‘ब्याजदर बढ्दा सेयर बजारमा आतंक मच्चियो, तत्काल भद्र सहमति गर्नुपर्छ’
छोटेलाल रौनियार- पूर्वअध्यक्ष, इन्भेष्टर्स फोरम ब्रोकर लाइसेन्स र नयाँ स्टक मार्केटको लाइसेन्स खुल्ने भनेपछि दुई दिन मार्केट राम्रो बढेको थियो । तर, बजार बढेको तेस्रो दिन नेपाल बैंकर्स एशोसिएसनले भद्र सहमति तोड्यो । भद्र सहमति तोडेर आफूखुसी ब्याजदर तोक्ने भनेपछि बजार फेरी ओरालो लागेको हो । दुई तीन वटा बैंकहरुले किचलो गरेका कारण ब्याजदर खुकुलो पारेको भन्ने सुनिएको छ । राष्ट्र बैंकले पनि नयाँ सिस्टम अनुसार बोनस वितरण गर्न रोकिरहेको छ । एउटा सिस्टम खडा गरेर बैंकहरुलाई वित्तीय विवरणमा एनपीएल वा एनपीए बढाउन लगाउने कुराहरु गरिरहेको छ । बोनस सेयर वितरण गर्ने धेरै बैंकले राष्ट्र बैंकमा स्वीकृतिका लागि पठाइसकेका छन् । यसमा राष्ट्र बैंकले पनि स्वीकृति गरिरहेको होला । यसअघि पनि पहिला बैंकहरुले आफूखुसी ब्याजदर बढाएका थिए । त्यसपछि त्यसको ठूलो विवाद भयो । आफूखसी ब्याजदर तोक्दा कम्प्लेन आएको थियो । त्यसको छानबिन गरेर बैंकहरुले रकम तिर्नुपरेको थियो । फेरि यसपटक बैंकहरुले भद्र सहमति तोडेका छन् । बैंकहरुले भद्र सहमति तोडेर ब्याजदर बढाएर कमाउन खोजिरहेका छन् । पहिलादेखि नै दुई तीनवटा बैंकले ब्याजदर बढाउन किचकिच गरेको हामीले सुन्दै आएका थियौं । अहिलेपनि यी दुईतीनवटा बैंकले कचकच गर्दा ब्याजदरको भद्र सहमति तोडिएको हुनसक्छ । अहिले ब्याजदरको भद्र सहमति तोडिएर वृद्धि गर्दा सेयर बजार घटेको हो । यस्तै, केही बैंकर्सहरुले नै ब्याजदर १८ प्रतिशत पुग्छ भनेर सार्वजनिक बक्तव्य दिइरहेका हुन्छन् । बैंकर्सहरुले बजारलाई नकारात्मक प्रभाव पार्ने कुराहरु सार्वजनिक रुपमा बोल्नु हुँदैनथ्यो । ब्याजदर बढ्यो भने पूँजी बजारका लगानीकर्ताले नेगेटिभ रोल खेल्छन् । ब्याजदर बढ्यो भने पूँजी बजार घट्छ, ब्याजदर घट्यो भने पूँजी बजार बढ्छ । अहिले भएको पनि यहि हो, ब्याजदर बढ्यो पूँजी बजार घट्यो । जुन दिन नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोड्यो त्यो दिनदेखि पूँजी बजार घटिरहेको छ । यसमा लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ । एक वर्षअघि ३२ सय बढी इण्डेक्स हुँदा त्यो बेला लगानीकर्ताहरुको मास साइकोलोजी बुलिस थियो । त्यसपछि नियमनकारी निकाय सेबोनले ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्नु, राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितोकर्जामा ४/१२ को सीमा तोक्नु, अर्थमन्त्रालयबाट पनि यस्तै प्रकारका सार्वजनिक बक्तव्य आइरहनु, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायतका जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा आम लगानीकर्ताको मास साइकोलोजी मनोविज्ञान कमजोर बनेको छ । १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् । सार्वजनिक रुपमा टिप्पणी गरेको अभिब्यक्तिले बजारमा असर नगर्ने भए केही सामाजिक सञ्जालमा ब्रोकरले आफ्नो भाषा प्रयोग गर्न सक्छन् । कोही लगानकर्ता ट्रेडर छन् उनीहरुले बजार घटाउन विभिन्न हतियार प्रयोग गरेका छन् । यस्तै कुराले गर्दा बजारको मास साइकोलोजी कमजोर बनेको छ । सेयर बजारको मास साइकोलोजी सबैभन्दा महत्वपूर्ण हो । बजार सेन्सेटिभ हो । लगानीकर्ताको मनोबल कमजोर भएकाले खराब समाचार चाहीँ एकदम छिटो मनस्थितिमा हिट गर्छ । ब्याजदरको कुराले पनि सबैभन्दा छिटो हिट गरेको हो । हामीले १२/१४ वर्षदेखि ब्रोकरको लाइसेन्स खुलाउनुपर्ने माग गर्दै आएका थियौं । त्यो कार्यान्वयनमा आइसकेको छ । हामीले नयाँ स्टक ल्याउनुपर्छ भनेर माग गरेका थियौं । हामीले सिआश्वा शुल्क घटाउनुपर्ने लगायतका मागहरु राखेका थियौं । ती सबै कुराहरु पुरा हुँदै गएका छन् । यस्तै, दशैंतिहारपछि ब्रोकर, सिडिएस, नेप्से, सेबोन लगायतको कमिशन घटाउने पनि भनेको छ । हाम्रा राम्रा मागहरु पुरा भइरहेका छन् । अहिले लगानीकर्ता आत्तिनुपर्ने अवस्था नै छैन । तर मास साइकोलोजी वीक भएपछि अलिकति गाह्रो भएको हो । यस्तो अवस्थामा सकारात्मक कुरा आएपनि लगानीकर्तालाई त्यति छिटो असर गर्दैन । तर नेगेटिभ कुराहरु आयो भने एकैपल्ट त्रसित हुने देखिएको छ । अहिले त्रसित वातावरणको अवस्था छ । त्यसकारण बजार घटेको हो । तर म बजार देख्ने कारण देख्दिन । १३ महिनामा निरन्तर १३ सय अंकले बजार घटेको छ । यो भनेको धेरै ठूलो घटाइ हो । जुन नहुनुपर्न थियो । आजको सेयर बजारमा ३ सय रुपैयाँमा सेयर किनेको छ भने करिब त्यसमा ६० रुपैयाँ ब्याजको पैसा छ । केहीकेही ब्यक्तिहरुले त्यो पैसा तिरिसक्यो । ३ सय रुपैयाँको सेयर किन्दा कष्ट ६० रुपैयाँ हो भने २४० रुपैयाँ वास्तविक हो नी त । १३ महिनाको त ब्याज तिरिसक्यो त्यहाँ । दशैं तिहार लगत्तै बोनस सेयर वितरण गर्ने समय हो । अब पाकेको रोटी खाने समय हो । बालिनाली भित्र्याउने समयमा सेयर बिक्री गर्नु भनेको घाटा हुन्छ । सेयर कारोबार घटेर ७०/८० करोड रुपैयाँमा झरेको छ । यसअघि १८ सयको इण्डेक्सबाट ११ सयको इण्डेक्समा झर्दा धेरैले त्यो बेलामा ९ सयमा झथ्र्याे भनेको थिए । तर ९ सयमा झरेन त्यो बेलामा । त्योबेला लगानीकर्ताले सेयर बिक्री गर्न मानेन् । त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुने गरेको थियो । त्यसपछि विस्तारै बजार बढ्न थाल्यो । अहिलेको अवस्था पनि त्यहि देखिरहेको छु । अहिले सेयर लगानीकर्ता बिक्री गर्न मानिरहेका छैनन् । बजारमा नयाँ लगानीकर्ता धेरै भएकाले उनीहरु आत्तिएका छन् । अहिले जसलाई जरुरी उनीहरुले बिक्री गरिरहेका छन् । नयाँ लगानीकर्ताका लागि सेयर शिक्षाको कमी छ । ५४ लाख डिम्याट खाता खोल्ने पुगिसकेका छन् । अनलाई टिएमस लिने १३ लाख बढी