विजय लघुवित्तबाट एकैपटक १० जना संस्थापक बाहिरिँदै
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाका १० जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् । संस्थाका १० जना सेयरधनीहरुले कूल कित्ता ९३ हजार २७२ कित्ता सेयर बेच्न लागेका हुन् । लघुवित्तका संस्थापक किरण विष्टको नाममा रहेको ८ हजार ७०४ कित्ता, माधब प्रसाद अधिकारीको १० हजार २८८ कित्ता, नरेश ढकालको १० हजार ८३२ कित्ता, बद्री कुमार घिमिरेको १२ हजार कित्ता र तारा पति खरेलको ९ सय कित्ता सेयर बिक्रीमा राखेको हो । यस्तै, हैदर अली मोमिनको ६ हजार कित्ता, लक्ष्मी प्रसाद अर्यालको ३ हजार ६४४ कित्ता, दुर्गा प्रसाद उप्रेतीको १८ हजार ३७५ कित्ता, शिव प्रसाद पाण्डेको ८ हजार २८८ कित्ता र डम्मर बहादुर कुवरको १४ हजार २४१ कित्ता सेयर बिक्रीमा राखेको हो । संस्थाको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ । संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय धुलिखेल काभ्रेमा सम्पर्क गर्नु पर्नेछ ।
प्रभु क्यापिटलले प्रतिकित्ता ११० रुपैयाँमा संस्थापक सेयर बेच्दै
काठमाडौं । प्रभु क्यापिटलले संस्थापक सेयर बिक्री गर्ने भएको छ । क्यापिटलले संस्थापक समूहतर्फको साढे १८ हजार कित्ता सेयर बिक्री गर्ने भएको हो । क्यापिटलका अनुसार आज कात्तिक २३ गतेदेखि संस्थापक समूहतर्फको १८ हजार ७५८ कित्ता सेयर लिलाम प्रक्रियाबाट बिक्रीमा राखिएको हो । कम्पनीको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता ११० रुपैयाँ तोकिएको छ । इन्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले मंसिर २७ गतेभित्र बोलपत्र पेस गर्नुपर्नेछ । कम्पनीको सो सेयर बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताले न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सक्नेछन्।
एनएलजी इन्स्योरेन्सले पायो ए माइनस रेटिङ
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो । वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए माइनस रेटिङ प्रदान गरेको हो । जसले वित्तीय दायित्वको समयमै पुरा गर्ने सन्दर्भमा पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ । यस्ता कम्पनीहरुले कम जोखिम बहन गर्दछन् ।