नेप्सेमा आज पनि दोहोरो अंकको वृद्धि, कारोबार १ अर्ब नजिक
काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार २१ अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ११.२२ अंकले बढेर १८५८.७६ बिन्दुमा पुगेर बन्द भएको छ । आज बजारसँगै कारोबार संख्या र रकम पनि बढेको छ । आज ४३ लाख ३१ हजार कित्ता सेयर ९९ करोड ६५ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन बैंकको प्रमोटर सेयर ९ करोड १६ लाख रुपैयाँमा किनबेच भएको छ । आज निर्जीवन बीमा समूहको बाहेक सबै समूहको सेयर सामान्य बढेको छ । सबैभन्दा धेरै लक्ष्मी लघुवित्तको सेयर ८.१६ प्रतिशत तथा सोनापुर मिनरल्स एन्ड आयल कम्पनी र सिटिजन लाइफ इन्सुरेन्सको सेयर ५.२८ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन आज स्वावलम्बन लघुवित्तको सेयर ८.२६ प्रतिशतले घटेको छ ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले घोषणा गर्याे लाभांश, नगद मात्रै दिने
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक २० गते बसेको बैठकले ४.२१०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.२१०५ प्रतिशतका दरले ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल कायम चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंक र अर्थमन्त्रालयबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
उन्नति सहकार्य लघुवित्तको एफपीओ बिक्री खुला, १ हजार कित्तासम्म खरिद गर्न मिल्ने
काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आज कात्तिक २१ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पूँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ निष्काशन गरेको हो । साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात् उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो । सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो । लघुवित्तले १ करोड ७८ लाख ४५ हजार ११८ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका १ लाख ७८ हजार ४५१.१८ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तको एफपीओमा लगानीकर्ताहरुले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त अवधिमा पूर्ण आवेदन नपरेमा मंसिर ५ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ ।