बाढीले बन्द भएको सुपर माई क्यास्केड आयोजनाबाट पुनः बिजुली उत्पादन सुरु
काठमाडौं । ३.८ मेगावाट सुपर माई क्यास्केड जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको छ । बाढीले क्षतिग्रस्त भएको माई खोला हाइड्रोपावरद्वारा प्रवर्द्धित सुपर माई क्यास्केड जलविद्युत आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु भएको व्यवस्थापक शान्ता अधिकारीले जानकारी दिइन् । उनका अनुसार वि.सं २०८२ असोज १८ गते आएको बाढीका कारण आयोजनामा व्यापक क्षति पुगेपछि उत्पादन पूर्ण रूपमा बन्द भएको थियो । बाढीले पावरहाउस र अन्य संरचनामा असर पुर्याउँदा आयोजनाले लामो समयसम्म उत्पादन गर्न सकेको थिएन । क्षतिपछि पुनः निर्माण कार्य सम्पन्न गर्नुका साथै पावरहाउस तथा स्विचयार्डमा जडित विद्युतीय उपकरणहरूको परीक्षण र मर्मत कार्य पनि पूरा गरिएको अधिकारीले बताइन् । सबै प्राविधिक प्रक्रिया सम्पन्न भएपछि चैत ३० गतेदेखि आयोजनाबाट पुनः विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ ।
सिटी होटलको पौने ३ करोड कित्ता सेयरको लकइन सकिँदै
काठमाडौं । सिटी होटल लिमिटेडको पौने ३ करोड कित्ता सेयरको लकइन अवधि समाप्त हुने भएको छ । कम्पनीका संस्थापक र कर्मचारी सेयरधनीहरुको नामममा रहेको २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरको लकइन अवधि जेठ ५ गते समाप्त हुने भएको हो । कम्पनीका अनुसार नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार दर्ता भएको कुल सेयरमध्ये २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता संस्थापक र १ लाख २० हजार ५२८ कित्ता कर्मचारीको स्वामित्वमा रहेको छ । लक–इन अवधि समाप्त भएसँगै उक्त सेयरहरू कारोबारका लागि खुला हुनेछन्, जसले बजारमा आपूर्ति बढ्न सक्ने लगानीकर्ताहरु बताउँछन् । यद्यपि कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ । कम्पनीको शेयर रजिस्ट्रार ग्लोबल आइएमई क्यापिटल रहेको छ ।
सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री खुला, ११ हजार कित्ता आवेदन दिन सकिने
काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले आज वैशाख ३ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ करोड ९० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ४२ लाख ४९ हजार कित्ता सेयर जारी गरेको हो । जसमध्ये १० प्रतिशत अर्थात् ४ लाख २९ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली, ४ प्रतिशत अर्थात् १ लाख ७१ हजार ६ सय कित्ता कर्मचारी, ५ प्रतिशत अर्थात् २ लाख १४ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले ३४ लाख ७४ हजार ९ सय कित्ता सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ११ हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले छिटोमा वैशाख ८ गते र ढिलोमा वैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरूले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।