पुगेका छन् । यसअघि आईपीओमा २७ लाखले आईपीओमा आवेदन दिएपनि अहिले । धेरै लगानीकर्ता शिक्षित छैनन् । उनीहरुलाई सेयर शिक्षा पुगेको छैन् । त्यसैले उनीहरु आत्तिने र मात्तिने गरेका छन् । हरियो वा पोजेटिभ सर्किट लाग्यो भने किन्न जान्छन् । अनि नेगेटिभ सर्किट लागेर बजार घट्दै गयो भने झन् आत्तिएर बिक्री गरेर आत्तिन्छन् । विदेशमा रातो भयो भने किन्छन् हरियो भने बिक्री गर्छन् । वारेन वफेटले लगानी गर्दा हरियोमा भन्दा रातोमा बढी रमाइलो गर्नुपर्छ भनेका छन् । रातो भएका बेलामा लगानी गर्ने समय हो । हरियोमा बिक्री गरेर रमाइलो गर्ने हो । तर यहाँ रातो भयो भने सबैभन्दा बढी बिक्री गर्न हतार गर्छन् । अहिले किन्नु पर्ने बेला हो । अहिले रिस्क १५/२० प्रतिशत छ भने अवसर ७५/८० प्रतिशत छ । यसकारण अहिले लगानी गर्ने समय हो । वारेन बफेटले दीर्घकालका लागि लगानी गर्दा प्रतिफलमा धेरै हुन सक्छ भनेका छन् । ३२ सय विन्दुमा सेयर बजार हुँदा लगानी गरेको छ भने यो व्यवस्था लागू गर्ने हो भने केही फाइदा हुँदैन । यदि १८ सयमा बजार मूल्य हेर्ने हो भने यो सिस्टम पनि लागू भयो । अहिलेको सेयर बजारमा वारेन बफेटको दुईवटा सिद्धान्त नै लागू हुन्छन् । यसकारण अहिले लगानी गर्ने समय हो । अवसर पनि धेरै छ । सेयर बजारमा सधैं रिस्क भएपनि अहिले १५/२० प्रतिशत मात्रै छ भने अवसर ७५/८० प्रतिशत छ । वारेन बफेटले सबै डराएको समयमा सेयर किन्नुपर्छ भनेका छन् । राम्रो सेयर लगानीकर्ताहरु जोसँग पैसा छ उनीहरुले सेयर बिक्री गरिरहेका छैनन् । पैसा हुनेहरुले अहिले सेयर खरिद गरिरहेका छन् । अहिले आत्तिने र डराउनेहरुले सेयर बिक्री गरिरहेका छन् । अहिले बैंकको लोन लिएर सेयर किन्ने समय होइन । बैंकहरुले पनि यति महँगो ब्याजदरमा कर्जा दिनु हुँदैन । आफ्नो पैसा बचत छ भने लगानी गर्ने हो । बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भएका बेलामा ब्याज खाने किन सेयर किन्ने भन्ने पनि हुन सक्छ । तर उद्यमी ब्यापारीहरुले ब्याजको पैसा खानेभन्दा पनि ब्यापार उद्यम गरेर पनि खान्छन् । ब्याजदर उच्च केही समयको लागि मात्रै हो । बजार बढ्ने नै हो, सधैं घट्दैन । बजार बढ्नुपर्छ । अहिले लगानीकर्ताले १३ महिनाको ब्याज तिरिसकेको, बोनस सेयर वितरण गर्ने समय, १३ महिनामा १३ सय अंक घटेको लगायतका सबै कुराहरुलाई राम्रो गरी बुद्धि पुर्याउने हो भने सेयर किनेर राख्ने हो । बोनस सेयर वितरण गर्छ, बजार पनि बढ्छ अनि बहुआयामीक रुपमा लगानीकर्तालाई फाइदा हुन्छ । २/३ वर्षमा डबल त्रिबल फाइदा हुन बेर लाग्दैन । तर, बैंक तथा वित्तीय संस्थामा राख्यो भने त्यो हुँदैन । बैंकबाट १२/१५ प्रतिशभन्दा बढी ब्याज पाइँदैन । त्यहि पनि उच्च ब्याज दिने भनेको रेमिट्यान्स खातामा मात्रै हो । नेपाल बैंकर्स एसोशिएसनले तोडेको भद्र सहमति पुनः भद्र