सेयर लगानीकर्ताले गुमाए ५ लाख करोड

काठमाडौं । सेयर बजारमा उतार चढाव स्वभाविक हो । लगानीकर्ताले सेयर बजारबाट कहिले एकै दिन लाखौं कमाउँछन् त कहिले लाखौं गुमाउँछन् । यतिबेला नेपालसँगै धेरैको देशको सेयर बजार घट्दो अवस्थामा छ । भारतीय सेयर बजार पनि घट्दा लगानीकर्ताले अर्बौं गुमाउनु परेको छ । अमेरिकी केन्द्रीय बैंक फेड रिजर्भका प्रमुख जेरोम पावेलले ब्याजदर बढाउने घोषणा र त्यसपछि डलरको तुलनामा पैसाको भाउमा ऐतिहासिक गिरावट आएपछि भारतीय सेयर बजारमा हंगामा मच्चिएको छ । जसको असर सेयर बजारका लगानीकर्ताले व्यहोरेका छन् । साताको अन्तिम कारोबार दिन भारतीय बजारका लगानीकर्ताले ५ लाख करोड रुपैयाँ गुमाएका छन् । बिहीबार भारतीय सेयर बजार बन्द हुँदा मुम्बई स्टक एक्सचेन्जको बजार पुँजीकरण २८१.७० लाख करोड रुपैयाँ नजिक थियो । जुन शुक्रबार घटेर २७६.६५ लाख करोड रुपैयाँमा झरेको छ । फेडले ब्याजदर बढाए पनि भविष्यमा अझै बढाउने सङ्केत दिएको छ जसका कारण विदेशी लगानीकर्ताले सेयर बिक्री गरिरहेका छन् । रिजर्व बैंक अफ इण्डियाको मौद्रिक नीति समितिको बैठक सेप्टेम्बर २८–३० मा बस्दैछ । अगष्ट महिनामा खुद्रा मुद्रास्फीति फेरि ७ प्रतिशतको नजिक पुगेको छ । त्यसपछि फेरि आरबीआईले रेपो दर बढाउने अड्कलबाजी गरिरहेको छ । भारतीय अर्थतन्त्र पनि अहिले नकारात्मक अवस्थामा छ ।

नेपाल ल्युव आयलले १० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउने

काठमाडौं । नेपाल ल्युव आयलले चुक्ता पूँजी वृद्धि गर्ने भएको छ । कम्पनीको अधिकृत एवंम जारी पूँजी ५ करोड रुपैयाँ थप गरी १० करोड रुपैयाँ पुर्याउने भएको हो । कम्पनीले चुक्ता पूँजी वृद्धि गर्न र लाभांश वितरण प्रस्ताव पारित गर्न वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असोज ४ गते बसेको बैठकले असोज २८ गते बिहान ११ः३० बजे याक प्यालेस, पुल्चोक ललितपुरमा ३१ औं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरी कूल ३० प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । कम्पनीको साधारण सभा तथा लाभांश प्रयोजनार्थ असोज १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, असोज १३ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

अभियान लघुवित्तको आईपीओ नेप्सेमा सूचीकृत, कति पायो ओपनिङ्ग ?

काठमाडौं । अभियान लघुवित्तको आईपीओ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । लघुवित्तको आईपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएको हो । लघुवित्त र नेप्सेबीच शुक्रबार २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत गर्ने सम्झौता भएको हो । लघुवित्तको संस्थापक सेयरधनीहरुको १५ लाख २५ हजार कित्ता (६१ प्रतिशत) र सर्वसाधारण समूहको ९ लाख ७५ हजार कित्ता (३९ प्रतिशत) को गरी कूल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ । साथै, नेप्सेले लघुवित्तलाई पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतम प्रतिकित्ता ३१६.०८ रुपैयाँ तोकेको छ । लघुवित्तको सेयर आइतबारदेखि कारोबारमा आउने छ ।