एक अर्बको ‘एनआईबिएल स्टेवल फण्ड’ को बिक्री हुँदै, वार्षिक १६.१८% प्रतिफल पाइने
काठमाडौं । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालन हुने छैठौं योजना ‘एनआईबिएल स्टेवल फण्ड’ को भोलि अर्थात माघ २ गतेदेखि सार्वजनिक निष्काशन हुने भएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक कोष प्रवर्द्धक तथा एनआइएमबि एस क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत सञ्चालित उक्त फण्डको मंगलबारदेखि बिक्री शुरु हुने भएको हो । उक्त फण्डकोआकार १ अर्ब र समयावधि १२ वर्षको रहेको छ । जुन हालसम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधिभर यस योजनाले वार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत गरिएको छ । योजनाको सार्वजनिक निष्काशन माघ २ गतेदेखि छिटोमा माघ ५ गते र ढिलोमा माघ १६ गतेसम्म रहनेछ । र, इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम एक हजार रुपैयाँदेखि अधिकतम १० करोड रुपैयाँसम्म लगानी गर्न सक्नेछन् । लगानीकर्ताहरुले आफ्नो सी-आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन दिन सक्नेछन् । ‘एनआईबिएल म्युचुअल फण्ड’ अन्तर्गत यस अघि नै चार बन्दमुखी योजना तथा एक खुलामुखी योजना समेत सञ्चालनमा रहेको र ‘एनआईबिएल समृद्धि फण्ड-१’ आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको छ । र, हाल अन्य तीन बन्दमुखी योजना, एनआईबिएल प्रगति फण्ड , एनआईबिएल समृद्धि फण्ड-२ तथा एनआईबिएल ग्रोथ फण्ड समेत सञ्चालनमा रहेको छ । साथै, नेपालकै पहिलो खुलामुखी योजना ‘एनआईबिएल सहभागीता फण्ड’ पनि यसै म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेको छ । त्यस्तै, ‘एनआईबिएल स्टेवल फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भई योजनाको समयवधिसम्म इकाईहरु दोश्रो बजारमा खरिद तथा बिक्री गर्न सकिने छ ।
अधिकांश लघुवित्तले डाकेनन् साधारण सभा, दर्जन बढी कम्पनीले देखाए समस्या
काठमाडौं । चालु आर्थिक वर्षमा अघिकांश सूचीकृत कम्पनीहरुले समयमा वार्षिक साधारण सभा गर्न सकेनन् । लेखापरीक्षण तथा वित्तीय विवरण स्वीकृतिमा ढिलाई, मर्जर लगायत विभिन्न कारणले गर्दा कम्पनीहरुले आर्थिक वर्ष २०७९/८० को साधारण सभा पुस मसान्तसम्म गर्न असफल भएका हुन् । समयमा सभा गर्न नसकेका कम्पनीहरुमध्ये १८ वटा कम्पनीहरुले नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मार्फत सभा गर्न नसक्नुको कारण पनि खुलाएका छन् । जसमध्ये अधिकांशले लेखापरीक्षणको काममा ढिलाई भएकोले सभा बोलाउन ढिला भएको जानकारी गराएका छन् । नेप्सेमा जानकारी गराएका कम्पनीहरुमध्ये अधिकांश लघुवित्त संस्थाहरु रहेका छन् भने त्यसपछि हाइड्रोपावर कम्पनीहरु रहेका छन् । सभा गर्न नसक्नुको कारण खुलाउँदै उनीहरुले सभाको समयावधि बढाउनसमेत माग गरेका छन् । कम्पनीहरुले कम्तीमा पनि तीन महिनाको समय थप्न कम्पनी रजिष्टार कार्यालयलाई आग्रह गरेका छन् । पुस मसान्तसम्म सभा गर्न नसकेको स्वाभिमान लघुवित्त वित्तीय संस्थाले पनि आर्थिक वर्ष २०७९/८० को वार्षिक साधारण सभाको म्याद थपेको छ । संस्थाले उक्त वर्षको वित्तीय विवरण लेखापरीक्षण गर्ने कार्य सम्पन्न भई नेपाल राष्ट्र बैंक समक्ष पुर्व स्वीकृति तथा सहमतिको लागि प्रकृयामा रहेको भन्दै सभाको म्याद आगामी अर्थात २०८० चैत मसान्तसम्म सम्पन्न गर्ने जानकारी गराएको छ । आइएमई लाइफ इन्स्योरेन्सले पनि चालु आवको वार्षिक साधारण सभा पुस मसान्तभित्रमा गर्न नसकेको जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० को वार्षिक वित्तीय विवरणको लेखापरीक्षण गर्ने कार्य बाह्य लेखापरिक्षकबाट सम्पन्न भई अन्तिम स्वीकृतिका लागि नियमनकारी निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने काम भइरहेकोले तोकिएको समयमा सभा गर्न नसकेको जानकारी गराएको