नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव शून्य छ अङ्कले ओरालो लागेर दुई हजार ४९ दशमलव ३८ मा सीमित भएको छ । ठूला कम्पनीको सेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूच्क शून्य दशमलव ५८ अङ्कले ओरालो लागेर तीन सय ८२ दशमलव १६ सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको सेयर मूल्य उकालो लाग्दा सात उपसमूहको सेयर मूल्यमा गिरावट भएको छ । कूल ९७ लाख ५१ हजार नौ सय ८५ कित्ता सेयर तीन अर्ब सात करोड ७४ लाख ९८ हजार तीन सय १५ रुपैयाँ मूल्यमा खरिदबिक्री भएका छन् । नेप्सेका अनुसार, कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको १८ करोड ५६ लाख ४२ हजार एक सय २१ रुपैयाँ बराबरको कारोबार भएको छ । प्रभु बैंकको संस्थापक सेयर १६ करोड ९७ लाख ५२ हजार छ सय रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्स १५ करोड ३६ लाख ८३ हजार चार सय २८ रुपैयाँ, सिटी होटल १४ करोड ७३ लाख ६१ हजार नौ सय ४५ रुपैयाँ, सोल्टी होटल १० करोड ६९ लाख नौ सय ७९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार, सिटी होटल र रावा इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । माथिल्लो तामाकोशी नौ दशमलव ८५, जोशी हाइड्रोपावर नौ दशमलव ३३, पिपल्स पावरका लगानकर्ताले सात दशमलव ६३ प्रतिशतले कमाएका छन् । यस्तै, मोदी इनर्जीको शेयर मूल्यमा १० प्रतिशतले गिरावट भई नकारात्मक सर्किट लागेको छ । अरुण भ्याली हाइड्रोपावर पाँच दशमलव ६७, सिनर्जी पावर चार दशमलव ६२, बिपीडब्ल्यू लघुवित्त चार दशमलव ४० र कालिका पावर कम्पनीका लगानीकर्ताले तीन दशमलव ९२ प्रतिशतले गुमाएका छन् ।
माण्डु हाईड्रोले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता कति ?
काठमाडौं । माण्डु हाईड्रोपावरले असार २८ गतेदेखि प्रिमियम मूल्यमा आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशीक रोजगारीमा रहेका नेपालीहरुलाई आईपीओ निष्काशन गर्ने भएको हो । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ लाख ३६ हजार ३७७ कित्ता सेयर अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा बिक्री गर्नेछ । कम्पनीले जारी पूँजीको मध्ये २ प्रतिशत अर्थात् २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र ललितपुरको बागमति गाउँपालिका १ र २, मकवानपुरको भिमफेदी गाउँपालिका ५, ६, ७ र ८ र इन्द्रासरोवर गाउँपालिकाको ३ स्थानीय बासिन्दाहरुलाई बिक्री गर्नेछ । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ३६ हजार ३६४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गर्नेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ । यदि आयोजना प्रभावित क्षेत्रका स्थानीयले सो समयमा पूर्ण आवेदन नदिएमा साउन २६ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, प्राइम बैंकको भीमफेदी, हेटौडा शाखा, कुमारी बैंकको बागमती शाखा, प्रभु बैंकको हेटौडा शाखा र आवश्यकता अनुसार अन्य संकलन केन्द्र पनि थप गर्न सकिने कम्पनीले जनाएको छ । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी आईआर त्रिपल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको सक्षम रहेको कम्पनीको रुपमा जनाउँदछ ।
अप्पर लोहोरेको आईपीओ खरिद गर्ने आज अन्तिम दिन, स्थानीयले आवेदन दिने समय लम्बियो
काठमाडौं । अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । असार ७ गतेदेखि बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले आज असार २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुलाई भने आवेदन दिने समय भने थप गरिएको छ । स्थानीय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा साउन ५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पूँजी ५० करोड ९८ लाख ४ हजार रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ९ लाख ८० हजार ४ सय रुपैयाँ बराबरको ५ लाख ९ हजार ८०४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । जसमध्ये ५० प्रतिशत अर्थात् २ लाख ५४ हजार ९०२ कित्ता अति प्रभावित क्षेत्र नौमुले गाँपालिका ३ र ५० प्रतिशत सेयर २ लाख ५४ हजार ९०२ कित्ता दैलेख जिल्ला बासीहरुलाई बिक्री गरेको हो । साथै, सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ करोड ९८ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको १ लाख ९८ हजार ८२४ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई विदेशमा रोजगार गरीरहेका नेपालीहरुलाई बिक्री गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र प्रभु बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालय तथा सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेका मेरो सेयर मार्फत् आवेदन दिन सकिनेछ । केयर रटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।