नागरिक लगानी कोषको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नागरिक लगानी कोषको सेयर मूल्य समायोजन भएको छ । कोषको २५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । नेप्सेले प्रतिकित्ता २०९०.४० रुपैयाँ कायम हुने गरी कोषको मूल्य समायोजन गरेको हो । सोमबार कोषको सेयर प्रतिकित्ता २६१३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो । कोषले लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै मंगलबार कोषको कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।
सेयर बजारमा दोहोरो अंकको गिरावट, एकैदिन १७४ कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार सोमबार नेप्से परिसूचक २१.३२ अंकले घटेर २०७५ अंकमा बन्द भएको छ । नेप्से परिसूचक दोहोरो अंकले घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार २०९७ अंकबाट कारोबार सुरुवात भएको थियो । तर, बजार २११३ अंक पुगेर घटेको देखिन्छ । नेप्सेका अनुसार सोमबार ४ अर्ब ५ करोड १० लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेका अनुसार आज २७६ कम्पनीको ९४ लाख १८ हजार ९५२ कित्ता सेयर ६४ हजार ८६८ पटक खरिद बिक्री भएको छ । यसअघि आइतबार ५ अर्ब ८ करोड १९ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । सोमबार सीवाईसी लघुवित्त, बिपीडब्लु लघुवित्त र सिटी होटलको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर १० प्रतिशत मूल्य बढेको छ । यससँगै सीवाईसी लघुवित्तको सेयर मूल्य प्रतिकित्ता १ हजार २८९ रुपैयाँ, बिपीडब्लु लघुवित्तको १ हजार ५५४.८० रुपैयाँ र सिटी होटलको ५०८.९० रुपैयाँ पुगेको नेप्सेले जनाएको छ । सोमबार ४१ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७४ कम्पनीको सेयर मूल्यमा भने गिरावट आएको छ । यस्तै, कारोबारमा आएका १० वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन नभएको नेप्सले बताएको छ । सोमबार हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर कारोबार सर्वाधिक भएको छ । कम्पनीको २३ करोड ९४ लाख ४५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटलको सेयर २० करोड ९४ लाख ३९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेयर बजार राताम्मे, घटेर न्यून बिन्दुमा झर्यो नेप्से परिसूचक
काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक एकैदिन ५३.७० अंकले घटेको छ । कारोबार खुल्दा २१५५.८२ बिन्दुमा रहेको परिसूचक दिनभर ओरालो लागेर २०९७.२९ बिन्दुमा अडिएको छ । जुन दिनभरकै न्यूनतम बिन्दु हो र प्रतिशतको आधारमा भने २.५० प्रतिशतले घटी हो । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । पछिल्लो दिन अर्थात बुधबार ५ अर्ब ९७ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार भने ५ अर्ब ८ करोड रुपैयाँमा सीमित भएको छ । २८६ वटा स्क्रीप्स कारोबारमा आएकोमध्ये हिमालयन लाइफ इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । दिनभरमा इन्स्योरेन्सको ४२ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको र सिटी होटलको सेयर मूल्य क्रमशः १० र ९.९८ प्रतिशतले बढेको छ । आइतबार १८ कम्पनीको सेयर मूल्य बढेको छ भने २०७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन् ।