सिटिजन लाइफको आइपिओ बाँडफाँट, कसले कति पाए सेयर ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँट गरेको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले सोमबार आईपीओ बाँडफाँट गरेको हो । कम्पनीको आईपीओमा न्युनतम १० देखि ४० कित्तासम्म आवेदन गर्ने सात हजार ८८५ जना आवेदकले माग अनुसार नै सेयर पाएका छन् । त्यस्तै ५० देखि दुई हजार कित्तासम्म माग गर्ने १९ हजार ७४३ जनालाई पनि पहिलो चरणमा ४० कित्ताका दरले सेयर वितरण गरिएको छ । त्यस पश्चात बाँकी रहेको शेयर ५० कित्ता भन्दा बढी आवेदन गरेकाहरु मध्येबाट १८ हजार २९ जनालाई थप १० कित्ताका दरले शेयर वितरण गरिएको कम्पनीले बताएको छ । कम्पनीले असार ३१ गतेदेखि साउन १४ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँका दरले ११ लाख २५ हजार कित्ता शेयर श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओमा २७ हजार ६३२ जनाले आवेदन गरेका थिए । त्यसमध्ये ४ जनाको आवेदन रद्ध भएको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले बताएको छ । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको एक करोड १२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
आइपिओ ल्याउने तयारीमा सागर डिष्टिलरी, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । सागर डिष्टिलरीले साधारण सेयर (आईपीओ) जारी गर्ने प्रयोजनका लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । मंगलबार आयोजित कार्यक्रममा सागर डिष्टिलरीका तर्फबाट अध्यक्ष संदिप जलान र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सागर डिष्टिलरी जारी पूँजीको १५ प्रतिशतले हुने सात करोड ५० लाख रूपैयाँ बराबरको सात लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्रीको तयारी थालेको छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले आईपीओ निकाल्ने अध्यक्ष सन्दिप जलानले बताए । सागर डिष्टिलरी लिमिटेड २०६९ सालमा स्थापना भएको थियो । उक्त कम्पनीको फ्याक्ट्री नवलपुरमा रहेको छ । खासगरी सागर डिष्टिलरीले रोयल ब्लु, ग्रे उल्फ, बेरिज् एण्ड ब्लु ब्राण्डका मदिरा बजारमा विक्री गरिरहेको छ ।
सामान्य अङ्कले घट्यो सेयर बजार
काठमाडौं । यो साता कारोबारको पहिलो दिन हिजो आइतबार उच्च अङ्कले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोस्रो दिन पनि घटेको छ । आज नेप्से परिसूचक तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज दुई सय ६७ कम्पनीको ६६ लाख ४७ हजार एक सय ४३ कित्ता सेयर एक लाख एक हजार दुई सय ३६ पटक खरिदबिक्री हुँदा दुई अर्ब ३३ करोड ३५ लाख ७३ हजार दुई सय ९७ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आज बैंकिङ, जलविद्युत्, लगानी र अन्य समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह १२ दशमलव १९, जलविद्युत् सात दशमलव ३४, लगानी शून्य दशमलव ०३ र अन्य समूह पाँच दशमलव ५७ अङ्कले घटेको हो । उपसूचक बढ्नेमा आज सबैभन्दा धेरै होटल तथा पर्यटन समूहको उपसूचक ७६ दशमलव ४६ र जीवन बीमा समूहको उपसूचक ६० दशमलव १४ अङ्कले बढेको छ । विकास बैंक ५३ दशमलव ५६, वित्त २८ दशमलव ८७, उत्पादन तथा प्रशोधन चार दशमलव १५, लघुवित्त ११ दशमलव ०१ र म्युचुअल फन्ड समूह शून्य दशमलव ०१ अङ्कले बढेको छ । त्यस्तै, निर्जीवन बीमा समूह सात दशमलव ७३ र व्यापार २७ दशमलव १५ अङ्कले बढेको नेप्सेले जनाएको छ । नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर मूल्य आज सबैभन्दा धेरै नौ दशमलव ९९ प्रतिशतले बढेको छ । धेरै घट्नेमा भने छ्याङ्दी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य छ दशमलव ४५ प्रतिशतले घटेको छ । कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीको ४३ करोड ६२ लाख ५९ हजार तीन सय ४८ रुपैयाँ बराबरको सात लाख एक हजार आठ सय तीन कित्ता सेयर किनबेच भएको छ ।