कुमारी क्यापिटलले कानून व्यवसायीलाई दियो लगानीकर्ता सचेतना कार्यक्रम

काठमाडौं । कुमारी क्यापिटलले उच्च अदालत बार एसोसिएसन, पाटनसँगको सहकार्यमा कानून व्यवसायीहरूका लागि लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा आफ्नो इक्विटी पोर्टफोलियो कसरी व्यवस्थापन गर्न सकिन्छ र सेयर बजारबाट कसरी सम्पत्ति निर्माण गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइएको थियो । सो कार्यक्रममा कुमारी क्यापिटलका इन्भेष्टमेण्ट बैंकिङ बिभागबाट ममिन शाक्य, सौगात पन्त र विभव बस्यालले सेयर बजारमा किन लगानी गर्ने, सेयर बजारलाई असर गर्ने कारक तत्व के के हुन र आफ्नो लगानी व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा ५० भन्दा बढी वकिलहरु र उच्च अदालत बार एसोसिएसन, पाटनका वर्तमान कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा वकिलहरुले सक्रिय रुपमा सहभागिता जनाउँदै शेयर बजारमा लगानी सम्बन्धी आफ्ना सबै जिज्ञासा राखेका थिए ।

१८१५ बिन्दुमा झर्यो नेप्से, लक्ष्मीको सर्वाधिक कारोबार, अभियानमा लाग्यो सकारात्मक सर्किट

काठमाडौं । निरन्तर घटिरहेको नेप्से परिसूचक १८१५ बिन्दुभन्दा तल झरेको छ । आइतबारको बजारमा परिसूचक २३.८३ अंकले घटेर १८१५.१३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.३० प्रतिशतले घटी हो । बजारमा कारोबार रकम भने बढेको छ । गत बिहीबारको तुलनामा आइतबारको कारोबार बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । जबकी बिहीबारको कूल कारोबार ६५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो । कारोबारमा आएका कम्पनीमध्ये लक्ष्मी बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २६ करोड २ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा नबिल बैंक रहेको छ । आइतबार नबिलको ४ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । बजारमा लक्ष्मी बैंकको सेयर मूल्य बढेको छ भने नबिल बैंकको घटेको छ । लक्ष्मीको ५ रुपैयाँले बढेर प्रतिकित्ता १९३ रुपैयाँ र नबिलको ६.१० रुपैयाँले घटेर प्रतिकित्ता ७५२ रुपैयाँमा किनबेच भएको छ । घटेको बजारमा पनि अभियान लघुवित्तको भने सेयर मूल्य १० प्रतिशतले बढेको छ । दोश्रो बजारमा पहिलो कारोबार भएको दिन लघुवित्तको सेयरमा सर्किट लागेर प्रतिकित्ता ३४७.६० रुपैयाँ पुगेको छ । जुन सुरुवाती मूल्यको तुलनामा प्रतिकित्ता ३१.६० रुपैयाँले बढी हो । आइतबार तेह्रथुम पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले घटेको छ । कम्पनीको सेयर मूल्य ७.९० प्रतिशतले घटेर प्रतिकित्ता ३५२ रुपैयाँमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ३०.२० रुपैयाँले घटी हो । यता कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् । जसमध्ये उत्पादनमूलक समूह सबैभन्दा बढी अर्थात ८४.४ अंकले ओरालो लागेको छ ।

निफ्रा बैंकको सेयर मूल्य हालसम्म कै सस्तो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंकको सेयर मूल्य निरन्तर ओरालो लाग्दै आएको छ । बैंकको सेयर मूल्य हालसम्म कै सस्तो भएको हो । पूँजी बजार निरन्तर ओरलो लागेसँगै बैंकको सेयरको भाउ पनि हालसम्म कै सस्तो मूल्यमा झरेको हो । आइतबार १.१० बजेसम्मको सेयर कारोबारमा बैंकको सेयर मूल्य ६.९१ प्रतिशत अर्थात् प्रतिकित्ता १३.८० रुपैयाँ घटेर १८६ रुपैयाँमा कारोबार भइरहेको छ । बैंकको १ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भइरहेको छ । बैंकको सेयर २०७७ फागुन २ गतेदेखि दोस्रो बजारमा कारोबारमा आएको थियो । प्रतिकित्ता ३४० रुपैयाँमा पहिलो कारोबार भएको बैंकको सेयर मूल्य अधिकतम प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकको सेयर मूल्य निरन्तर घट्दै सस्तो मूल्यमा झरेको हो । बैंकले मात्र गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७८÷०७९ को नाफाबाट चुक्ता पूँजीको ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । यसअघि बैंकले आव २०७७÷०७८ मा सेयरधनीलाई ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेको थियो । बैंकको संस्थापक समूहको १२ करोड ९६ लाख कित्ता सेयर र सर्वसाधारण समूहको ८ करोड ६४ लाख कित्ता सेयर स्वामित्व रहेको छ । बैंकको सेयर मूलय सुरुवातमा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेपनि हाल भने न्यूनतम मूल्यमा पुगेको हो । बैंकको सेयर मूल्य सस्तो भएकाले खरिद गर्नको संख्या पनि बढी रहेको छ । पछिल्लो विवरण अनुसार १ लाख २२ हजार ८१८ कित्ता खरिद गर्ने रहेका छन् भने १२ लाख ४५४ कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । बैंकको आम्दानीको मुख्य स्रोत भनेको संकलन गरेको निक्षेपको ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर हो ।