एक कम्पनीले घोषणा गर्याे १४.७० प्रतिशत लाभांश
काठमाडौं । बैंकिङ्ग फाईनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्यूट अफ नेपाल लिमिटेड (बिफिन)ले पाँचौं वार्षिक साधारणसभा डाकेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले मंसिर २२ गते बिफिनको कार्यालय नयाँ बानेश्वर काठमाडौंमा अपरान्ह ३ बजे साधारणसभा बोलाएको हो । कम्पनीको सभाले हाल कायम चुक्ता पूँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७० प्रतिशतले हुन आउने ७२ लाख ७६ हजार ५ सय रुपैयाँ नगद लाभांश (कर प्रयोजनसमेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षको प्रतिवेदन पारित गर्नेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमीक निर्धारण गर्नेछ । त्यस्तै, कम्पनीको सञ्चालक समितिमा संस्थापक समूह बाट ५ जना सञ्चालकहरुको मनोनयन तथा निर्वाचन गर्नेछ ।
१० प्रतिशत ब्याजदर भएको कुमारी बैंकको ऋणपत्र बाँडफाँट
काठमाडौं । कुमारी बैंकको ऋणपत्र बाँडफाँट गरिएको छ । बैंकको ५ अर्ब रुपैयाँको ऋणपत्र कात्तिक १९ गते आइतबार बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले जानकारी दिएको छ । बैंकले कात्तिक २ गतेदेखि कात्तिक १३ गतेसम्म १० वर्ष अवधिको ‘१० प्रतिशत केबिएल डिबेन्चर २०९०’ ऋणपत्र बिक्री गरेको थियो । बैंकले प्रतिकित्ता १ हजार अंकित मूल्य दरका ५ अर्ब रुपैयाँको ५० लाख कित्ता ऋणपत्र बिक्री गरेको थियो । जसमध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता व्यक्तिगत र बाँकी ४० प्रतिशत अर्थात् २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग तथा सिडिएस एण्ड क्लियरिङ्गले सञ्चालन गरेको आईपीओ रिजल्टमार्फत् नतिजा हेर्न सकिने छ ।
हिमालयन रिको आईपीओ निष्काशन मिति सारियो, अब ४ मंसिरदेखि बिक्री गर्ने
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले मंसिर ४ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । यसअघि कम्पनीले कात्तिक २१ गतेदेखि आईपीओ निष्काशन गर्ने तयारी गरेको थियो । तर, निष्काशन अवधिमा तिहारको लामो सार्वजनिक बिदा परेका कारण लगानीकर्ताहरुको सहजीकरण लागि आवेदन दिने समय सारेको कम्पनीले बताएको छ । कम्पनीले हाल कायम जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँको ३ करोड कित्ता सेयर बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई ३० लाख कित्ता, कर्मचारीलाई ६ लाख कित्ता र सामूहिक लगानी कोषलाई १५ लाख कित्ता सेयर बिक्री गर्नेछ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा सेयर बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । आवेदन निष्काशन मिति परिवर्तन भएपछि वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अब मंसिर १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओमा सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त रुपमा सुरक्षित रहेको संकेत गर्दछ ।