सहमति गर्छन् । किनभने यसले बजारमा आतंक मच्चाएको छ । बैंकर्सहरुले पनि सर्भिस दिएर कमाउने हो । यसरी लुटेर मनपरी गरेर हुँदैन । बैंकहरुले एनपीए/एनपीएल बढाएर राष्ट्र बैंकले कारवाही गर्दा कर्जा लिने लगानीकर्तालाइ समस्यामा पार्ने काम गर्नु हुँदैन । अहिले वेट एण्ड वाच गरेर बजार स्थिर भइसकेपछि सेयर खरिद गर्ने हो । केही दिन अघिसम्म बजार स्थिर भइसकेको अवस्था थियो । दुईचार विन्दु घट्नेबढ्ने भइरहेको थियो । त्यसपछि विस्तारै दुई दिन राम्रोसँग बढ्यो । बजार स्थिर हुन खोजिरहेको छ । बजार बढ्दा ट्रेडर्स पनि प्रवेश गरेका थिए । बैंकर्सहरुले पनि असोजसम्म हामी ब्याजदर बढाउँदैनौ भनेका थिए । तर अचानक यो भद्र सहमति तोड्दाखेरि बजार घटेको हो । यो निर्णय फिर्ता लिनै पर्छ । नेपाल बैंकर्स एशोसियसन, राष्ट्र बैंक, अर्थ मन्त्रालय लगायत सबैले हातेमालो गरेर २ कदम अघि बढ्नुपर्छ । यत्रो महँगो ब्याज लिँदा खेरि अन्ततः यसको फायर ब्याक बैंकलाई नै हुन्छ । एनपीएल धेरै नै बढ्छ । कर्जा लिनेहरुले महँगो ब्याज तिरेपछि उसले आफ्नो उद्योगधन्दा चलाउन सक्दैन । ब्याजदर नि तिर्न नसक्दा कम्पनी पनि डुब्छ । बैंकको एनपीएल बढ्ने भएपछि बैंक पनि यस कुरामा सावधान हुनुपर्छ । ब्याजदर बढायो भने बैंकलाई दूरगामी परिणाम हुन्छ । छोटो समयमा नाफा होला तर दीर्घकालमा बैंकलाई नै ब्याक फायर हुन्छ । बैंकहरुको सिडी रेसियो ८८ प्रतिशतको हाराहारीमा छ । ४/१२ को नीतिमा राष्ट्र बैंकले १२ सम्म दिने भनेको छ । अहिले कतिपय बैंकले पैसा लिन आउ भनरिहेका छन् । बैंकमा पैसा प्रयाप्त भएकाले लगानीकर्ताले सेयर धितो कर्जा पाइरहेका छन् । अहिले ब्याज मात्रै बढाएका हुन् । १ सय खर्बको हाराहारीमा बैंकले सेयर धितो कर्जा ब्याजदर बढ्दा घटेर ६०/७० अर्बको हाराहारीमा झरेको छ । बजार घटिरहेको बेलामा मार्जिन कल आइरहेको हुन्छ । १८ सय विन्दुमा झरेर माथि गइसकेपछि मार्जिन कल कम आएको थियो । बैंकहरुले सानोतिनो मार्जिन कल गर्नु हुँदैन भनेर बुझ्नुपर्ने हुन्छ । यस्तो बेलामा लगानीकर्तालाई चारैतिरबाट घेरबन्दी हुँदा गाह्रो हुन्छ । सानोतिनो कर्जामा हामी मार्जिन कल गर्दैनौ भनेर बैंसर्कहरुले भनिरहेका छन् । अहिले धेरै ठूला-ठूला कर्जा धेरैले तिरिसके । अहिले लगानीकर्ताका राम्रो अवसर आएको छ । अब बजार यो भन्दा कम घट्दैन । अब बजार धेरै घट्ने ठाउँ पनि छैन । बजारको यथावत स्थिति सधैं रहँदैन । रेमिट्यान्स बढिरहेको छ, चुनावी खर्च आइरहेको छ, राष्ट्र बैंकले पनि बैंकहरुलाई यसरी काम गर्न दिँदैन । बैंकको असहमति भयो भन्दैमा यस्तो निर्दयीतरिकाले हिन्दैन । पहिला पनि भद्र सहमति तोडेर फेरि मिलेकै हो । सेयर बजारमा गैरआवासिय नेपाली पनि भित्र्याउने र विदेशमा जाने नेपालीहरुले आईपीओमा १० प्रतिशत आरक्षण पाउँदा लगानी बढ्छ । (नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष रौनियासँग सीआर भण्डारीले गरेको कुराकानीमा आधारित )
