हालै आईपीओ जारी गरेको माण्डु हाईड्रोको लाभांश घोषणा

काठमाडौं । हालै सर्वसाधारणलाई आईपीओ जारी गरेको माण्डु हाईड्रोपावर लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको कात्तिक १६ गते बसेको बैठकले गत वर्षको नाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले १३ करोड ६३ लाख ६३ हजार ७ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुले प्राप्त गर्ने छन् । लाभांश पारित गर्न कम्पनीले मंसिर १५ गते ठमेल काठमाडौंमा १२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ ।

सर्वाेत्तम सिमेन्टले मंसिर ६ गतेदेखि बुक विल्डिङ्गमा आईपीओ बिक्री गर्ने

काठमाडौं । सर्वाेत्तम सिमेन्ट लिमिटेडले मंसिर ६ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुको लागि बोलकबोल मार्फत बिक्री खुला गर्ने भएको हो । कम्पनीको जारी पूँजी ४ अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता सेयर बुक विल्डिङ्ग विधि मार्फत निष्काशन गर्ने भएको हो । जसमध्ये ४० प्रतिशत अर्थात् २४ लाख कित्ता सेयरको लागि शुरुमा बिक्री मूल्य सीमा ५०१ रुपैयाँदेखि ७५१.५० रुपैयाँसम्म रहेकोमा सोलाई परिमार्जन गरी बिक्री मूल्य सीमा ४०१ रुपैयाँदेखि ६०१.५० रुपैयाँ कायम गरिएको कम्पनीले जनाएको छ । नेपाल स्टक एक्सचेञ्जले सञ्चालन गर्ने बोलकबोल प्रक्रियामा योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागि गराई परिमार्जित बिक्री मूल्यको सीमा भित्र रहि बोलकबोल मार्फत सेयर बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा मंसिर १० गतेभित्र शीलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल, एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् ।

नेप्सेमा दोहोरो अंकको गिरावट, एक अर्ब नजिकको कारोबार

काठमाडौं । बिहीबार पनि सेयर बजारमा दोहोराे अंकको गिरावट भएकाे छ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १०.८६ अंकले घटेर १८४७.७० बिन्दुमा बन्द भएको हाे । बिहीबार ९६ करोड ४४ लाख रूपैयाँको कारोबार भएको छ ।  बिहीबार कारोबार भएकामध्ये १९० कम्पनीको सेयर मूल्य घट्दा ४० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, ६ कम्पनीको सेयर मूल्य स्थीर छ । बिहीबार चन्द्रागिरी हिल्स लिमिटेडको सेयर मूल्य सर्वाधिक ६.०४ प्रतिशतले बढेको छ। यस्तै, बिहीबार जलविद्युत कम्पनीहरुले धेरै गुमाएका छन् । सयपत्री हाइड्रो लिमिटेडले सर्वाधिक गुमाएको छ । सयपत्री हाइड्रोको सेयर मूल्यमा १० प्रतिशत गिरावट आएको हाे । यस्तै, रावा इनर्जीको ७.४, बुद्धभूमि नेपालको ५.९ प्रतिशत , सामलिङ पावरको ४.८ प्रतिशत र सुपर माइ हाइड्रोको सेयर मूल्य ४.७ प्रतिशत घटेकाे हाे ।