‘बैंक, बीमा र टेलिकमलाई लाइसेन्स दिएजस्तो होइन नेप्से’

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बैंक, बीमा, टेलिकम जस्ता व्यावसायिक संस्था नभएको बताइएको छ । नेप्से कर्मचारी संघले एक प्रतिवेदन जारी गर्दै स्टक एक्सचेञ्ज भनेको अन्य संस्था र कम्पनी भन्दा फरक संस्था भएको स्पष्ट पारेको हो । ‘एउटा बैंक, वित्तीय संस्था, बीमा, टेलिकम कम्पनीलाई लाइसेन्स दिए जस्तो केहि सिमित व्यापारीको हातमा पर्न दिन हुँदैन, नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा छैन,’ संघले जारी गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । स्टक एक्सचेञ्ज विशुद्ध बजार सञ्चालन मात्रै होईन यो नियमनकारी निकाय पनि एक फ्रन्टलाइन रेगुलेटर बढी भएको संघले जनाएको छ । स्टक एक्सचेञ्जहरुले लगानीकर्ताको हक सुनिश्चित गर्ने गरी सूचीकृत कम्पनीहरुको निगरानी गरिरहेका हुन्छन् । ब्रोकरहरुको नियमन, अनुगमन, सुपरिवेक्षण गरेका हुन्छन् । नियमनकारी तत्वकै कारण संसारभर स्टक एक्सचेञ्जहरुमा प्रतिस्पर्धा हुदैन । यसको साधारण कमी कमजोरीबाट पनि अर्थतन्त्र र बैदेशिक लगानी भित्रनमा नकारात्मक असर पर्ने संघको भनाइ छ ।

साढे ४८ करोडमा खुम्चियो बुधबारको सेयर कारोबार

काठमाडौं । बुधबारको सेयर कारोबार साढे ४८ करोड रुपैयाँमा खुम्चिएको छ । मंगलबार ६६ करोड बढीको कारोबार भएको बजारमा बुधबार भने ४८ करोड ५४ लाख रुपैयाँमा सीमित भएको छ । कारोबार घटेपनि नेप्से परिसूचकमा भने सुधार देखिएको छ । बजारमा परिसूचक ६.४१ अंकले बढेर १८३७.४६ बिन्दुमा पुगेको छ । बुधबार सबैभन्दा बढी नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर कारोबार भएको छ । कम्पनीको एकैदिन ४ करोड ७५ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएका छन् । त्यस्तै, बढी कारोबार हुनेको दोश्रोमा नबिल बैंक रहेको छ । बैंकको एकैदिन २ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा मन्दाकिनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा बढी प्रतिशतले बढेको छ । हाइड्रोको सेयर ९.२० प्रतिशतले बढेर प्रतिकित्ता ३७४ रुपैयाँ पुगेको छ । टप लुजरको अग्रस्थानमा ग्लोबल आईएमई ब्यालेन्स्ड फण्ड १ रहेको छ । जसको इकाई मूल्य १० प्रतिशतले घटेर प्रतिइकाई ९ रुपैयाँमा झरेको छ । बजारमा चार समूह बाहेक सबै समूह हरिया देखिएका छन् । फाइनान्स, म्युचुअल फण्ड, ट्रेडिङ र अन्य समूह राताम्मे देखिएका छन् भने बाँकी समूह हरिया देखिएका छन् । माइक्रोफाइनान्स समूह भने सबैभन्दा बढी अंकले बढेको छ ।

दुई अर्ब बढीको आईपीओ ल्याउँदै तीन कम्पनी, कुनले कति ?

काठमाडौं । बजारमा दुई अर्ब रुपैयाँ बढीको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आउने भएको छ । विभिन्न तीन कम्पनीले दुई अर्ब ११ करोड ७७ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् । आईपीओ निष्काशनको प्रकृया अघि बढाउनेमा मोदी इनर्जी, सोनापुर मिनरल्स एण्ड आयल र मेन्छियम हाइड्रोपावर रहेका छन् । यी तीनले अंकित मूल्य एक सय रुपैयाँ दरका २ करोड ११ लाख ७७ हजार ७५० कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । यी कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर सेयर निष्काशनको प्रकृया अघि बढाएका हुन् । जसमध्ये सबैभन्दा बढी सोनापुर मिनरल्स एण्ड आयलले ल्याउँदै छ । उत्पादनमूलक समूह अन्तर्गतको कम्पनीले १ अर्ब २३ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न लागेको हो । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । त्यस्तै, मोदी इनर्जी पावरले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर जारी गर्दै छ । हाइड्रोपावर समूह अन्तर्गतको यो कम्पनीले सनराइज क्यापिटलमार्फत सो मात्राको सेयर निष्काशन तथा बिक्री गर्ने छ । यससँगै मेन्छियम हाइड्रोले पनि १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता सेयर निष्काशन गर्दै छ । बोर्डको स्वीकृति पाएपछि कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।