सोल्टी होटलको बम्पर लाभांश, नगद मात्रै २६.५८ प्रतिशत बाँड्ने, बोनस कति ?

काठमाडौं । सोल्टी होटलले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र २६.५८ प्रतिशत नगद गरी कूल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको हाल चुक्ता पुँजी ८८ करोड ४७ लाख १५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले ४९औँ वार्षिक साधारणसभा पुस २६ गते बिहान साढे १० बजे नेपाल प्रज्ञा भवन कमलादी काठमाडौंमा डाकेको छ । साथै, लाभांश तथा साधारणसभा प्रयोजनार्थ पुस ५ गतेदेखि पुस २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा पुस ४ गतेसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्रै साधारणसभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।

नेपाल एसबिआई बैंकको लाभांश घोषणा, बोनसभन्दा नगद दोब्बर

काठमाडौं । नेपाल एसबिआई बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंक सञ्चालक समितिको मंसिर १ गते बसेको बैठकले १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद गरी कूल १०.५५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हाल चुक्ता पुँजी १० अर्ब १२ करोड ६ लाख २८ हजार रुपैयाँ रहेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एनआईसी एशिया ग्रोथ फण्ड २ बिक्री खुला, १ करोड इकाई आवेदन दिन मिल्ने

काठमाडौं । एनआईसी एशिया क्यापिटलले आज मंसिर ४ गतेदेखि म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईसी एशिया ग्रोथ फण्ड–२ बिक्री खुला गरेको हो । ७ वर्ष अवधि रहेको उक्त फण्ड बन्दमुखी योजना हो । क्यापिटलले अंकित मूल्य प्रतिइकाई १० रुपैयाँका दरमा १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरण लगानीकर्ताहरुलाई बिक्री गरिएको हो । क्यापिटलको उक्त फण्डमा न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिने छ । फण्डको इकाईमा छिटोमा मंसिर ७ गते र ढिलोमा मंसिर १८ गतेसम्म आवेदन दिन मिल्ने क्यापिटलले जनाएको छ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ । फण्डमा लगानीकर्ताहरुले सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।