चौतर्फी दबावमा सेयर लगानीकर्ता, ब्याजदेखि मार्जिन कलसम्मको तनाब
काठमाडौं । पछिल्लो समय सेयर बजार निरन्तर घटिरहेको बेला सेयर लगानीकर्ताले समस्यामा परेको गुनासो गर्न थालेका छन् । गत वर्ष उच्च बिन्दुमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको सेयर बजार अहिले भने निरन्तर ओरालो लाग्दा विभिन्न दबाव खेप्नु परेको गुनासो लगानीकर्ताले गरेका हुन् । सेयर बजार घट्दा सेयर मूल्य पनि घटेर ठूलो घाटा ब्यहोरेका लगानीकर्ता पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा झनै समस्यामा परेको बताएका छन् ३२ सय बढीको विन्दुबाट करिब दोब्बर अंकले घटेको नेपाल स्कट एक्सचेञ्ज (नेप्से) परिसूचक हाल १८ सयको विन्दुमा कारोबार भइरहेको छ । यसरी ओरालो लागेको सेयर बजारबाट ग्रसित भएका लगानीकर्ता बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा झनै समस्यामा परेका हुन् । यस्तै, बैंक तथा वित्तीय संस्थाको ब्याजदर वृद्धिका कारण नै सेयर बजार घटेको लगानीकर्ताहरु बताउँछन् । उच्च सेयर मूल्य भएका बेला खरिद गरेको सेयर यति बेला ठूलो रकमले घटेको छ । यही बेलामा बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा अर्काे दबाव आइपरेको सेयर लगानीकर्ताहरु बताइरहेका छन् । एकातिर सेयर मूल्य घटेर तनावमा रहेका लगानीकर्ता झनै त्यसमा ब्याजदर बढ्दा अर्काे तनाव खेप्नु परेको उनीहरुको गुनासो छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा केही लगानीकर्ता घाटामा भएपनि सेयर बिक्री गरेर बैंकको निक्षेपमा राखेर ब्याज खाने अवस्थामा पुगेका छन् भने केही लगानीकर्तालाई सेयर धितो कर्जामा लागत बढ्दा अर्काे तनाव खेप्नु परेको बताउँछन् । यता बैंक तथा वित्तीय संस्थाले तरलता अभाव कायम रहेकाले नै ब्याजदर बढाएर निक्षेप भित्र्याउन खोजिरहेको देखिन्छ । जसले गर्दा सेयर बजारमा नकारात्मक प्रभाव पार्दा प्रत्यक्ष मारमा लगानीकर्ता परेका हुन् । यस्तै, सेयर बजार निरन्तर ओरालो लाग्न थालेपछि सेयर धितो कर्जा लिएका लगानीकर्तालाई बैंक तथा वित्तीय संस्थाहरुले दैनिक ‘मार्जिन कल’ गरेर सताउने गरेको गुनासो लगानीकर्ताले गरेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एक वर्षअघि २०७८ असार १ गते दोस्रो बजारमा कारोबार भइरहेका ५१ वटा सूचीकृत कम्पनी जोखिमयुक्त भनेर सार्वजनिक गर्याे । त्यो बेलामा बोर्डले लगानीकर्ताको पक्षमा काम गर्नको लागि गरिएको अध्ययनका क्रममा ५१ वटा कम्पनी जोखिमयुक्त देखिएको बताएको थियो । जसले सेयर लगानीकर्ताको मनोबलमा ठूलो प्रभाव पारेको थियो । आफूले लगानी गरेको कम्पनीलाई नियामक निकायले नै जोखिमयुक्त भनेर सार्वजनिक गर्दा लगानीकर्तामा ठूलो दबाव परेको थियो । यस्तै, नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८÷०७९ को मौद्रिक नीतिमा सेयरधितो राखेर एउटै व्यक्तिले एउटा बैंकबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँमात्रै कर्जा लिन पाउने व्यवस्था गरेको थियो । जसको नकारात्मक प्रभाव लगानीकर्तालाई अहिलेसम्म पनि छोड्न सकिरहेको छैन । ऐतिहासिक रेकर्ड बनाइहेको सेयर बजार घटाउन सोही व्यवस्थाले ठूलो भूमिका खेलेको लगानीकर्ताहरु बताउँदै आएका छन् । लगानीकर्ता राधा पोखरेल बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा लगानीकर्ताहरु दबावमा परेको बताउँछिन् । ब्याजदर बढ्दा कर्जाको लागत पनि बढेकाले लगानीकर्ता ठूलो दबावमा परेको उनको भनाइ छ । उनका अनुसार एकल अंक ब्याजदर हुँदा लिएको कर्जाको ब्याजदर दोब्बर हुँदा लगानीकर्तालाई ठूलो समस्या परेको छ । उनले बैंक तथा वित्तीय संस्थाबाट लगानीकर्ताले सहज रुपमा सेयर धितो कर्जा पाउन पनि समस्या रहेको बताइन् । ‘अहिले सहज रुपमा सेयर धितो कर्जा पाउँदैन, बैंक तथा वित्तीय संस्थाले अलि–अलि पैसा दिन्छ, लगानीकर्ताले माग गरेजति कर्जा दिँदैनन्,’ उनले भनिन्, ‘कर्जाको लागत बढ्दा सेयर बजार घटिरहेको छ, ६÷७ प्रतिशत ब्याजदर हुँदा लिएको सेयर धितो कर्जा ब्याज १५ प्रतिशतसम्म पुगेको छ, यसले गर्दा लगानीकर्तालाई प्रत्यक्ष मार परेको छ ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा सेयर बजारमा नकारात्मक प्रभाव परेको उनको भनाइ छ । सेयर बजार सामान्य घट्दा पनि मार्जिन कल आउँदा लगानीकर्ता दबावमा पर्ने गरेको उनले बताइन् । सेयर धितो कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँदा लगानीकर्ता पीडित हुनु परेको उनको भनाइ छ । ‘सेयर बजार घटेको बेलामा मार्जिन कल धेरै आउँछ, बजार अलिकति घट्ने बित्तिकै दैनिक २÷३ पटक फोन गरेर दबाव दिन्छन्, बैंक तथा वित्तीय संस्थाको कारण लगानीकर्ता धेरै पीडित हुनु परेको छ, बैंकले ब्याजदर बढी लिए पनि सहज रुपमा कर्जा पाउन सकिरहेको छैनन्, बैंकहरुमा पैसा नै छैन भन्छन्,’ लगानीकर्ता पोखरेलले भनिन्, ‘पछिल्ला केही दिनमा केही सहज भएको जस्तो महसुस भएको थियो तर बैंकको ब्याजदर खुकुलो गर्ने निर्णयले नै तरलता अभाव नै छ भन्ने बुझिन्छ, यसले झनै समस्यामा पारेको छ ।’ तर, यस पटकको सेयर बजारबाट भने लगानीकर्ता पोखरेलले राम्रो शिक्षा पाएको बताइन् । सेयर बजारमा लगानी गरेर मात्रै भर नपर्नुपर्ने उनको धारणा छ । बैंक तथा वित्तीय संस्थाले ब्याजदर बढाउँदा नराम्रो प्रभाव पारेको उनले बताईन् । ‘सेयर बजारमा यसपटक मैले राम्रो शिक्षा पाएकी छु, सबै काम छोडेर सेयर बजारमा मात्रै डिपेन्डेन्ड हुनुहुन्न भन्ने ज्ञान पाएकी छु, लगानीकर्तालाई पनि यही आग्रह गर्छु, सेयर बजार सँगसँगै अन्य प्रोफेसनपनि बढाउनुपर्दाे रहेछ,’ उनले