सेबोनले मार्केट सेक्युरिटिजलाई तिरायो १० लाख जरिवाना
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मार्केट सेक्युरिटिज एक्सचेन्ज प्रालिलाई कारवाही गरेको छ । मार्केट सेक्युरिटिज एक्सचेन्जले सम्पत्ति शुद्धीकरण सम्बन्धी निर्देशन पालना नगरेको भन्दै कारवाही गरेको बोर्डले जनाएको छ । धितोपत्र बोर्डका अनुसार सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी निर्देशन, २०७६ को दफा १८ (१)को व्यवस्थाको परिपालना नगरेको भन्दै मार्केट सेक्युरिटिजलाई कारबाही गरिएको हो । साथै, कम्पनीलाई सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७ फको उपदफा (१) को खण्ड (ख) बमोजिम धितोपत्र बोर्डले कारबाही गर्दै १० लाख रुपैयाँ जरिवाना गरेको हो ।
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो
काठमाडौं । यो साताको सुरुवाती दुई दिन ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज दोहोरो अङ्क बढेको छ । आजको कारोबारमा नेप्से परिसूचक १२ दशमलव ७३ अङ्कले बढेर दुई हजार ८८ दशमलव ७० अङ्कमा कायम भएको हो । आज विभिन्न दुई सय ८२ कम्पनीका ६४ लाख ५० हजार नौ सय ३४ कित्ता शेयर ४६ हजार सात सय ३१ पटक खरिदबिक्री हुँदा दुई अर्ब ५७ करोड ६१ लाख ४० हजार एक सय २८ रुपैयाँ बराबरको कारोबार भएको छ । नेप्से परिसूचकसँगै सबै समूहको उपसूचक पनि हरियो देखिएको छ । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह एक सय ३३ दशमलव ३४ र निर्जीवन बीमा समूह ७८ दशमलव ०७ अङ्कले बढेको छ । बैंकिङ समूह एक दशमलव ०७, विकास बैंक ३१ दशमलव ०५, वित्त ३५ दशमलव ३४, जलविद्युत् तीन दशमलव १६, लगानी शून्य दशमलव ९९ र जीवन बीमा ३० दशमलव ५० अंकले बढेको छ । त्यसैगरी, उत्पादन तथा प्रशोधन ४० दशमलव ०८, लघुवित्त ३० दशमलव २१, म्युचुअल फन्ड शून्य दशमलव ०२, व्यापार १५ दशमलव ८१ र अन्य समूह १५ दशमलव ८१ अङ्कले बढेको छ । सिटी होटल लिमिटेडको सेयर मूल्यमा नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने बिपिडब्लु लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नागरिक लगानी कोषको १२ करोड १७ लाख आठ सय ३० रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यस्तै कारोबार भएका सेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन लाइफ इन्स्योरेन्सको दुई लाख १४ हजार पाँच सय ८३ कित्ता सेयर किनबेच भएको छ ।
प्रभु क्यापिटलले मेडिकल चिकित्सकलाई दियो सेयर बजारमा लगानी सम्बन्धि तालिम
काठमाडौं । प्रभु क्यापिटलद्धारा ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिने सेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा बुधबार सम्पन्न भएको हो । चिकित्सा पेशामा व्यस्तताका कारण चिकित्सकहरुले पनि सेयर बजारमा लगानी गरी अधिकतम लाभ पाउन सकिने मुख्य उद्धेश्यका उक्त कार्यक्रमको आयोजना गरिएको हो । तालिममा प्रशिक्षकका रुपमा प्रभु क्यापिटलका प्रमुख लगानी अधिकृत दुर्गा नन्द झा ले गरेका थिए भने उक्त कार्यक्रममा ३० जना भन्दा बढी चिकित्सकहरुको सहभागी रहेको थियो । व्यस्त समय तथा सेयर बजारसम्बन्धी पर्याप्त ज्ञान नभएको कारण चिकित्सकहरुले प्रभु क्यापिटलको सेयर बजारको सचेतना तथा लगानीका विभिन्न विकल्पहरुको विषयमा भएको यो कार्यक्रम निकै प्रभावकारी भएको चिकित्सकहरुले बताएका थिए । सेयर लगानीमा सचेतना अभिवृद्धिका लागि प्रभु क्यापिटलले सेयरबजारसँग सम्बन्धित विविध वर्कसप तथा तालिम कार्यक्रमहरु समय समयमा सञ्चालन गर्दै आईरहेको छ ।