अपि पावरले तोक्यो बुक क्लोजको मिति, हकप्रद सेयर जारी गर्दै

काठमाडौं । अपि पावर कम्पनीले आगामी असार २२ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । उक्त निर्णय असार १२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो । यससँगै कम्पनीले चुक्ता पुँजीको एक बराबर ०.४० को अनुपातमा अर्थात ४० प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १३ करोड रुपैयाँ छ । ४० प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको चुक्ता पुँजी ५ अर्ब ७८ करोड रुपैयाँ पुग्ने छ । यससँगै असार २१ गते भित्रमा कम्पनीको सेयर किन्ने वा सो अवधिसम्म होल्ड गर्ने सेयरधनीले कम्पनीले जारी गर्ने हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

दुई लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा दुई वटा लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । असार १२ गते एकैदिन माहुली लघुवित्त वित्तीय संस्था र समता घरेलु लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो । दुई संस्थाको कूल ९ लाख १६ हजार २६५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । जसमध्ये माहुली लघुवित्तको १४.२५ प्रतिशत अर्थात ४ लाख २ हजार ९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । त्यस्तै, समता घरेलु लघुवित्त वित्तीय संस्थाको १५ प्रतिशत अर्थात ५ लाख १४ हजार ११६ कित्ता बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै अब दुबै कम्पनीको सेयर सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुने छ । र, दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

लघुवित्तमा उछाल आउँदा ५६ अंकले बढ्यो नेप्से परिसूचक, ३८ कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौं । मंगलबारको सेयर बजारमा लघुवित्त वित्तीय संस्थाको सेयरमा उछाल आएको छ । बजारमा अधिकांश लघुवित्तको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएसँगै त्यसको प्रभाव सेयर मूल्य मापक नेप्से परिसूचकमा पनि परेको हो । मंगलबारको नेप्से परिसूचक ५६.९४ अंकले बढेर २१८६.३६ बिन्दुमा पुगेको छ । जुन सोमबारको तुलनामा २.६७ प्रतिशतले बढी हो । बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । सोमबार ५ अर्ब ३१ करोडको कारोबार भएको बजारमा मंगलबार ५ अर्ब ४७ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार भएको छ । संस्थाको एकैदिन २५ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबार मात्रै नभई बढी सेयर मूल्य बढ्ने कम्पनीको सूचीमा पनि लघुवित्त अग्रस्थानमा रहेको छ । दिनभरको कारोबारमा ३८ कम्पनीको सेयर मूल्य ९.८० प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभेलमा कारोबार भएको छ । जसमध्ये २५ वटा कम्पनीको मात्रै सेयर मूल्य १० प्रतिशतले बढेको छ भने अन्य १३ वटा कम्पनीको सेयर मूल्य ९.८० देखि ९.९९ प्रतिशतसम्मले बढेको छ । समूहगत हेर्दा पनि लघुवित्त समूह ३५३.७० अंकले बढेको छ । उत्पादनमूलक, निर्जीवन बीमा र ट्रेडिङ समूह घटेका छन् भने कारोबारमा आएका बाँकी समूह ओरालो लागेका छन् ।