भनिन् । लगानीकर्ता दिपेन्द्र अग्रवाललेराष्ट्र बैंकले तोकेको सीमाभित्र रहेर सेयर धितोकर्जा पाएपनि लागत भने उच्च तिर्नु परेको बताए । हाल १६ प्रतिशत लागतमा कर्जा लिनु परेको उनको भनाइ छ । सेयर धितोको लागत बढेको कारण सेयर बजार घटेको उनको भनाइ छ । ‘लगानीकर्ताले राष्ट्र बैंकको सीमाभित्र रहेर सेयर धितो कर्जा पाइरहेका छन् तर कर्जामा १५÷१६ प्रतिशत लागत लाग्ने गरेको छ, कर्जाको लागत बढेको हुँदा सेयर बजार घटेको हो,’ उनले भने, ‘मार्जिन कल खासै नहुन सक्छ, १८५० भन्दा तल नझर्दासम्म मार्जिन कल आउँदैन, अन्य क्षेत्र हेर्ने हो भने सेयर बजार सेक्टर सुगम छ, अन्य सेक्टर टाट पल्टिने अवस्थामा छन्, यस्तो अवस्थामा सबैभन्दा राम्रो भनेको लगानी गर्न सेयर बजार नै हो ।’ बैंक तथा वित्तीय संस्थाको ब्याजदर बढ्दा पनि सेयर बजार बढ्ने गरेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर खुकुलो गर्ने निर्णयले कर्जा बढी गएको क्षेत्रका लागनीकर्तालाई बढी असर गर्ने उनले बताए । सेयर धितो कर्जाका आधारमा मात्रै लगानीकर्ता सेयरमा लगानी गर्छन भन्ने अवस्थाको अन्तय भएको उनले बताए । ‘जतिजति ब्याज बढ्छ उती नै सेयर बजार बढ्ने अवस्थामा आइसकेको छ, आगामी दिनमा बजारको यात्रा रम्रो हुने देखिन्छ, ब्याजदर खुकुलो पार्ने बैंकहरुको निर्णले जुन क्षेत्रमा बढी कर्जा छ उनीहरुलाई असर पर्छ, सेयर बजारमा जम्मा ७० अर्ब बराबरको कर्जा छ,’ लगानीकर्ता अग्रावालले भने, ‘सेयर धितो कर्जा घट्दा बजारमा चाम छैन भन्ने बुझिन्छ, ब्याजदर महँगो भयो भन्दैमा भोलिका दिनमा कर्जाका आधारमा मात्रै नभएर नगद बाट मात्रै बजार चल्न सक्छ ।’ लगानीकर्ता विष्णु अग्रवाल लगानीकर्ता चौतर्फी दबावमा परेको कुरा घटेको सेयर बजारले प्रष्ट देखाएको बताउँछन् । लगानीकर्ताको मनोबलमा नकारात्मक प्रभाव परेकाले बजार धेरै तल झरेकाले अब बजार नघट्ने उनको आश्वासन छ । अहिले यी सबै त्रासहरु सिमित अवधिका लागि मात्र रहेकाले छिट्टै उकालो यात्रा गर्ने उनको धारणा छ । उनले अहिले लगानीकर्ता चौतर्फी रुपमा दबावमा परेको उनी बताए । ‘बजार जुन तरिकाले तल झरिरहेको छ, त्यसको प्रभाव त्यहि नै हो, नेगेटिभ सेन्टिमेन्ट सिर्जना गर्न सफल भएको छ,’ उनले भने । बैंकहरुले आफ्नो क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेको उनले बताए । तर, ब्याजदर बढेको हुँदा लागत पनि उच्च रहेको हुँदा लगानीकर्ता मर्कामा परेको उनको भनाइ छ । ‘बैंकको क्षमता अनुसार सेयर धितो कर्जा प्रवाह गरिरहेका छन्, बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो)ले हिट गरेको छ भने त्यो बैंकबाट कर्जा पाउने अवस्था छैन, कर्जा दिएपनि अहिले ब्याजदर बढी भएकाले लागत बढी छ,’ उनले भने, ‘सेयर बजार घट्दा मार्जिन कल गर्ने गरेको छन्, अहिले पनि मार्जिन कल आइरहेको छ, यसअघि मार्जिन कल गर्दा बजार सम्हालियो भनेका थिए तर अहिले सेयर बजार घटेको हुँदा फेरि मार्जिन कल आउन सक्छ ।’ लगानीकर्ता छोटेलाल रौनियार बैंकहरुका कारण लगानीकर्ता पीडित बन्नु परेको बताउँछन् । बजार घटिरहेको बेलामा ब्याजदर बढाउँदा झनै दबावमा पारेको उनको भनाइ छ । लगानीकर्ताको मानोविज्ञान अनुसार बजारमा धारणा राख्नुपर्ने उनको भनाइ छ । लगानीकर्तालाई हतोत्साहित गर्न नियामक निकायदेखि सार्वजनिक ब्यक्तिहरुले बजारलाई हिट गर्ने किसिमका गतिविधि गर्दा लगानीकर्ताको मनोबल घट्ने गरेको उनले बताए । ‘नेपाल बैंकर्स एसोशिएसनले ब्याजदरमा भद्र सहमति तोडेको दिनदेखि पूँजी बजार घटिरहेको छ, बैंकहरुले लगानीकर्ताको मास साइकोलोजी बुझ्न जरुरी हुन्छ, एक वर्षअघि ३२ सय परिसूचक हुँदा लगानीकर्ताको आम मनोविज्ञान बुलिस थियो,’ उनले भने, ‘त्यसपछि नियामक नेपाल धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनीको सूचीहरु सार्वजनिक गर्याे, राष्ट्र बैंकको मौद्रिक नीतिमा सेयरधितो कर्जामा ४÷१२ करोडको सीमा तोक्यो, अर्थमन्त्रालयले यस्तै प्रकारका सार्वजनिक बक्तव्य बोलिरह्यो, योजना आयोग, गभर्नर, पूर्व गभर्नर लगायत जिम्मेवार ब्यक्तिहरुले बजारप्रति नकारात्मक टिप्पणी गर्दा लगानीकर्ताको मनोविज्ञान कमजोर बन्यो, १३ महिनादेखि बजार घटिरहेकाले लगानीकर्ता डराएका छन् ।’
आइतबारको सेयर बजारमा यी १० कम्पनीको सेयर मूल्य सर्वाधिक बढ्यो
काठमाडौं । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंकमा बन्द भएको हो । शुक्रबारको तुलनामा १.७८ प्रतिशत घटेको हो । यस्तै, आज दिनभरिमा २२९ कम्पनीको ६२ लाख ९६ हजार ४४५ कित्ता सेयर २७ हजार ७९० पटक खरिद बिक्री हुँदा १ अर्ब ६० करोड १८ लाख २२ हजार ९५४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आइतबार सेयर बजार घटेपनि ग्लोबल आइएमई समुन्नत स्किम–१ को सेयर मूल्य ५.४५ प्रतिशत अर्थात् ०.४५ रुपैयाँ बढेर ८.८६ रुपैयाँ, नेपाल ल्यूव आयलको ४ प्रतिशत अर्थात् १०.५० रुपैयाँ बढेर २७३.३० रुपैयाँ, लक्ष्मी बैंकको ३.६६ प्रतिशत अर्थात् ७ रुपैयाँ बढेर १९८ रुपैयाँ, आदर्श लघुवित्तको १.९७ प्रतिशत अर्थात् ५.८० रुपैयाँ बढेर ३००.४० रुपैयाँ, एनआईसी एशिया ब्यालेन्स्ड फण्डको १.९७ प्रतिशत अर्थात् ०.२१ रुपैयाँ बढेर १०.८९ रुपैयाँ पुगेको छ । यस्तै, वीन नेपाल लघुवित्तको १.९६ प्रतिशत अर्थात् १८ रुपैयाँ बढेर ९३७ रुपैयाँ, शिवश्री हाइड्रोको १.४६ प्रतिशत अर्थात् २.९० रुपैयाँ बढेर २०१.९० रुपैयाँ, सानिमा लार्ज क्याप फण्डको सेयर मूल्य १.३३ प्रतिशत अर्थात् ०.१० रुपैयाँ बढेर ७.६० रुपैयाँ, १० प्रतिशत प्राइम डिवेञ्चर २०८८ को सेयर मूलय १.२० प्रतिशत अर्थात् ९.८० रुपैयाँ बढेर ८२५ रुपैयाँ र मानुषी लघुवित्तको १ प्रतिशत अर्थात् ११ रुपैयाँ बढेर १ हजार ११५ रुपैयाँ पुगेको छ ।