अपर तामाकोशीको सेयर मूल्य समायोजन, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अपर तामाकोशी हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । हाइड्रोको १०० प्रतिशत हकप्रद सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन भएसँगै हाइड्रोको सेयर मूल्य प्रतिकित्ता २४३.०५ रुपैयाँ कायम भएको छ । बिहीबार हाइड्रोको अन्तिम कारोबार प्रतिकित्ता ३८६.१० रुपैयाँमा भएको हो । हाइड्रोले हकप्रद जारी तथा साधारणसभा प्रयोजनार्थ बुक क्लोज गर्ने निर्णय गरेसँगै नेप्सेमा सेयर मूल्य समायोजन भएको हो । यससँगै अबको बजारमा हाइड्रोको सेयर कारोबार समायोजित मूल्यका आधारमा हुनेछ ।
एकैदिन पौने २७ करोडले बढ्यो सेयर कारोबार, सबैभन्दा बढी सोल्टी होटलको
काठमाडौं । बिहीबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै बढेको छ । बजारमा परिसूचक ५.१३ अंकले बढेर २०६६.०५ बिन्दुमा पुगेको छ । जुन बुधबारको तुलनामा ०.२४ प्रतिशतले बढी हो । त्यस्तै, कारोबार रकम पनि २६ करोड ८२ लाख रुपैयाँले बढेको छ । बुधबार एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा बिहीबार भने बढेर २ अर्ब १५ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । दिनभरको कारोबारमा २६९ वटा स्क्रिप्सहरु कारोबारमा आएका थिए । जसमध्ये सोल्टी होटलको सबैभन्दा बढी सेयर कारोबार भएको छ । बिहीबार होटलको १६ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सबैभन्दा बढी कारोबार गर्नेको दोश्रो स्थानमा अपर तामाकोशी हाइड्रोपावर रहेको छ । जसको एकैदिन ११ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बजारमा अधिकांश कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये अभियान लघुवित्त वित्तीय संस्थाको सेयर भने सर्किट लेभलमा कारोबार भएको छ । जसको सेयर मूल्य ९.०९ प्रतिशतले प्रतिकित्ता ७८० रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा प्रतिकित्ता ६५ रुपैयाँले बढी हो । यता टप लुजरको शीर्ष स्थानमा पनि लघुवित्त संस्था छ । हिमालयन लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.५३ प्रतिशतले घटेर प्रतिकित्ता ६१६ रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ४३ रुपैयाँले घटेको छ ।
नेप्सेमा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत, आइतबारदेखि किनबेच गर्न पाइने
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको आईपीओ सूचीकृत भएको छ । बिहीबार मात्रै घोराही सिमेन्ट इन्डष्ट्री, थ्री स्टार हाइड्रोपावर र अप्पर स्याङ्गी हाइड्रोपावरको आईपीओ सूचीकृत भएको हो । यससँगै यी तीन वटै कम्पनीको सेयर दोश्रो बजारमा किनबेच गर्न मिल्ने छ । बिहीबार सूचीकृत भएको कम्पनीको सेयर आगामी आइतबार अर्थात साउन २८ गतेदेखि कारोबारमा आउने छ । जसमध्ये घोराही सिमेन्ट इन्डष्ट्रीको ३ करोड ९७ लाख १९ हजार ६ कित्ता साधारण सेयर सूचीकृत भएको छ । नेप्सेले कम्पनीको पहिलो सेयर कारोबारको लागि ओपनि न्यूनतम २२६.६१ रुपैयाँ र अधिकतम ६७९.८३ रुपैयाँ ओपनिङ्ग रेञ्ज दिएको छ । उक्त रेञ्जको आधारमा कम्पनीको सेयर आइतबारदेखि कारोबारमा आउने छ । कम्पनीको नेप्से सिम्बोल भने जीसीआईएल रहेको छ । त्यस्तै, नेप्से सिम्बोल टीएसएचएल रहेको थ्री स्टार हाइड्रोपावरको ४९ लाख २५ हजार कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि न्यूनतम ८५.६५ र अधिकतम २५६.९५ रुपैयाँ ओपनिङ्ग रेञ्ज तोकिएको छ । यससँगै आइतबार कम्पनीको पहिलो कारोबार उक्त रेञ्जभित्र रहेर हुने छ । त्यसैगरी, अपर स्याङ्गी हाइड्रोपावरको २२ लाख कित्ता आईपीओ दोश्रो बजारमा सूचीकृत भएको छ । जसको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ८४.५४ र अधिकतम २५३.६२ रुपैयाँ तोकिदिएको छ । यससँगै कम्पनीले नेप्से सिम्बोल यूएसएचएलको नामबाट आइतबारदेखि सेयर किनबेच गर्ने छ । यी तीन वटै कम्पनीले हालै सर्वसाधारणमा आईपीओ जारी गरेका हुन् । जुन सूचीकृत भएपछि दोश्रो बजारबाट किनबेच गर्न पाइने छ ।