युनाइटेड अजोड इन्स्योरेन्सको साधारणसभाबाट ४.५१ प्रतिशत लाभांश पारित

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारणसभा भएको छ । सभाले सेयरधनीलाई ४.५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । जसमा बोनस सेयर ४.२८५७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२२५६ नगद लाभांश छन् ।

बुधबार काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित सबै प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको कम्पनीले जनाएको छ ।

साधारणसभाबाट पारित प्रस्तावअनुसार हालको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको ४.२८५७ प्रतिशतका दरले ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस सेयर वितरण गरिनेछ । बोनस सेयर जारी भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२२५६ प्रतिशतका दरले ५२ लाख १० हजार ५२६ रुपैयाँ ३२ पैसा नगद लाभांश पनि वितरण गरिने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार २०८३ जेठ मसान्तसम्म प्रधान कार्यालय, प्रदेश कार्यालय, शाखा तथा उपशाखा र तेस्रो पक्ष बीमा काउन्टरसहित देशभर १०४ वटा सेवा केन्द्रमार्फत बीमा सेवा प्रवाह भइरहेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सले आगामी आर्थिक वर्ष २०८३/८४ मा व्यवसाय विस्तार गर्दै सेयरधनीलाई अपेक्षित प्रतिफल प्रदान गर्ने र कम्पनीका रणनीतिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

Share News