छ । साथै, उक्त विवरण प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीले सक्दो छिटो गर्ने समेत बताएको छ । पुस मसान्तसम्म सभा गर्न नसकेको एक्सेल डेभलपमेन्ट बैंकले पनि आगामी चैतसम्ममा गर्ने बताएको छ । गत आर्थिक वर्षको वित्तीय विवरणहरु राष्ट्र बैंकमा स्वीकृत प्रकृयामा रहेको भन्दै बैंकले सो जानकारी गराएको हो । सिन्धु विकास बैंकले पनि गत आवको वार्षिक वित्तीय विवरणको बाह्य लेखापरिक्षण गर्ने काम बाँकी भएकाले आगामी चैतसम्ममा सभा गर्ने निर्णय गरेको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था र स्वरोजगार लघुवित्त वित्तीय संस्थाले पनि वार्षिक साधारण सभाको लागि तीन महिना अर्थात चैत मसान्तसम्म समय थप्न कम्पनी रजिष्ट्रार कार्यालयसँग आग्रह गरेको छ । त्यस्तै, आशा लघुवित्त वित्तीय संस्था, एनएमबि लघुवित्त वित्तीय संस्था, महुली लघुवित्त वित्तीय संस्था, नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था र महिला लघुवित्त वित्तीय संस्थाले पनि गत आवको साधारण सभा चैतसम्म सम्पन्न गर्ने जानकारी गराएका छन् । वित्तीय विवरणहरु स्वीकृतिको प्रक्रियामा रहेको भन्दै यी संस्थाहरुले साधारण सभाको समय थप्न आग्रह गरेका हुन् । यता धौलागिरी लघुवित्त वित्तीय संस्था र मल्टीपर्पस फाइनान्सले भने वार्षिक प्रतिवेदनसहितको विवरण पेश गर्न ढिलोमा चैत मसान्तसम्मको समयाअवधि थप आग्रह गरेको छ । मनकामना स्मार्ट लघुवित्तले पनि चैतसम्मको म्याद थप्न आग्रह गरेको छ । समता घरेलु लघुवित्त वित्तीय संस्थासँग गाभिने प्रकृयामा रहेका कारण सभा बोलाउन ढिलो भएको भन्दै संस्थाले तीन महिनासम्मको समयावधि थप्न आग्रह गरेको हो । पुससम्म सभा गर्न नसकेको पिपुल्स हाइड्रोपावर कम्पनीले पनि म्याद थप्न आग्रह गरेको छ । तर कहिलेसम्म समय सीमा थप्ने भन्ने विषयमा भने कम्पनीले स्पष्ट खुलाएको छैन । अपर हेवाखोला हाइड्रोपावर कम्पनीलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा आएको बाढीले अपर हेवाखोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । त्यस्तै, शुभम पावरलाई पनि वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असार २ गते आएको बाढीले कम्पनीले सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको टुङ्गो लागि नसकेकोले दुबै कम्पनीले म्याद थप गरिदिन माग गरेका छन् । कम्पनीहरुले आगामी ३ महिना थप गर्नको लागि स्वीकृति दिन कम्पनी रजिष्ट्रार कार्यालयसँग अनुरोध गरेका हुन् । त्यसैगरी, बलेफी हाइड्रोपावरले पनि पुस मसान्तसम्ममा साधारण सभा गर्न सकेन । कम्पनीले निर्माण गरी सञ्चालनमा ल्याएको माथिल्लो बेलेफी ए जलविद्युत आयोजना (३६ मे. वा) को निर्माण सम्पन्न गर्न ढिलाई भएकोले समयमै सभा गर्न नसकेको जानकारी गराएको छ । साथै, अघिल्लो दुई आर्थिक वर्ष (२०७७/७८ र २०७८/७९) को साधारण सभा २०८० साल असोज महिनामा मात्रै सम्पन्न भएको र त्यसपछि छोटो समयमा आर्थिक वर्ष २०७९/८० को लेखापरिक्षण गर्न ढिलाई भएको जानकारी गराउँदै बलेफी हाइड्रोले उक्त सभा २०८० साल माघ महिना १० गतेलाई तोकेको जानकारी गराएको छ ।
घोराही सिमेन्ट्सको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश दिने
काठमाडौं । घोराही सिमेन्ट्स इन्डस्ट्रीले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आव २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आव २०८०/८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् । आव २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४।२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ । त्यस्तै कम्पनिको सञ्चालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको सञ्चालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । योसँगै कम्पनीको संस्थापक समुहमा ५ जना सञ्चालक भएका छन् ।