिल्लामा ८.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

सेयर कारोबार रोक्का सम्बन्धी निर्देशिकाको ‘ड्राफ्ट’ तयार, लगानीकर्ताका सुझावपछि मात्रै लागू गर्ने

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ल्याउन लागेको सेयर रोक्का सम्बन्धी निर्देशिका तयार गरेको छ । बोर्डका अनुसार सेयर रोक्का सम्बन्धी निर्देशिका तयार भएर अब त्यसको अन्तिम रुप दिन बाँकी छ । बोर्डका प्रवक्ता रुपेश केशीले मर्जर तथा प्राप्तिको समयमा हुने सेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको बताए । ‘हाम्रो टोलीले यसमा काम गरिरहेको छ, अब फाइनलाइज्ड गर्ने क्रममा छौं,’ उनले विकासन्युजसँग भने । तर, यसलाई लागू गर्नुभन्दा अघि विज्ञ लगानीकर्ताको राय सुझाव लिने तयारीमा पनि बोर्ड रहेको छ । ‘अब कारोबार कति दिन रोक्का गर्ने, कहिलेदेखि खुला गर्ने भन्नु भन्दा पनि यता लगानीकर्तालाई अफ्ठ्यारो पनि नपरोस्, कारोबार खोल्दा लगानीकर्तालाई भोलि मर्का पनि नपरोस् भन्ने हिसावले उहाँहरुसँग राय सुझाव लिने क्रममा छौं,’ उनले भने । बोर्डका अध्यक्ष रमेश कुमार हमालले भनेको समयमा भने बोर्डले उक्त निर्देशिका ल्याउन सकेन । अध्यक्ष हमालले गत साउन १२ गते बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका दुई साताभित्र लागू गर्ने बताएका थिए । ‘मौद्रिक नीति सार्वजनिक भएको दिनदेखि नै विज्ञ टिम बनाएर निर्देशिका तयार पारिरहेका छन्, अबको १० दिनभित्रमा जारी गर्छाैं, दुई सातामा लागू गर्छौं, यसमा विभिन्न विषयहरु हेर्नुपर्ने भएकाले यसमा हतार गर्नु हुँदैन,’ कार्यक्रममा बोल्दै अध्यक्ष हमालले भनेका थिए । हाल निर्देशिका अन्तिम चरणमा रहेको भनिएपनि अब लगानीकर्ताहरुसँग राय सुझाव लिने भएपछि थप समय लम्बिने बुझिन्छ । तर, बोर्डका प्रवक्ता भने त्यति लामो समय नलाग्ने बताउँछन् । ‘अब चाँडै नै हामीले हाम्रो भर्सनमा लगानीकर्ताको राय सुझाव लिन्छौं, सम्भवत ५/७ दिनमा उहाँहरुबाट सुझाव आउला, राम्रो सुझाव आयो भने त्यसलाई एड्रेस गरेर अघि बढ्छौं, धेरै समय नलाग्ला,’ उनले थप प्रष्ट पार्दै भने । लगानीकर्तासँग सम्बन्धित नै विषय भएको हुनाले अहिले हतारमा ल्याउनु भन्दा दीर्घकालसम्म लगानीकर्ताको हित हुने हिसाबले ल्याउँदा सबै सरोकारवालाहरुलाई फाइदा हुने उनको भनाइ छ । यो विषयमा लगानीकर्तासँग राय सुझाव लिने भनेको बोर्डले हालसम्म कुन मोडालिटीबाट सुझाव लिने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन । सम्भवतः कुनै कार्यक्रम मार्फतभन्दा पनि सूचना निकालेरै लगानीकर्ताबाट सुझाव लिने सम्भावना धेरै रहेको प्रवक्ता केशी बताउँछन् । अध्यक्ष हमालले पनि अब केही दिनभित्रै निर्देशिका जारी हुने बताए । अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारी भइरहेको बताउँदै उनले २/३ दिनभित्रै निर्देशिका सार्वजनिक हुने बताए । ‘अहिले निर्देशिकाको ड्राफ्ट निर्माणको अन्तिम तयारीमा छौं, भोलि वा पर्सी सर्वसाधारणको सुझावको लागि निर्देशिकाको ड्राफ्ट सार्वजनिक गर्छौं, उहाँहरुको सुझावका आधारमा निर्देशिकालाई अन्तिम रुप दिन्छौं,’ उनले विकासन्युजसँग भने । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कारोबार रोक्का सम्बन्धमा राष्ट्र बैंकले गरेको नीति खारेज गर्दै त्यसको सम्पूर्ण अधिकार धितोपत्र बोर्डलाई दिएको थियो । ‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्नेसम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिमा भनिएको छ । राष्ट्र बैंकले यो व्यवस्था गरेसँगै बोर्डले सेयर कारोबार रोक्का सम्बन्धीको टोली बनाएको हो । जसमा बोर्डका कानुनको उपकार्यकारी कृष्णप्रसाद पोखरेल, कार्यकारी निर्देशक विनयदेव आर्चाय र प्रवक्ता रुपेश केशी रहेका छन् ।