सेयर बजारमा हरियाली : नेप्से २७ अंकले बढ्यो, कारोबार ११ अर्ब नाघ्यो
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार बढेर बन्द भएको छ । दुई दिनदेखि घटिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज भने २७.१९ अंकले बढ्दै २७०८.७० विन्दुमा पुगेको हो । नेप्सेसँगै कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । बुधबार ७ अर्ब ४९ करोड रुपैयाँको कारोबार भएको बजारमा बिहीबार ३२६ स्टकको १ लाख ८ हजार ८१७ पटकको कारोबारमा ११ अर्ब ५८ करोड २८ लाख ९३ हजार रुपैयाँबराबरको ३ करोड ५५ लाख ७४ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कालिञ्चोक दर्शन, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्य सर्किट लेभलमा पुगेको हो । त्यस्तै, रिडी पावर कम्पनी र खानीखोला हाइड्रोपावरको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोको सेयर मूल्य साढे ९ प्रतिशतभन्दा बढीले उक्लिएको छ । यता, सुपर मादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । कारोबार रकमका आधारमा यूनियन हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५८ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी, राधी विद्युत कम्पनीको साढे ५७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम साढे ५३ करोड रुपैयाँ नाघेको छ । १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । अन्य र निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.९८ प्रतिशतले बढेको छ । जलविद्युत, लगानी र जीवन बीमा उपसमूहको परिसूचक पनि १ प्रतिशतभन्दा बढीले बढेको छ ।
होटेल फरेष्ट इनको आईपीओ बिक्री खुला, २ लाख कित्ता आवेदन दिन मिल्ने
काठमाडौं । होटेल फरेष्ट इन लिमिटेडले आज माघ २२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४० लाख कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख सेयर विदेशमा रोजगार गरिरहेका नेपाली, २ लाख कित्ता सामूहिक लगानी कोष र ८० हजार कित्ता कर्मचारीलाई बिक्री गरिसकेको छ । अब दोस्रो चरणमा बाँकी रहेको ३३ लाख ३० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम २ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा माघ २६ गते र ढिलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
कामना सेवा विकास बैंकको ३५ करोडको अग्राधिकार सेयर बाँडफाँड सम्पन्न
काठमाडौं । कामना सेवा विकास बैंकले ९ प्रतिशत अग्राधिकार सेयर बाँडफाँड सम्पन्न गरेको छ । बैंकले निष्काशन गरेको 'केएसबीएलएल ९ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर' को बाँडफाँड बुधबार सम्पन्न गरेको हो । ३५ करोड रुपैयाँ बराबरको यस अविमोच्य असञ्चिति अग्राधिकार सेयरका लागि उत्साहजनक रूपमा १.९ गुणाभन्दा बढी आवेदन प्राप्त भएको थियो, जसले नेपाली पूँजी बजार तथा वित्तीय क्षेत्रमा लगानीकर्ताहरूको उच्च विश्वास र आकर्षणलाई प्रतिबिम्बित गर्दछ । परिपत्र विधिमार्फत संस्थागत लगानीकर्ताहरू (बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषबाहेक) का लागि माघ १२ गतेदेखि १५ गतेसम्म निष्काशन तथा बिक्री खुला गरिएको थियो । उक्त अवधिभर विभिन्न संघ–संस्थाहरूको उत्साहजनक सहभागिता रहेको बैंकले जनाएको छ । अविमोच्य अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर (असञ्चिति) रहेको यो अविमोच्य असञ्चिति अग्राधिकार सेयर विकास बैंकहरूमा पहिलो पटक जारी गरिएको हो । यस अग्राधिकार सेयर निष्काशनको कार्य सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एन्ड क्लियरिङ लिमिटेडलगायत सम्पूर्ण नियमनकारी निकायहरू, आवेदनकर्ता, प्रेस तथा सञ्चारकर्मी, निष्काशन बैंकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्ने सबै सरोकारवालाप्रति बैंक परिवार तथा निष्काशन तथा बिक्री प्रबन्धकले हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।