नारायणी डेभलपमेन्ट बैंकको २२ हजार ८१४ कित्ता सेयर बिक्रीमा
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले २२ हजार ८१४ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको हो । बैंकले विद्यमान संस्थापक सेयरधनीहरुका नाममा रहेको उक्त सेयर बिक्री गर्ने जनाएको हो । बैंकको उक्त संस्थापक सेयरमा संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन पाउनेछन् । इच्छुक संस्थापक सेयरधनीहरुले ३५ दिन भित्र आवेदन दिन सक्नेछन् । ३५ दिनभित्र सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुबाट निवेदन नआए नियमअनुसार अन्य सर्वसाधारण लगानीकर्ताका लागि लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।
के अब सेयर बजार उकालो लागेको हो ? यस्तो भन्छन् लगानीकर्ता
काठमाडौं । दशैंअघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८५३.७६ अकंमा थियो । तर, दशैंपछिको पहिलो दिन अर्थात् आइतबार ४४.६२ अंक बढेर १८९८.३८ अंकमा बन्द भयो । कारोबार रकम पनि रकम पनि दशैं अघिभन्दा केही बढी नै भएको छ । दशैंपछि खुलेको बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह छाएको छ । दशैं अघिसम्म ओरालो लाग्दै आएको सेयर बजार दशैं पछि भने बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो सयम अर्थतन्त्र चलायमान र सूचकहरु बलियो बन्दै गएपछि सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को रौनक पनि जनतामाझ बढेको हुँदा सेयर बजार आगामी दिनमा बढ्ने सेयर विश्लेषकहरु बताउँछन् । बजारलाई अन्तराष्ट्रिय र राष्ट्रिय घटनाहरुले पनि प्रभाव पार्ने भएकाले विश्व अर्थतन्त्र चलायनमान भइरहेकाले सेयर बजार बढ्ने धारणा उनीहरुको छ । एक जना सेयर विश्लेषकका अनुसार दशैं पछिको सेयर बजार तरलताका आधारमा घटबढ हुन सक्ने बताउँछन् । हाल तरलता सहज भइरहेकाले सेयर बजार पनि माथि जाने उनको बुझाइ छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले दशैं पछि सेयर बजार लो लिक्वीडिटीमा अघि बढ्ने भएकाले कम भोलुममा चलखेल हुन सक्ने बताए । ग्लोबल रेसियो हेर्दा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने किसिमका गतिविधि भइरहेकाले सेयर बजार घट्न सक्ने उनको बुझाइ छ । ‘दशैं पछि माहोल हेर्दा सेयर बजार लो लिक्वीडिटीमा अगाडि बढ्छ, लो लिक्वीडिटीमा अगाडि बढ्दा कारोबार रकम कम हुने भएकाले चलखेल गर्ने सम्भावना बढी हुन्छ, कारोबार रकम तन्केर अघि बढ्छ तर, बजार बढेपछि बुलिसमा गयो भनेर निष्कार्ष निकाल्नु भने हुँदैन,’ उनले भने, ‘ग्लोबल रेसियो हेर्दा लास्ट टाइममा बजारमा प्रभाव परेको थियो, ताइवान र चाइना, रुस र यूक्रेनको युद्ध चलिरहेको छ, अमेरिकाले ताइवानलाई सहयोग गरेका कारण चाइनासँग पनि अमेरिकाको मनमुटाव छ, विश्व गतिविधि हेर्दा विश्व युद्ध नै नहोला भन्न सकिन्न ।’ अबको एक महिनाभित्र सेयर बजार २ हजार माथि जान सक्दैन भने बजारमा गाह्रो अवस्था आउन सक्ने उनको बुझाइ छ । अहिलेको अवस्थामा गाह्रो नपर्दा सम्म सेयर बिक्री नगर्ने सोच लगानीकर्तामा हुनु पर्ने उनले बताए । ‘सेयर बजार १६ सय इण्डेक्समा आएपनि खरिद गर्ने अवसरका रुपमा लिनुपर्छ, ३२ सयबाट धेरै ठूलो अंक तल झरिसकेको छ, २८ सयमा झर्दा बिक्री गर्नै पर्छ भन्ने थियो, गुजारा चलाउन गाह्रो भएको छ भने मात्रै बिक्री गर्ने हो तर बिक्री गर्नुपर्ने जरुरी छैन भने लगानीकर्ताले सेयर होल्ड गरेर बस्नुपर्छ, बजार अझै तल झरेको बेलामा खरिद गर्ने मुडमा हुनुपर्छ,’ उनले भने, ‘ट्रेडरले अहिलेको सिनारियोमा बजार घट्यो भने किन्ने र बजार बढेको छ भने बिक्री गर्नुपर्ने हुन्छ, टे«डरको काम भने बजारमा लिक्वीडिटी प्रोभाइड गर्ने हो ।’ लगानीकर्ता राधा पोखरेल बजारमा तरलता सहज हुँदै गएकाले बढ्ने अपेक्षा गरेको बताउँछिन् । अहिले लाभांश वितरणको सिजन पनि चलिरहेकाले पनि सेयर बजार सकारात्म रुपमा अघि बढ्ने उनको भनाइ छ । ‘बजारमा तरलता सहज अवस्थामा आयो भने सेयर बजार सकारात्मक रुपमा अघि बढ्न सक्छ, अहिले तरलता सहज अवस्थामा नै रहेकाले बढ्ने अपेक्षा छ, लाभांश वितरण गर्न सिजन पनि हो, बैंकहरुले नगद दिइरहेका छन्, यदि बैंकहरुले बोनस सेयर दियो ने सकारात्मक हुन्थ्यो तर बैंकहरुले नगदमा जोड दिएका छन्,’ उनले भने, ‘चुनाव पनि नजिक आइरहेको छ, यी सबै कुराहरु हेर्दा बजार बढ्ने अपेक्षा छ तर तरलता असहज भयो भने बढ्न नसक्न पनि सक्छ ।’ लगानीकर्ता विष्णु अग्रावल बजार अहिलेदेखि नै बढ्ने तर्क गर्छन् । यदि अहिले बजार नबढे मंसिरमा बढ्ने उनको धारणा छ । ब्याजदर किक आउट र तरलता सहज अवस्थामा रहेकाले सेयर बजार बढ्ने उनको अनुमान छ । ‘आइतबार बजार बढ्दा आगामी दिनमा पनि बढ्छ, ब्याजदर पनि किक आउट भइसकेको छ, ब्याजदर योभन्दा माथि बढ्न सक्ने अवस्था छैन, बरु अर्काे महिनादेखि ब्याजदर घट्ने सम्भावना छ, तरलता अभाव पनि पहिला जस्तो चर्काे छैन,’ उनले भने, ‘केही कुरमा तलमाथि भएपछि छुट्टै कुरा हो नत्र बजार बढ्छ, कि अहिलेदेखि बजार बढ्न सुरु गर्छ, होइन भने मंसिरको चुनावपछि बजार बढ्छ नै ।’ अहिले लाभांश सिजन र चुनाव पनि नजिक आइरहेकाले बजार बढ्ने उनको बुझाइ छ । अन्तराष्ट्रि अर्थतन्त्र हेर्दा केही दिनसम्म तल रहेपनि सबै ठिक अवस्थामा आउने उनले बताए ।
‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुग्यो नेप्से परिसूचक, हिमालयन एभरेष्टको सर्वाधिक कारोबार
काठमाडौं । दशैंपछिको सेयर बजारमा उछाल छाएको छ । दशैं बिदापछि खुलेको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक ‘इन्ट्रा डे’ कै उच्च बिन्दुमा पुगेको छ । आइतबार कारोबार खुलेदेखि निरन्तर उकालो लागेको नेप्से परिसूचक दिनभरकै उच्च बिन्दुमा पुगेर बन्द भएको छ । परिसूचक ४४.६२ बिन्दुले उकालो लागेर १८९८.३८ बिन्दुमा अडिएको छ । जुन दिनभरको कारोबारको तुलनामा उच्च हो भने पछिल्लो कारोबारको तुलनामा २.४१ प्रतिशतले बढी हो । दोहोरो अंकले बढेको बजारमा कारोबार भने एक अर्ब पनि हुन सकेन । दिनभरमा २२४ वटा स्क्रिप्सको ८३ करोड ६८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन एभरेष्ट इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २२ करोड ६९ लाख रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ । जसको सेयर मूल्य भने ११.५० रुपैयाँले घटेर प्रतिकित्ता २७९ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यस्तै, बढी कारोबार हुनेको दोश्रो स्थानमा नबिल बैंक छ । बैंकको एकैदिन ३ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने बढेर प्रतिकित्ता ८०७ रुपैयाँ पुगेको छ । बढेको बजारमा दुई लघुवित्तको सेयर सर्किट लेभलमा किनबेच भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य क्रमशः ९.९५ र ९.८४ प्रतिशतले बढेको छ । यससँगै यी कम्पनीको सेयर मूल्य प्रतिकित्ता २३०.९० र ३४६० रुपैयाँ पुगेको छ । बजारमा कारोबारमा आएका सबै समूहमा हरियाली छाएको छ । जसमध्ये जीवन बीमा समूह सबैभन्दा बढी अर्थात १८७.०८ अंकले बढेको छ । आइतबारको बजारमा टप लुजरमा भने अधिकांश म्युचुअल फण्ड रहेका छन् ।