धितोपत्र बोर्डको अध्यक्ष सिफारिस समिति गठन, के चाहिन्छ योग्यता ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले जानकारी दिए ।  उनका अनुसार समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र बैंकिङ विज्ञ भुवन दाहाल रहेका छन् । धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ अनुसार राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्यको संयोजकत्वमा अध्यक्ष सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ । सोही कानुनी प्रावधानअनुसार समिति गठन गरिएको हो । ऐनअनुसार समितिले कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्नेछ । त्यसपछि मन्त्रिपरिषद्ले तीमध्येबाट एक जनालाई नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गर्ने प्रावधान रहेको छ । यसअघि धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका थिए । व्यापारी दीपक भट्टसँग सम्बन्धित सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा उनको नाम मुछिएपछि उनले गत शुक्रबार अर्थमन्त्री समक्ष राजीनामा बुझाएका थिए । श्रेष्ठलाई सरकारले २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । कति चाहिन्छ योग्यता ? नयाँ गठित सिफारिस समितिले बोर्डको अध्यक्ष पदका लागि योग्य उम्मेदवार सिफारिस गर्नेछ । बोर्डको अध्यक्ष नियुक्तिसम्बन्धी कानुनी व्यवस्था स्पष्ट गरिएको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार अध्यक्ष नियुक्त गर्दा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्षको अनुभव हासिल गरेका लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट उपयुक्त व्यक्तिलाई नियुक्त गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी अध्यक्ष सिफारिसका लागि गठन हुने समितिले आफ्नो कार्यविधि आफैं निर्धारण गर्न सक्ने कानुनी व्यवस्था पनि रहेको छ । ऐनअनुसार अध्यक्षको कार्यकाल चार वर्षको हुनेछ। सो अवधिपछि निज पुनः बढीमा थप चार वर्षका लागि नियुक्त हुन सक्ने प्रावधान रहेको छ।

नेप्से १७ अंकले घट्यो, ३ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं । मंगलबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७ अंकले घटेर २८०७ बिन्दुमा झरेको हो । नेप्सेका अनुसार ४८ कम्पनीको सेयर मूल्य बढ्दा २१५ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन । मंगलबार ३४७ कम्पनीको १ करोड कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार सोलु हाइड्रोपावरको भएको छ । सोलुको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  साथै रिलाइन्स स्पिीनिङको ३० करोड, नेसनल हाइड्रोको २३ करोड, होटल फोरेस्टको २२ करोड र एसवाई प्यानलको १८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।  मंगलबारको कारोबारमा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सूर्यकुन्ड हाइड्रो र पाल्पा सिमेन्टको सेयर मूल्य १५ प्रतिशतले बढेका छन् । शिखर पावरको सेयर मूल्य १४.९९ प्रतिशतले बढेका छन् । आज १३ समूहको उपसमूहमध्ये एउटाको सूचक बढेको छ । होटल एन्ड टुरिजमको सेयर मूल्य १.१६ प्रतिशतले बढेकाे छ ।    

माउन्ट एभरेष्टले वैशाख १७ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले वैशाख १७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी ८६ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् २५ करोड ८० लाख रुपैयाँको अंकित मूल्य १ सय दरका २५ लाख ८० हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । जसमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् ८ करोड ८६ लाख रुपैयाँको ८ लाख ८६ हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई छुट्याएको छ । स्थानीयलाई छुट्याएको सेयरमध्ये ३ लाख ४४ हजार कित्ता अति प्रभावित क्षेत्र सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नं. १ र २ का स्थानीय र ५ लाख १६ हजार कित्ता प्रभावित क्षेत्र सोलुदुधकुण्ड नगरपालिकाका १ र २ बाहेक अन्य वडाका स्थानीयलाई बिक्री खुला गरिनेछ ।  साथै सर्वसाधारणलाई छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १ लाख ७२ हजार कित्ता सेयरमा श्रम स्वीकृती लिई विदेशमा रोजगार गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण बिक्री नभएमा जेठ १८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले छिटोमा वैशाख २३ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले बिक्री प्रबन्धकका साथै आयोजनाको कार्यालय, माछापुच्छ्रे बैंक, नेपाल बैंक, प्रभु बैंक र एनएमबि बैंकका सल्लेरी शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।